‘दु:ख’ कोरियाको अर्को नाम हो
राधुङ छा
सायदै संसारमा नेपालीहरु नपुगेको देशहरु औंलामा गन्न सकिएला । बाँकी देशहरुमा नेपालीहरु कतै कामदारका रुपमा छन् त कतै उतै आवासिय भिजा अर्थात् ग्रीनकार्ड होल्डर छन् । व्यापार-व्यवसाय चलाएर बसेकाछन् । गरिब देशको बिडम्वना नै हो, आफ्नो देशका जनशक्तिलाई बैदेशिक रोजगारमा लखेटेर देश धान्न रेमिट्यान्स् भित्र्याउनु । यसको अन्त्य कहिले हुने हो कुन्नि ? हिजो कोरिया पनि बिकास हुनु अघि यहाँका जनताहरु साउदीको तातो हावा खान पुगेकाथिए । अहिले हामीलाई कथा सुनाउछन्, त्यो कथा एकादेशको झैं लाग्छ । तर यथार्थ् यही थियो । जहाँ कि आज हामी काम गर्न आइपुगेका छौ । थोरै लागतमा राम्रो कमाई र सुरक्षित ठानेर । हुन पनि हो लाख घट्टी पारिश्रमिक थापिन्न हरेक महिना । तर यही देश हाम्रो लागी किन कठोर लागिरहेको छ त ? एउटा चिन्तनको विषय बनेको छ ।
दोस्रो विश्वयुद्धपश्चात् चरम गरिबीबाट पिल्सिएको दक्षिण कोरिया अहिले विश्वका धनी राष्ट्रहरुमध्ये पहिलो लाइनतिर आइपुग्छ । कोरियामा कामदारको आवश्यक्ता तीव्र छ, त्यसैले एसियाका गरिव देशहरुबाट स्वस्थ कामदार भित्रैरहेकोछ । छोटो समयावधीमैं आफ्नो देश विकास गरेर विश्वबाट नै वाहवाही पनि कमाएको देशमा काम गर्न पाउनु हामी आफुलाई गौरबका साथ भाग्यामानी नै ठान्छौ । कार्यस्थल पुगेपछी संसारकै अभागी आफुलाई एक्लो ठान्छौ । फलामको चिउरा चपाउनु परेको कर्म भन्दै आफैलाई धिक्कार्छौ पक्कै पनि !
यहाँ नेपालीहरुका कामप्रतिका सोचाई, मान्यता, कामप्रतिका सम्मान इत्यादी लुकेर आइरहेको पाइन्छ । काम भनेपछी सुकिलो-मुकिलो, पाखुरा चलाउन नपर्ने सजिलो हुनु पर्ने यस्तै सोचेर आइन्छ । यी यस्ता चिजहरु नै हुन्, हामीलाई कोरिया कठोर लाग्नु । मधिसेले कवाडी काम गर्ने , राईले हलो जोत्ने, तामाङले भारी बोक्ने, कामीले भाडाबर्तन कमाउने, दमाईले लुगा सिउने, कुमालेले माटोको भाडा बनाउने खै के के हो के के घोकेर पढेका गूड स्टुडेन्टहरुले कोरियामा काम गर्नु आउनु परेपछी गाह्रो भएको हो-एक । दुई- मदनकालिन चिन्तन अहिले पनि हाम्रो समाजमा व्यप्त छ । हिजो मदन धन कमाउन ल्हासा जाँदा उनी बिरामी पर्दा जुन हर्कत गरेका थिए उनका साथीहरुले, आज उहि छ, उस्तै छ । असहयोग छ आपसमा ।
भाषा जान्ने, उमेर ठुलो हुनेहरुको बोली बिक्छ साहुसँग । ताल परे मानसिक तनाव दिइ काममा सताउनु सताइन्छ । कस्को धेरै बल छ । कुरा यसैको चल्छ । कम्पनी छोडाउन तथानाम गाली-गलौज गरिन्छ । आफ्नै साथी काइते भएपछी कोरिया कठोर लाग्न थाल्छ । तेस्रो- घर-परिवारसँगको आर्थिक सम्बन्ध नै हुन आउछ । कतिको कठोर परिश्रम गरेर कमाएको पैसा घर-परिवारमै असुरक्षित हुन्छ । कोरिया आउने मान्छेले अर्को देश गएर यस्तै दुख गर्ने सोच सकेसम्म बनाएकै हुँदैन । यहिबाट जग्गा किनू, घर बनाउ र यहिको कमाइले घरगृहस्ती चलाउ भन्ने हुन्छ । तर त्यो नहुदा अनावश्यक फ्रस्टेसनहरु पैदा हुन्छन्, त्यसैले कोरिया कठोर लाग्न थाल्छ । अथवा ‘दु:ख’ कोरियाको अर्को नाम हो झैँ लाग्न सक्छ |
यी माथिका कुराहरुलाई सरसर्ती मनन् गरेर ल्याउदा कतै हाम्रो सामाजिक चिन्तनमै सुधार गर्नु पर्ने त होइन ? जरुर, गर्नुपर्ने छ । चाहे ती नेपालमा रहेका हाम्रा परिवार नै किन नहुन्, कोरियामा काम गर्न गएको (छोरो-छोरी, श्रीमान्, श्रीमती र साथी)सँग पैसा भन्दा बढी उनको अवस्थाबारे बुझिदिनु होला । फलानोको (छोरो-छोरी, श्रीमान्, श्रीमती र साथी)ले यस्तो, उस्तो गरिसक्यो भनेर अनावश्यक दबाब दिनुभन्दा फलानो जत्तिको आत्मविश्वासी कतिको छौ भन्नु होला ।
कोरियाको कानुनी अवस्था, कम्पनीको अवस्था र कामदारको अवस्था बुझेर यदी घर फर्किन चहन्छ भने दुनियाले घटिया नजरले हेर्छन् भन्दै हिनताबोध गराउने प्रयस नगरिदिनु होला । ज्यान भयो भने पैसा त ढिलो चाँडो कमाइएला नि ! मेरो अनुरोध- अप्ठ्यारो परिस्थितिमा रहेका साथीहरुलाई नेपालीको नाताले गौरवका साथ सहयोग गरौ । त्यो सर्कलभित्र एक-अर्काको आलोचना नगरेर हुन्छ कि साहुलाई कुरा नलगाएर हुन्छ कि बकम्फुसे कुरा नगरेर हुन्छ कि धाक-धम्की नलगाएर हुन्छ कि सोजु पिएर झगडा नगरेर हुन्छ कि कामप्रति, पुर्वाग्राही, संकोचित्, घटिया-एकलकाँटे बनी प्रतिस्प्रर्धी नभैकन हुन्छ कि जातिगतरुपमा नहेरिकन हुन्छ । ताकी, यसले थोरै भएपनी आफ्नो साथी मानसिक रोगी भैकन आत्महत्यासम्म गर्ने बाटो नरोजून् । होला, राजनितिकरुपमा फरक आस्था हुनसक्छ, जातिगतरुपमा अलग हुन सकिन्छ, तर पहिले हामी नेपाली हौं । बिदेशी भुमिमा हामीलाई नेपाली भनेर नै चिन्छन् । अरुलाई दोषी तुल्याई आफुलाई सभ्य मानी बिदेशीलाई घटिया नेपालीत्व नदेखाउ, कामना छ ।