यसपटक चाईनिज तथा कोरियन नयाँ बर्ष सल्नालमा लामो(एक हप्ता) विदा हुने कुराले म पहिल्यै देखि उत्साहित थिएँ। सल्नाल विदामा हुन लागेका कार्यक्रमहरुको प्रचार प्रसार पहिल्यै देखि तिब्र गतिमा भइरहेको थियो। मेरा लागि भने यस पटकको सल्नाल सौल केन्द्रित कार्यक्रमहरुको अतिरिक्त मेरा सहपाठी मित्र किरण बन्जाडे लगायत छिमेकीहरुसँग पारिवारिक पिकनिक जाने योजना भएको थियोे। अब भने प्रतिक्षारत कोरियन चाड एकाएक हाम्रो नजिक आइपुग्दै थियो। कम्पनी महाजन बाट बोनस रकम पाइने आशाले मेरा ४ सहकर्मी भाईहरु औधी उत्साहित थिए। पचास हजारका दश ओटा नोट घुसारिएको सेतो खाम हात लागेपछि विधिवत् रुपमा विदा सुरु भएको आभास भयो।
मेरी जीवन सँगिनी सबिना तामाङले मेरा मित्रहरुको गेट अप र मेरो गेटअपको तुलना गर्दै एकसरो सपिङ गर्न सुझाइन्। उसो त म अत्यन्तै सरल र साधारण मान्छे हुँ। मलाई राम्रा राम्रा चीजहरुको खास-खास महत्व लाग्दैन। उहिल्यै बाल्यकालमा फाटेको छाता सिलाएर लाउने मेरो जाँघेका निम्ति मसँग भएका २ प्रति आधुनिक जिन्सका पाइन्ट काफी लाग्छन्, एसएलसी पास हुँदा सम्म हात्तीछाप चप्पल टेक्ने मेरा पाइतालाका निम्ति २ जोर जुत्ता काफी लाग्छन्। कोरिया को माइनस वाला मौसम काट्नका निम्ति २ पिस मध्यम खाले ज्याकेट र १ पिस बकुल्लावाला ज्याकेट छँदैछ। यति भएपछि मेरो शरीरको आवरणको निम्ति फिलिलि हुन्छ भन्ने लाग्छ।
हाम्रा हितैसी मित्र तथा इतर अभियन्ता सुब्बा डम्बर कोरियामा १३औँ माघेसंक्रान्ति मनाएर यसपटक भने घरदेश फर्कँदै छन्। उनको विदाई कार्यक्रम २७ तारिख साँझमा तय गरिएको हुनाले उक्त दिन नेपाली बजार थोङदेमुन तिर हुइकिएँ। साँझ गाउकी बोजु आसिस नेम्बाङले एक्लै छु नाति भेटुङ हई, भनेर म्यासेज गरेपछि बोजुसँग भेट हुने कुराले उत्साहित हुने नै भएँ। बोजुसँगको गाउँघर, बाल्यकाल र सुखदुखका भलाकुसारीले हामी नोस्टाल्जिक भयौँ।
निर्धारित सल्लाह अनुसार नै हाम्रा मिजासिलो मित्र इतर अभियन्ता सुनिलदिप्त राईले बासको व्यवस्था गर्नुभएको थियो। सुनिलदिप्त एक कवि तथा गीतकार हुन्, उनका दर्जनौ गीतहरु रेकर्डेड् छन्। त्यसका अलावा उनी किलरवाला कमेडीयन हुन्। नहाँस्नेहरुलाई जबर्जस्त हसाँउनु, नपिउनेहरुलाई पिउने बनाउनु उहाँको बेजोड कला हो। हामी क्रमश बासस्थानमा भेला हुदै गयौँ। इतर अभियन्ता,गीतकार तथा फोनिज कोरियाका कार्यवाहक अध्यक्ष उत्तम खजुम कालो झोला भिरेर सुटुक्क आइपुगे। उनी एक प्रष्ट वक्ता हुन् , साइन्सका प्रखर बिद्यार्थी भएर पनि उनी रोजगारीका निम्ति कोरिया होमिएका छन्। लगत्तै लिम्बुवान नेता तथा गजलकार स्पन्दन दिपक खनाल आइपुगे। उनी लिम्बुवान आन्दोलनका एक नायक हुन्। साहित्यमा गहिरो ख्याल राख्ने स्पन्दन बिशेष गरी गजल लेख्छन्। स्पन्दन आफ्ना कण्ठस्थ गजलहरु सुनाउन माहिर छन्। सुब्बा साहेब लाई विदाई गर्न कि.या.चु. अध्यक्ष बिनोद साउदेन लगायत केही साथीहरू पनि उपस्थित हुनुभो। इतर अभियन्ता तथा यादको सन्दुक कृतिका सर्जक कवि दिपा मेवाहाङको उपस्थिति पछि कार्यक्रम सुरु भयो। कवि सुष्मा रानाहँमा भने आफ्नो ब्यस्तताले अनुपस्थित रहिन्।
कार्यक्रम समापन पछि हाम्रा इतर अभियन्ता सुरेश सम्बाहाम्फेले आफ्नो लगेज खोल्न सुरु गरे। उनी गजेदो बाट सौलसम्म उक्लँदा २-३ जोर सुटबुट सहित गुड्काउने झोला लिएर उक्लिन्छन्, मेरो नजरमा उनी एक सेलीब्रेटी जस्तै लाग्छन्, तथापि उनी सरल, मिलनसार र आत्मिय पनि छन्। उनले नेपालबाट हाम्रा लागि भनेर अङ्ग्रेजीमा ओल्ड दरबार लेखिएको ठूलोवाला एक बोत्तल कोसेली ल्याएका रहेछन्। कम्पनीका सहकर्मीहरुले नदेख्ने गरी ४ महिना सम्म लुकाएको बयान दिँदै सबैलाई भाग लगाउन सुरु गरे, अनेक भलाकुसारी र साहित्यिक बहशले बिहान ३ बजायो केही समय आराम गरेपछि म साथीहरु बाट बिदा भएँ र पहिल्यै निर्धारण भएको पिकनिक स्पट योङइन एभर्लेण्ड तिर हुत्तिएँ।
म पिकनिक स्पट पुग्दा साथीहरुले खानेकुराका थरी-थरी आइटम तैयार पारी मलाई कुरेर बस्नुभएको रहेछ। पिकनिकमा पुर्ब देखि पश्चिम सबै ठाउँका सबैखाले मनुवाहरु भेलिएका थियौँ। नाच्नको निम्ति च्याब्रुङ र धान नाच बाहेक केहि नजान्ने मैले सुदुरपश्चिमे देउडा भाकामा कम्मर मर्काउन भ्याएँ। विविध परिकार नाचगान सहित अत्यन्तै मनोरञ्जनका साथ पिकनिक सम्पन्न भयो।
२९ तारिख बिहान पिकनिक सकेर सौलतिर उक्लिने निधो भयो। अब भने कवि सुष्मा रानाहँमाको अध्यक्षतामा हुन लागेको “खोटाङ हलेसी साँगितिक सौगात”मा भाग लिनु थियो। अन्य मित्रहरुले उक्त कार्यक्रममा भरपुर सहयोग गरे। मैले भने समय प्रतिकुल भौतिक सहयोग गर्न नपाएकोमा माफी चाहान्छु। समय प्रतिकुल मुक्तक प्रतिष्ठानले आयोजना गरेको “बृहत् साहित्य मेलामा” सहभागी हुन नसकेकोमा मुक्तक प्रतिष्ठानप्रति क्षमा चाहान्छु।
सौल स्थित एक नेपाली रेस्टुराँमा खुङ्खार कवि खोम गुरुङ मलाई कुरेर बसेका थिए। अठार हजार वन पर्ने आठ दाना म:म निलेपछि उक्त रेस्टुराँबाट हामी सिधै कार्यक्रम हलतिर हुर्रियौँ। यस पटक सौलमा हिमपात र चिसोका कारण पोहोर परार जस्तो मानव सागर देखिन्नथ्यो। होटल रेस्टुरेन्टका सिटहरु रित्तो देखिन्थ्यो।
युवा गायक केहर सिङ लिम्बु र सबिन राईको जोडजोड पर्फमेन्सले स्टेज तातिन्दै थियो, दर्शकहरुको हुटिङ पनि दनादन बढ्दै गयो। त्यहीँ भीँडमा मित्र सुरेश सिंह सम्बाहाम्फे र सुब्बा डम्बर अँगालोभरी बोकेर कवि शकुन आँशुका कृति “नवयुगकी सुम्निमा” बितरण गरीरहेका थिए। उक्त साँगितिक कार्यक्रम सौहार्दपूर्ण तवरले सफल भयो भन्ने लाग्छ।
राती खानपिन गरेर बासस्थान पुग्दा १२ बजेको थियो। सुब्बा साहेबले आफ्नो अन्तिम बसाई भनी अङ्ग्रेजीमा ज्याक डेनिस लेखिएको एक बोत्तल ज्याकेटको गोजीमा भिरे। साथीहरुसँगको साहित्यिक बहस, छलफल, मिनेट देखि घण्टौं सम्मका कथा किस्साहरुले बिहान ३ बजायो। यै बेला कवि सुष्मा रानाहँमा पनि आइपुगिन्। यसरी कविहरुसँग भलाकुसारी गर्दागर्दै बिहान ८ बजीसकेछ।
पराजित पोमु आदाङबाको नेपाल प्रस्थान पछि कोरियामा नेपाली साहित्यको उमँग खस्केको भान हुन्छ। यतिकैमा कवि शकुन आँसु तथा गजलकार मिन्जाई वान्तावा राई पनि घरदेश फर्किएपछि हामीलाई झन शुन्य महशुस भैरहेको छ। कोरियामै रहेका कवि तथा याक्थुङ भाषा लिपिका गहिरो अध्येता सेसेफुङ सेर्माको अनुपस्थितिले थोङदेमुन शहर धमिलो देखिन्थ्यो। कवि तथा सामाजिक अभियन्ता गणेश हाङसेम, मुक्तककार खेम पुनसँग भेटघाट हुन सकेन। यसपटक कवि बाबु बलिन्द्रका गहकिला साहित्यिक तर्कहरू ग्रहण गर्न पाइएन। इतर अभियन्ता कृष्ण किराँत आफ्नो कार्य ब्यस्तताले उपस्थित भएनन्। यसपटक कथाकार दिलिप वान्तावा र कवि बिष्णु सन्यास पनि हामीसँग टाढै रहे। हामीले सबै सर्जकहरुलाई बेजोड बेजोड सम्झियौँ।
केही घण्टा आराम गरेपछि साथीहरुसँगै खाना खाएर छुट्टिने निर्णय भयो। खाना खाने क्रममा स्पन्दन दिपक खनालको लयात्मक गजल बाचनले नजिकै आसिन एक सोल्टिनी छियाछिया भइन्। सुब्बा डम्बर को रुवाई बाचनले हामीलाई मन्त्रमुग्ध बनायो। सुनिल दिप्त सरको कमेडी र हाम्रो हाँसोको लयले कोरियन रेस्टुरेन्ट कमेडीक्लव जस्तै भएको थियो।
अन्ततः हाँसो सहितको अनुहार क्रमशः मलिनो पार्दै रेस्टुरेन्ट बाट बाहिरियौँ र सामुहिक फोटो शेसन गर्न थोङदेमुन गेटतिर निस्कियौँ। सम्झनाका निमित्त ८-१० पिस ग्रुपिङ फोटो खिचेपछि, विधिवत् रुपमा सबैजना आ-आफ्नो बाटो लाग्यौं।
समय पुँजीवादले लपक्कै निलेको छ। हामी पुँजीकै निमित्त हजारौँ जँघार तरेर यहाँसम्म आएका छौँ। हाम्रा अनेक कथा ब्यथा र सपना छन्। हामीले यो भुमिमा रगत र पसिना बगाए पनि सपना चाहिँ आफ्नै देशको देख्छौँ हगि! यतिकैमा रेलगाडी आइपुग्छ र म कम्पनी तिर लाग्छु।।
लेखक इतर अभियानका अभियन्ता / कवि हुन्।