दक्षिण कोरियामा “खुल्ला कोरियाव्यापी नेपाली कविता प्रतियोगिता” हुने
डायस्पोरामा रहेर नेपाली भाषा तथा साहित्यको प्रवर्धन गर्नुपर्छ भन्ने उद्देश्यका साथ ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरियाले खुल्ला कोरियाव्यापी नेपाली कविता प्रतियोगिता गर्ने भएको छ । कोरियाको ख्यङ्गीदो प्रान्तका ख्वाङ्जु, सङ्नाम, इछन, यजु र योङ्गिन क्षेत्रमा रहेका नेपालीहरुको साझा संस्था ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाजले कोरियन नयाँवर्ष सलनालको पूर्वसन्ध्यामा आउँदो जनवरी १९, २०२५ मा उक्त प्रतियोगिता गर्ने भएको हो ।
संस्थाका सल्लाहकार कवि आर एन अधिकारीको संयोजकत्वमा हुने उक्त प्रतियोगिताको पुरस्कार राशी प्रथम, द्वितिय र तृतिय स्थान प्राप्त गर्ने कवितालाई क्रमश: ३ लाख वन, २ लाख वन र १ लाख वन प्रदान गरिनेछ । प्रतियोगिता सम्बन्धि बाँकी जानकारी छिट्टै प्रकाशन गरिने संस्थाका महासचिव ह्यारी बोण्डले जानकारी दिनुभयो । कोरियामा रहेर नेपाली कवितामा कलम चलाउने सम्पुर्ण कविहरुलाई प्रतियोगितामा सहभागिताको लागि हार्दिक आव्हान गरिएको छ ।