ब्लकबस्टर चलचित्र ‘अञ्जिला’ कोरियामा पनि आक्रमक रुपमा प्रदर्शन हुँदै

नेपालमा ब्लक बस्टर भएको चलचित्र “अञ्जिला” कोरियामा पनि आक्रमक रुपले प्रदर्शन हुने भएको छ। कोरियाका लागि आधिकारिक वितरक किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले हालसम्म १४ शहरमा प्रदर्शन हुने निश्चित भएको जानकारी गराएको छ। ति मध्ये ७ शहरको मिति तय भएको र अन्य शो को लागि हल बूकिङ हुन बाँकि रहेको अवगत गराएको छ। नेपाल फूटबल महासंघ कोरियाले पनि प्रदर्शनको समन्वय गरिरहेको छ।
पहिलो शो अन्तर्गत मार्च २३ तारिख ह्वासङ (फारान) मा प्रदर्शन हुँदैछ भने थेजन शो र मोक्पो शो मार्च ३० मा हुनेछ। यसैगरी फुयु शो अप्रील ५, ओन्याङ ओन्छन शो अप्रील ६, मुगुक शो अप्रील ६ , जेजु अप्रील १२ तारिख प्रदर्शन हुँदैछ भने किम्हे, गजेदो, इक्सान, किम्पो , सुवन, नोन्सान, थेगु शोको भने मिति तय भैसकेको छैन।
नेपाली महिला राष्ट्रीय टोलीकी कप्तान अञ्जिला तुम्बापोको जीवन कथामा आधारित ‘अञ्जिलाको’ चुम्लुङले मार्च २ तारिखका दिन सौल दोङ्देमुनमा च्यारिटि सो गरेको थियो। मार्च १३ देखि प्रदर्शनमा आएको चलचित्रमा अञ्जिला तुम्बापो, दयाहाङ राई, माओत्से गुरुङ, वुद्दि तामाङ आदिको अभिनय हेर्न सकिने छ।
कोरियाभरि प्रदर्शन गरिने शो “अञ्जिला तुम्बापोको ” भवन निर्माणार्थ प्रदर्शन गरिने भएको हुँदा सम्पूर्ण खेलप्रेमी एवम चलचित्र प्रेमीहरुलाई चलचित्र हेरिदिनको हार्दिक अनुरोध गरेको छ। अन्य शहरहरुमा प्रदर्शन गर्न इच्छुकले वितरक सँग सम्पर्क गर्न सकिनेछ।
भवन निर्माण पश्चात उक्त भवनलाई फूटबल एकेडेमी बनाउने अञ्जिला तुम्बापोले बताएकी छन्। अञ्जिला हाल युरोपको ग्रीसको ए डिभिजन “निस” क्लवबाट व्यवसायिक फूटबल खेल्दैछिन्।