कोरियामा मन्त्री श्रेष्ठसँग संवाद कार्यक्रम सम्पन्न, ३ महत्वपूर्ण काम गरेको उदघोष
जुन ३० आइतबारका दिन यूवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठसँग भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न भएको छ। प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाले दोङ्देमुन स्थित नेपाली थाइको सभा हलमा उक्त कार्यक्रमको आयोजना गरेको थियो।
सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आफू वचनको पक्का रहेको र आफूले कसैलाई पनि झुटो आश्वासन नदिने विस्वास दिलएका थिए। यो छोटो समयमा आफूले संकल्प गरेका ३ काम वार्षिक खेल तालिका प्रकाशन, अतिक्रमित स्काउटको जग्गा फिर्ता र खेलाडीलाई घोषणा गरिएको पुरस्कार निकाशा र एउटा काम अन्तर्राष्ट्रिय खेलमा सहभागि हुनेहरुको लागि आवाश गृहको काम बाँकी रहेको पनि बताएका थिए।
नेपालको खेलकुद क्षेत्रमा विभिन्न संघ मार्फत बेतिथि मौलाएको र खेलकुदलाई अस्तव्यस्त बनाएको प्रति इङ्कित गर्दै विगत लामो समयदेखि अल्झिरहेको समस्याहरुलाई समाधानको प्रयास गर्ने पनि बताएका थिए। नेपालमा स्पोर्ट टुरिजमको संभावना रहेको उल्लेख गर्दै विदेशी खेलाडीलाई आकर्षित गर्नेगरी जुम्लामा अल्ट्रा म्याराथन, दोलखाको सैलुङमा हाइ अल्टिट्युड तेक्वान्दो भवन, गल्फको लागि पूर्वाधार तयारी गर्ने कार्यहरु भइरएको अवगत गराएका थिए। यसैगरी प्रवास नेपाली सम्पर्क विभाग प्रमुख डम्बर सुब्बाले आफूहरुलाई पहिचान बिरोधिको आरोप लगाउनेहरुको खण्डन गर्दै सबैको आ आफ्नो पहिचान हुने र जुनसुकै पार्टीबाट पनि पहिचानको मुद्दालाई उजागर गर्न सकिने विचार व्यक्त गरेका थिए।
उपस्थितीहरुको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले कनिका छरेको जस्तो बजेट जताततै बाँड्नुभन्दा उपलब्धि मूलक दीर्घकालिन काम हुनुमा आफूले जोड दिने बताउँदै टियु कृकेट मैदानमा डिजिटल स्कोर बोर्ड चाँडै राख्ने र फ्लड लाइटको काम पनि अगाडि बढ्ने जानकारी गराएका थिए। कार्यक्रममा विभिन्न राजनितिक दलका प्रवास भातृसंगठना प्रतिनिधि, अन्य संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै राष्ट्र हितमा हुने आयोजनामा सदा साथ रहने प्रतिवद्धता गरेका थिए भने रास्वपाले बाटो नबिराओस भनि सचेत पनि गराएका थिए।
कार्यक्रममा मन्त्री श्रेष्ठको उपस्थितिमा कोरियाको व्यस्त समयलाई व्यवस्थापन गरि खेल क्षेत्रमा योगदान दिइरहेका संस्थाहरु फिटनेस नेपालका अन्जन थापा मगर, नेपाल फूटबल महासंघका अध्यक्ष कृष्ण गुरूङ (ब्रो तमु), गाेल्ड मेडालिष्ट (स्वर्ण पदक) विजेता अन्तराष्ट्रिय कराते खेलाडी जमान सिंह गुरूङ, नेपाल भलिबल संघ, नेपाली खेलाडी संघ लगायतलाई प्रशंशा पत्रद्वारा सम्मान गरिएको थियो।
प्रवास नेपाली सम्पर्क विभाग कोरियाका प्रमुख डम्बर सुब्बाको अध्यक्षता र माननिय मन्त्री विराज भक्त श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख एवम प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा उप प्रमुख कविराज लिम्बूले स्वागत मन्तब्य राखेका थिए भने सचिव हरी प्रसाद भण्डारीले कार्यक्रम संचालन गरेका थिए।