बिरोधपत्र बुझाउन हजारौं नेपाली भारतीय दूताबास जाने
सोल-नेपालमा भारतले अघोषितरुपमा लगाईरहेको नाकाबन्दी बिरुद्ध कोरियामा रहेका हजारौं नेपालीहरु सोमबार बिरोध पत्र बुझाउन भारतीय दूताबास जाने भएका छन् |
एनआरएनको अगुवाईमा आइतबार नेपाल हाउसमा बसेको ६३ वटा संस्थाको बैठकले सोमबार सोलस्थित भारतीय दूतावासमा बिरोध पत्र बुझाउन हजारौं नेपाली सहभागी हुने निर्णय गरेको हो ।
बैठकको निर्णय अनुसार सोमबार २ बजे सोल स्टेशनको प्राङगणमा नाकाबन्दी बिरुद्ध बिरोध प्रर्दशन गरिने छ ।
त्यसैगरि भारतले नेपालको निर्बाध पारबहान अधिकार कुण्ठित हुने गरि लगाएको नाकाबन्दीबारे विश्वलाई जानकारी गराउन कोरियाली संचारकर्मीहरुसंग पत्रकार सम्मेलन आयोजना गरिने भएको छ ।
पत्रकार सम्मेलनपछि नामसान पार्क हुदै साढे ५ किलोमिटर बिरोध र्याली आयोजना हुने र ४.३० बजे हानामदोङमा रहेको भारतीय दूतावासमा बिरोध पत्र बुझाउने कार्यक्रम रहेको छ ।
बिरोध र्यालीका लागि कोरियाली सुरक्षा निकाय संग स्वीकृतिलिई सकिएको एनआरएन आईसीसी सदस्य केपी सिटौलाले बताए । हानामदोङ कुटनीतिक क्षेत्र भएकाले त्यस क्षेत्रमा कार्यक्रम गर्न सुरक्षा निकायको स्वीकृति लिन अनिबार्य छ ।
एनआरएन कोरियाले संयोजन गरिरहेको बिरोध कार्यक्रममा नेपाली सम्पर्क समिति, सपोर्ट नेपाल, कांङग्रेस, एमाले, एमाओबादीका भातृसंठनहरु, पत्रकार महासंघ, सोनसिक, परदेशीलाईफ डटकम, फोनिज कोरिया डटकम लगायत जातीय, क्षेत्रीय र समाजिक संस्थाहरुले समेत ऐक्यबद्धता जनाएका छन् ।