किम्हे फुटसल कप ह्वासङ एनएफसीले जित्यो
प्रथम किम्हे युनाईटेड पुरुष फुटसल कप–२०२४ को उपाधि ह्वासङ एनएफसीले जितेको छ । फाइनलमा फारान युनाइटेडसँग निर्धारित समयमा १–१ गोलको बराबरी खेलेपछि ह्वासङ एनएफसीले पेनाल्टी सुटआउटमा ३–२ गोलले जितेको हो ।
किम्हे युनाईटेड फुटबल क्लबको आयोजनामा जुलाई १४ तारिख आइतबार कोरियाको ख्याङ्सङ्नाम्दो प्रान्तको किम्हे–बुसन क्षेत्रको मासन, छाङ्वन सी सहरमा फुटसल कपसँगै महिला मैत्रीपूर्ण प्रतियोगिता सम्पन्न भएको हो ।
विजेता ह्वासङ एनएफसीले कोरियन तीस लाख वन, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता फारान युनाइटेडले कोरियन बिस लाख वन, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी ह्वासङ एनएफसीको सुमन पाख्रिन घोषित भए । प्रतियोगितामा १४ गोल गर्दै सर्वाधिक गोलकर्ता नामजि एनफसीका निशन कार्की भए । त्यस्तै उत्कृष्ट गोलरक्षक ह्वासङ एनएफसीको भुवनजंङ कार्की भए । उनीहरूलाई आयोजकले नगद १ लाख वन, सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका छन् ।
‘विदेशी भूमिमा सङ्घर्षको क्रममा, रमाऊ हाम्रो फुटसलको गोलमा’ भन्ने नाराका साथ कोरियामा रहेर खेलको दौरानमा घाइते खेलाडी उद्धार सहयोगार्थ प्रतियोगिता आयोजना भएको हो । जसमा आयोजकसहित ३२ टिमले सहभागी भएका थियो । १६/१६ टिम गरी पोल ए र पोल बी गरी लिग चरण हुँदै दोस्रो चरणमा नकआउट प्रणालीमा खेल खेलाएको थियो । प्रत्येक खेलको १०/१० मिनेटको समयमा भएको थियो ।
त्यस्तै यसै प्रतियोगितामा महिला मैत्रीपूर्ण फुटसल पनि सम्पन्न भएका छन् । मैत्रीपूर्ण प्रतियोगितामा ‘बुसान’ टिमले ‘सेतो’ टिमलाई २–० गोल अन्तरले जितेका छन् । जसमा बुसान टिमका धावा डोल्मा लामाले २ गोल गरेकी हुन् । महिला मैत्रीपूर्ण प्रतियोगितामा ३ टिम सहभागी भएको थियो । विजयी टिमले सिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।