कोरियामा ‘अञ्जिला’ फिल्म भव्य प्रिमियर शो

अमिर योञ्जन । महिला राष्ट्रिय फुटबलका कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बपो सुब्बाको जीवनीमा आधारित चलचित्र कोरियाको राजधानी सौलमा भव्य प्रिमियर शो भएको छ । चलचित्र किराँत याक्थुङ चुम्लुङ, दक्षिण कोरियाले आइतबार मार्च २ मा पहिलो शो गरेको हो । चलचित्रको शीर्ष भूमिकामा अञ्जिला आफैले अभिनय गरेकी छिन् ।
कप्तान अञ्जिलाको नेपाली खेलकुदमा बनेको पहिलो बायोपिक चलचित्र हो । उनको गाउँको दुःखदेखि राष्ट्रिय फुटबलमा कप्तानसम्मको कष्टकर यात्राबाट सफल भएको कथामा रहेर चलचित्र निर्माण गरेको छ ।
मिलन चाम्स निर्देशित यस चलचित्रमा अभिनेता दयाहाङ राई उनका बुबा र अभिनेत्री सिर्जना सुब्बा आमाको रोलमा देखिएकी छिन् । अभिनेता माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, बेदना राईलगायतका कलाकारको अभिनय रहेका छन् । सुनिल थापा (रातेकाइँला) कोचको भूमिकामा छन् ।
प्रेमकुमार श्रेष्ठको निर्माणमा रहेको चलचित्रलाई सुदीप बरालले खिचेका हुन् । कथालाई प्रदीप भारद्वाज, यम थापा र गिरिराज घिमिरेले मिलेर लेखेका हुन् । राजनराज सिवाकोटी, हरि लम्साल र थानेश्वर गौतमको सङ्गीत, कविराज गहतराजको नृत्य छ । ‘अञ्जिला’ फागुन २९ बिहीबारदेखि प्रदर्शनको तयारीमा छ ।
अञ्जिला गत साता नेपालमा आयोजित चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल सकेर ग्रीस पुगेकी छिन् । हाल उनी गोलरक्षकको रूपमा ग्रीसमा व्यवसायीक फुटबल खेलिरहेकी छिन् ।
चलचित्र सबैले हेर्नु पर्ने दर्शकको प्रतिक्रिया दिएका छन् । कथावस्तुले भावुक, मन छुने र आफैलाई महसुस गरेको दर्शकहरूले प्रतिक्रिया दिएका छन् । आयोजक चुम्लुङले कोरियाको विभिन्न सहरहरूमा शो गर्ने बताएको छ ।


