कोरियालीको सिपले मासिक डेढ लाख कमाई
पोखरा – भारतीय सेनाको जागिर छाडी कमाउनकै लागि कोरिया छिरे । सुरुका केही वर्ष पैसाकै लागि मरिमेटे । उनलाई लाग्यो, अब यतै सीप सिकेर नेपाल फर्केपछि केही काम गर्नुपर्छ । दक्षिण कोरियाको ठूलो बंगुर फार्ममा उनले काम गरे । फर्केर खेती किसानी नै गर्ने सोचमा थिए उनी ।
स्याङ्जाको कोल्मा ओरस्टेका छ्यामबहादुर थापाले नेपाल फर्कने बेलामा बंगुर फारमका मालिकसँग सल्लाह मागे– हाम्रो देशमा बंगुर पाल्नेलाई राम्रो मान्दैनन, म गाउँ गएर बाख्रा पाल्छु भने । उनको कुरा सुनेर ती मालिकले मज्जासँग हाँस्दै भने– छ्याम तिमीले व्यवसाय नै गर्ने हो भने बंगुर पाल, बाख्रा हैन ।
छ्यामले कारण सोधे ।
एउटा बाख्रा एक वर्षमा बढीमा दुई पटक ब्याउँछ, बढीमा एक बेतमा दुईवटा पाठापाठी पाउँछ । एउटा बोको वा खसी एक वर्षमा धेरै भए ३० किलो हुन्छ । लगानी अनुसार प्रतिफल लिन गाह्रो पर्छ । एउटा बंगुर एक वर्षमा तीन पटक ब्याउँछ । एक बेतमा कम्तिमा आठवटा बच्चा पाउँछ । एउटा बच्चा छ महिनामा ८० देखि एक सय किलो हुन्छ, ल तिमी नै भन नाफा के गर्दा हुन्छ ?
बंगुर फारमका मालिकसँगको सल्लाह अनुसार छ्यामले नेपाल फर्किएर लेखनाथको रिठेपानीमा जग्गा किने । दुईवटा बगुंरबाट ब्यवसाय थाले । विदेशमा पाँच वर्षसम्म सिकेको सीप उनले भरपुर प्रयोग गरे । एक पछि अर्को सफलता मिल्दै गयो, अहिले उनको फारममा साना ठूला गरी एक हजार आठ सय बंगुर छन् । उनको महत्वकांक्षले पखेटा हालेको छ । फारमको क्षमता दुई हजारको छ, अबको तीन महिनामा छ्यामले फारम पूर्ण क्षमतामा संचालनमा ल्याउनेछन् । भन्छन्, त्यसपछि बल्ल नियमित रुपमा राम्रो कमाइ हुने छ ।
लेखनाथ–२ रिठ्ठेपानीमा १३ रोपनी जग्गा किनेर २०६३ सालबाट पोखरा लाइभस्टक प्रालि संचालनमा ल्याएका छन् उनले । फार्म वरिपरी ५० रोपनीभन्दा बढी जग्गा भाडामा लिएर तरकारी खेती पनि गर्दै आएका छन् । दुईवटा माउबाट काम थालेको, अहिले एक सय ८० भन्दा बढी माउ छन्, दुई सयभन्दा बढी माउ पु¥याउने लक्ष्य हो, त्यति गर्न सकियो भने माग पुरा गर्न सकिन्छ ।
फारममा छिर्दा अस्पताल जस्तो लाग्छ । एकतिर प्रसुति कक्ष छ, जहाँ गर्भवती माउले बच्चा जन्माउँछन् । छाउराका लागि अलग्गै कक्ष, गर्भवती भएलगत्तै राख्ने अर्को कक्ष, भाले र वयस्कलाई राख्ने अर्को कक्ष । उमेर र अवस्था अनुसार बंगुरलाई आहर चाहिन्छ र त्यही अनुसारको आराम र तापक्रम पनि । गर्भवती माउलाई खुल्ला स्थानमा छाडिदियो भने असर पर्ने भएकाले चल्न नमिल्ने साँघुरो स्थानमा राख्नुपर्छ र खाना पनि अरु बेला भन्दा पौष्टिक दिनुपर्छ ।
अहिले ठूला/ठूला आठवटा खोर छन् । भूकम्पपछि बजारमा मासुको माग घटेको छ । दैनिक तीन÷चार वटा बंगुर, थप चारवटा खोर बनाएर दुई हजार भन्दा बढी बंगुर पाल्ने योजना छ । त्यसका लागि खोर बनाउने काम सुरु भइसकेको छ । अहिले दिनमा दुई÷तीनवटा भन्दा बढी बंगुर बजार पठाउन सकिंदैन, दिनमा १० वटा भन्दा बढी बंगुर बजार पठाउन सकेमा आम्दानी राम्रो हुने उनले जानकारी दिए ।
अहिले सबै खर्च कटाएर मासिक सरदर डेढ लाख रुपैयाँ आम्दानी हुन्छ । बंगुर फार्ममा उनीहरुले तीन करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन् । छ्यामले भने, ठूलो लगानी हामीले गरिसकेका छौं, अब बंगुरको संख्या थपे पनि लगानी त्यति धेरै थप्नु पर्दैन । कोरियाको प्रविधिको प्रयोग गर्दै उनले आधुनिक खोरमा योर्कसायर, लेनरेस, ड्युरोक र ह्यामसायर गरी चार जातका बंगुर पालेका छन् ।
बंगुरको स्वास्यमा पनि उनी निकै सचेत छन् । जन्मेलगत्तै आइरन, ४० दिनमा जुकाको औषधि, दुई महिनापछि स्वाइनफ्लुको औषधि, त्यपछि खोरेतको सुरइ र टेपवर्मको औषधि दिए पछि बंगुर पूर्ण रुपमा रोगमुक्त हुन्छ । बजारमा बंगुरको मासु स्वस्थकर हुन्न भन्ने हल्ला बढी चलेको हुन्छ, हामी यसमा सचेत भएकाले हाम्रो उत्पादनमा कुनै शंका गर्नु पर्ने ठाउँ छैन, उनले भने । स्थानीय बजारमा मात्र बंगुर र बंगुरको मासु बेच्दै आएका उनले पोखराकै पर्यटकीय क्षेत्रमा भने मासु पुर्याउन सकेका छैनन । विदेश निर्यात त कुरै छाडौं ।
एउटा बंगुर सात महिनामा सरदर एक सय किलोको पुगेपछि मासुका लागि उपयुक्त हुन्छ । धेरै उमेर र तौलको बंगुर मासुको लागि उत्तम नहुने र पाल्न पनि बढी खर्चिलो हुन्छ । बजारमा खसी, कुखुराको जस्तो निश्चित भाउदर बंगुरको मासुको नभएको उनले बताए । घरायसी रुपमा फ्याकिएको खाना खुवाएर पालिएका बंगुर र यसरी अत्याधुनिक तरिकाले पालिएका बंगुरबीच तुलना हुनै सक्दैन, छ्यामले भने । काटेको मासु प्रतिकिलो तीन सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ ।
मासु बिक्रीको लागि उनीहरुले बुद्धचोकमा अत्याधुनिक वधशाला संचालन गरेका छन् । सुरुमा परम्परागत रुपमै काटिए पनि टुक्रा पार्नका लागि स्लाइस मेसिनको प्रयोग गरिन्छ । आवश्यकता अनुसारका टुक्रा पार्न, हड्डी र मासु छुट्याउनका लागि कोरियाबाटै झिकाइएको मेसिन प्रयोग गरिएको छ ।