कोरियाको मोडलिङमा उदाउदै गंगा
छाङवनः पछिल्लो समय विदेशी भूमिमा छायांकन गरिएको म्युजिक भिडियोले नेपाली सांगीतिक बजारमा निकै चर्चा पाउन थालेको छ । विशेषगरी दक्षिण कोरियामा यतिखेर नेपाली म्युजिक भिडियोको छायांकन गर्ने लहर नै चलेको छ । नेपालका चर्चित गायकगायिकादेखि कोरियामा कार्यरत नवप्रतिभाहरुको गीतसंगीतलाई कोरियाको विभिन्न रमणीय स्थलहरुमा छायांकन गर्ने क्रम बढेसँगै मोडेलहरुको संख्या पनि बढ्न थालेको छ । कोरियामा आफ्नो कामको व्यस्ततासँगै नेपाली गीतसंगीत र मोडलिङमा लाग्ने थुप्रै युवा प्रतिभामध्ये एक हुन् गंगा खतिवडा ।
कोरियाबाट संचालित युनिभर्सल अनलाइन टेलिभिजनका प्रस्तोता एवं गायक तथा संगीतकार रमेश संग्रौलाको ‘मलाई माया गर्ने मुटु दुख्दा कति रोयौ होला’ बोलको गीतबाट मोडलिङमा प्रवेश गरेकी गंगा खतिवडाद्धारा अभिनित उक्त म्युजिक भिडियो सार्वजनिक भए लगत्तै उनलाई यतिखेर थुपै्र म्युजिक भिडियोमा अभिनय गर्ने अफर आइरहेका छन् । ‘तर समय अभावका कारण भनेजति काम गर्न सकिराखेको छैन’, भर्खरै तीनवटा म्युजिक भिडियोको छायांकन सकेकी गंगाले भनिन् ।
‘सानैदेखि कलाकार बन्ने चाहना थियो । स्कुल छुट्टिको दिन गाउँभरीका साथीसंगी भेला गरेर हिरोइनहरुको नक्कल गरेर देखाउथें’, ताप्लेजुङमा जन्मेकी गंगा आफ्नो बाल्यकाल स्मरण गर्दै भन्छिन् । चलचित्र हेरेर अभिनयमा मोह जागेको बताउने गंगा कुशल नृत्यंगना पनि हुन् । नेपालमा हुँदा ब्युटिपार्लर सिकेकी गंगाले कोरियामा काम गर्ने क्रममा एक कोरियन हेयर सपको विज्ञापनका लागि फोटोसेसन गर्ने मौका पाइन् । जसले उनलाई मोडलिङमा लाग्ने थप हौसला मिल्यो ।
अहिले सौखको रुपमा मात्र अभिनयलाई लिएकी गंगा समय र शरीरले साथ दिइन्जेल मोडलिङ क्षेत्रमा लागिरहने बताउछिन् । तर कोरियामा काम नगरी म्युजिक भिडियोको कमाइले मात्र नपुग्ने उनको भनाई छ । ‘त्यहिमाथि कोरियाको मोडलिङ फेसन जस्तै भइराखेको छ’, उनी भन्छिन । अहिले म्युजिक भिडियो बनाउनेले संख्यात्मक भन्दा पनि गुणस्तरमा बढी जोड दिए प्रभावकारी हुने बताउदै अगाडि थप्छिन्, ‘शब्द र संगीतको मर्मलाई बुझेर गुणस्तरमा ध्यान दिने हो भने कोरियाबाट धेरै राम्रो म्युजिक भिडियो उत्पादन गर्न सकिन्छ । यहाँ अति सुन्दर ठाउँहरु छन्, प्रविधि राम्रो छ ।’
वर्तमानमा रमाउन चाहने गंगाले भविष्यको कुनै योजना बनाएकी छैनन् । ‘यो गर्छु त्यो गर्छु भन्ने छैन । सबै काम बिना योजना नै भइराखेका छन्,’ गंगा भन्छिन् । जीवन एक संर्घष हो उनको बुझाईमा । त्यसैले उनी पनि अरु सरह प्रवासी भूमीमा संघर्षरत छिन् । जिन्दगीमा आइपर्ने अनेकौं चुनौति र बाधाअड्चनहरुको सामना गर्दै कोरियाबाट मोडलिङमा लागेर आफ्नो करिअरलाई अगाडि बढाइरहेकी गंगा भन्छिन्, ‘अभिनयको माध्यमबाट भएपनि नेपाली गीतसंगीतको क्षेत्रमा थोरै योगदान पु¥याउन सके आफु जन्मिनुको सार्थकता हुने थियो ।’
दिपक शर्माको शब्द, रमेश संग्रौलाको स्वर, संगीत र निर्देशनमा भर्खरै रिलिज भएको गंगा खतिवडाद्धारा अभिनित म्युजिक भिडियो ः