पातालको उत्सव – कविता
पाइलाहरू कति आतुर होलान्
फर्किजान आफ्नै घरदेश
तर छल्किएर मेटाइदिन्छन् सधैं हेउन्दे किनाराका छालहरूले ।
जब हेउन्देको उर्लदा बैँसहरू
समुन्द्रसँगै परपर पुग्छन्
मनोहर चञ्चलता र गति
फर्किन्छ छाल बनेर
पुन: मेटाइदिन्छन् इच्छाका पदचापहरूलाई ।
प्रवासमा प्रगाढ सम्बन्धहरू नजानिँदा उत्सव मनाइरहन्छन्
जिन्दगीले गीत गाइरहन्छ
कहीँ त बिरहको गीत पनि
सोजु, मेग्जु र नोरेबाङका रङ्गीन रातहरूमा
बिर्सेर आफूलाई खोज्छु आफूभित्रै
र जिन्दगी एउटा उत्सव जस्तो लाग्छ ।
प्रिय प्रवास !
कति सुन्दर छौ हगि ?
उसैउसै सेताम्मे हिउँफूल फुलाउँछौ
जति नै चिसो भए पनि मनको ताप
आशाहरूलाई कठ्याङ्ग्रिन कहिल्यै दिएनौ
बरु,
पलाउँदै गरेका खुसीका मुनाहरू पो निमोठिन्छन्
साकुरा झर्दै गरेको बसन्तको अन्तिम साँझ
दिलपार्कको वरिपरि ।
हुइँकिन्छन् उस्तै गरी बैमानी बतासका वेगहरू
वर्ण फेरिएका सुनौला पातहरू छरपस्टिन्छन् भुईंभरि
यी शरदसँग गहिरो प्रेममा फसेका पाइलाहरू नै
कुल्चिन विवश हुन्छन्
ती सुनौला पातहरूको छातीमा ।
एकतमास टुलुटुलु हेरिरहन्छन्
लजाएका नाङ्गा रूखहरू
र पाउला जस्तो लाग्छ
गन्तव्य पुग्न नसके पनि
जिन्दगी आफूमाझ हराएर कतै
उत्सव मनाइरहेकै छ आफैसँग ।
कवि इतर अभियानमा आवद्ध छिन्।