तमू धीं दक्षिण कोरियाले आउँदो अगष्ट ३ र ४ तारिक “रजत जयन्ती” मनाउने
कोरियास्थित जातीय संस्था तमू धींले आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा रजत जयन्ती मनाउने भएको छ । आउँदो अगष्ट ३ र ४ तारिकमा मनाउने गरी संस्थाले कार्यदल गठन गर्दै रजत जयन्तीको निमित्त आवश्यक तयारीमा जुटेको हो ।
सो रजत जयन्तीलाई सु-सम्पन्न गर्न मूल आयोजक, रजत जयन्ती कार्यदल र विभिन्न उपसमिति गठन भइसकेको र सम्पूर्ण तयारी तीव्र रुपमा अघि बढिरहेको संस्थाकी केन्द्रीय अध्यक्ष रुपा गुरुङले जानकारी दिईन् । सन् १९९९ मा स्थापित वर्तमानसम्मको सम्पूर्ण संस्थागत गतिविधि, तमू जातिको संक्षिप्त परिचय, परम्परा, भेषभूषा तथा जीवनशैली, धार्मिक तथा पर्यटकीय स्थलको जानकारी, प्रवासी भूमिमा रहँदाको अनुभूति/विचार, कोरियामा आर्जित ज्ञान, सीप र पूँजीको उपयोग, लगानीको अवस्था, सम्भावना र चुनौती, साहित्यिक लेख/रचना लगायतको विषय समेट्दै स्मारिका प्रकाशन गरिने संस्थाका निवर्तमान अध्यक्ष तथा रजत जयन्ती मूल आयोजक समिति संयोजक लेसन गुरुङले जानकारी दिए ।
कोरियास्थित विभिन्न संघसंस्था, व्यवसायीहरुसँगको सम्बन्ध र समन्वयमा थप आत्मीयताको अपेक्षा सहित संस्थाले शुभकामना तथा विज्ञापन संकलन गर्ने, सहयोगीहरुको नामावली स्मारिका पुस्तकमा प्रकाशन गर्ने साथै सम्मान गरिने स्मारिका प्रकाशन उपसमितिका संयोजक भिम गुरुङ (लमजुङ) ले स्पष्ट पारे ।
गौरवमय इतिहास बोकेको तमू धीं दक्षिण कोरियाको रजत जयन्तीलाई सफलतापूर्वक सम्पन्न गर्न कोरियास्थित विभिन्न संघसंस्था, संस्था सम्बद्ध व्यक्तित्वहरु, समस्त शुभचिन्तक, सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आर्थिक, नैतिक र भौतिक सहयोगको लागी संस्थाले हार्दिक अपिल गरेको छ ।