युक्रेनी सरकार बिरोधी प्रदर्शनमा ५ को मृत्यु
काठमाडौं-युक्रेनको राजधानी किभमा संसद बाहिर भएको सरकार विरोधी प्रदर्शनका क्रममा ५ जनाको मृत्यु भएको छ ।
संसदमा रुससंग सीमा जोडिएको मुलुकको पूर्वी क्षेत्रलाई बढी स्वायत्तता दिने विषयमा बहस भइरहदा बाहिर प्रदर्शन भएको थियो ।
सो क्रममा प्रदर्शनकारीले संसद भवन भित्र पस्ने प्रयास गर्दै सुरक्षाकर्मीमाथि ग्रिनेड प्रहार गरेको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
युक्रेन सरकार रुस समर्थित विद्रोहीको पकड रहेको क्षेत्रलाई बढी स्वायत्तता दिने गरी विधेयक पारित गर्ने तयारीमा रहेको छ । सो विधेयकको विरोधमा रहेको र्याडिकल पार्टी र राष्ट्रवादी भोबोदा पार्टीको नेतृत्वमा प्रदर्शन भएको हो ।
प्रदर्शनकाबीच संसदमा ४ सय ५० मध्ये २ सय ६५ सांसदले विधेयकमा सैद्धान्तिक समर्थन जनाएको बीबीसीले जनाएको छ ।
युक्रेनमा रुस समर्थित विद्रोहीसंग जारी संघर्षमा अहिलेसम्म ७ हजारले ज्यान गुमाई सकेका छन् । -एजेन्सी