कोरियामा मोटरसाइकल चलाउने नेपाली कामदारले जान्नैपर्ने कुराहरु
२०१३ मा कृषिमा काम गर्न कोरिया आएका एक जना नेपाली कामदारले आएको एक महिनामा नै लुकी चोरी मालिकको मोटरसाईकल हाक्न थाले । फूल उत्पादन गर्ने फर्मका मालिकले सांझ घर फर्कदा मोटरसाईकल फर्ममा नै छाडेर जान्थे । नेपाली भने लुकी चोरी मोटरसाईकल कुदाई हाल्थे । एक सांझ मालिक घर गए पछि, ८ बजेतिर बजारमा यसो एक राउण्ड लगाएर आउं भनेर मोटरसाईकल हाकेका ती युवक, फर्केर कहिल्यै कम्पनी आएनन् । उनीले मोटरसाईकल दुर्घटनामा घटनास्थलमा नै ज्यान गुमाउन पुगे । मैले तिनको शव हेर्दा, अनुहार सम्म चिन्न नसकिने अवस्थामा थियो । अचम्म के भने, ती युवकको सवारी हाक्ने लाईसेन्स नै थिएन ।
हाम्रो देश नेपालमा मोटरसाईकल निकै चलन चल्तीमा रहेको छ । छोरा वा छोरी एसएलसी पास भयो कि, चहियो पल्सर वा स्कुटी । आमा बुवालाई डिमाण्ड पुर्याउन हैरान् । तर कुरो मोटरसाईकल उपलब्ध गराउने मात्रै होईन, सुरक्षाको पनि छ । भर्खरै प्रकाशित एक तथ्यांक अनुसार नेपालमा एक बर्षमा करीब ३०० जनाको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ । नेपालको यो रोग हामी नेपालीहरुले कोरियामा पनि लिएर आएका छौं । कोरियाको बाटो नेपालकोभन्दा चौडा, कोरियाको मोटरसाईकल नेपालको भन्दा ज्याङ्गो । अनि यसो कम्पनीको कामबाट फुर्सद मिल्यो कि, कुदायो छोराले मोटरसाईकल, लगेर ठोक्यो डयाम्म बिजुलीको पोलमा ठोकायो अनि सररररर ।
मेरो अनुभवले भन्न सक्छु कि, मोटरसाईकल यातायातको सबै भन्दा असुरक्षित साधन हो । यसो चिप्लियो कि गयो । सानो गल्तीले पनि ज्यान जानसक्छ । कोरियामा पनि थुप्रै नेपालीहरु मोटरसाईकल दुर्घटनामा परेर घाईते भएका छन् भने कतिको मृत्यु भई सकेको छ । पछिल्लो तीन बर्षमा मात्र चार जना नेपालीहरुले मोटरसाईकल दुर्घटनामा ज्यान गुमाई सकेका छन् भने करीब ८ जना गम्भिर रुपमा घाईते भएका छन् । घाईतेहरु पनि लामो समय सम्म उपचार गराउनु परेको तथा पछि काम गर्न पनि नसक्ने अवस्थामा पुगेको देखिन्छ । फेरी जतिपनि दुर्घटनामा ज्यान गुमाएकाहरु छन् तिनीहरुको लाईसेन्स नै थिएन ।
कोरियालीहरु तुल्नात्मक रुपमा धेरै कम मोटरसाईकल प्रयोग गर्छन् । यहां प्राय पसलेहरुले सामान ढुवानीमा यसलाई प्रयोग गरेको देखिन्छ । यहांको मौसम मोटरसाईकल प्रतिकूल छ भने यहांका द«त मार्गहरुमा मोटरसाईकल चलाउन निषेध छ । यातायातका अन्य साधनहरु सहजै उपलब्ध छ । फेरी दुर्घटना भयो भने गल्ती गर्नेले ठूलो क्षतिपूर्ति तिर्नु पर्ने हुन्छ । नेपालमा बायांबाट चलाईने सवारीहरु यहां दायांबाट संचालन गरीन्छ भने कोरियामा सडक तथा ट्राफिक व्यवस्थापन आधुनिक तथा ईलोक्ट्रोनिक भएको हुनाले हामी नेपालीहरुका लागि यहांको सिष्टम सहज छैन् । सानो गल्तीले पनि ज्यान जान सक्छ ।
अब यक्ष प्रश्न उठ्छ, कोरियामा मोटरसाईकल चलाउने कि नचलाउने ? प्रश्नको सहज उत्तर छ नचलाउने । नेपालमा जस्तो यहां सार्वजनिक यातायातको साधनको समस्या छैन । बस, ट्रेन ट्याक्सीको पर्याप्त सुविधा भएकोले मोटरसाईकल चलाउन आवश्यक छैन । हामी कोरियामा मोटरसाईकल चलाउन आएका पनि होईनौ । अन्य साधनको प्रयोग गर्ने तर मोटरसाईकल नचलाउने तथा मोटरसाईकल कसैले चलाएछ भने पछाडि पनि बस्दै नबस्ने । तर चलाउनु नै पर्छ, नचलाई गुजारा छैन भने के गर्ने ?
१.आफूले नेपालबाट लिएको सवारी चालक अनुमतिपत्रलाई राजदूतावासबाट प्रमाणित गराई कोरियाली यातायात सम्बन्धी कार्यालयबाट कोरियाली अनुमतिपत्र लिने ।
२.कोरियामा रहेका डाईभिङ ईन्सीच्युटबाट पर्याप्त तालिम लिने ।
३.सवारी सम्बन्धी सम्पूर्ण बीमा गर्ने । आफू पूर्ण रुपमा जानकार तथा अभ्यस्त भएपछि मात्र कानूनको परिधिभित्र रहेर मोटरसाईकल चलाउने ।
लेखक सोलस्थित नेपाली दूताबासका श्रम सहचारी हुन् |