बाल मृत्युदर ५३ प्रतिशत घट्यो
काठमाडौं- २५ बर्षमा बाल मृत्युदर ५३ प्रतिशतले घटेको एक प्रतिबेदनले देखाएको छ । विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र्संघको बालबालिकासम्बन्धी एजेन्सी युनिसेफको संयुक्त प्रतिवेदनले सन् १९९० यता विश्वभर बाल मृत्युदर उल्लेख्य घटेको देखाएको हो ।
प्रतिबेदन अनुसार २५ वर्ष अघि विश्वमा ५ वर्ष मुनीका १ करोड २७ लाख बालबालिकाको मृत्यु भएकोमा यो बर्ष सो संख्या ६० लाखमा झरेको छ । यद्यपी दातृ निकायहरुले मृत्युदर घटाउन अझै पनि ठूलो चुनौती रहेको चेतावनी दिएका छन् ।
सो प्रतिवेदनका अनुसार अझै पनि ५ बर्ष मुनिका १६ हजार बालबालिकाको प्रत्येक दिन मृत्यु भइरहेको छ । तीमध्ये झण्डै आधा बालबालिकामा कुपोषणको समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ । असमान जीवनशैली तथा पुहँचका कारण विकसित, विकासशील र अविकसित मुलुकमा बालमृत्युदर फरक रहेको जनाइएको छ |