पूर्वाञ्चल सरोकार समाजको साधारण सभा सम्पन्न, संस्थाको नाम परिवर्तन
पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा सम्पन्न भएको छ। जुलाई २८ तारिख आइतवार सरोकार समाजको आफ्नै हलमा सम्पन्न साधारण सभाले संस्थाको नाम परिवर्तन गरेको छ। परिवर्तित संस्थाको नाम “पूर्वी नेपाल समाज, दक्षिण कोरिया” रहने भएको छ। सभामा महासचिव केदार निरौलाले संस्थागत प्रगति विवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष दिपा मेवाहाङले आर्थिक विवरण राखेका थिए।
सधारण सभाले केही महत्वपूर्ण निर्णयहरु पारित गर्दै विधान संसोधन गरेको छ । “पूर्वी नेपाल समाज, दक्षिण कोरियाले ” पूर्वी नेपाल अन्तर्राष्ट्रिय समाजमा आवद्ध हुने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय समाजले विश्वमा छरिएर विभिन्न देशमा स्थापना भएका पूर्वी नेपालका संस्थाहरुलाई जोड्ने काम गर्दछ ।
यसै सभामा किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खाले पूर्वाञ्चल सरोकार समाजलाई एक थान प्रोजेक्टर पनि हस्तान्तरण गरेको थियो।
उक्त सभामा आगामी छुसकमा गरिने सांगितिक कार्यक्रम र डान्स पार्टीको पोस्टर पनि सार्वजनिक गरिएको थियो। छुसकको पहिलो दिन सेप्टेम्बर १५ मा भोजपुर परिवारले डिजे अ्मु डिजे छिरिङ र रक गायिका तेन्जिङ डोल्मा गुरुङलाई डान्स पार्टीमा प्रस्तुत गर्ने छ । त्यस्तै दोश्रो दिन सेप्टेम्बर १६ मा पाँचथर सेवा समाजले नेपथ्य ब्याण्डलाई स्टेजमा उतार्ने छ। यसैगरी दोश्रो दिनकाे साँझ किरात याक्थुङ चुम्लुङले याक्थुङ रैथाने मेलोडी साँझ विथ छेवाङ लामा र डिजे छिरिङको साथमा डान्स पार्टीको आयोजना गर्ने भएको छ।
सरोकार समाजका अध्यक्ष गजेन्द्र सेर्माको अध्यक्षता र पूर्वी नेपाल अन्तराष्टृय समाज तदर्थ समितिका केन्दृय सदस्य गंगाराज राईको प्रमुख आतिथ्यमा सम्पन्न सभामा संरक्षक अमृत राई एम टि यू अध्यक्ष उदय राई सल्लाहकार ध्यान बहादुर राई, समसेर पंधाक, आदिवासी जनजाति महासंघका अध्यक्ष विसन राई लगायत विभिन्न संघ संस्थाहरुका अध्यक्ष एवम प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।