आईएसको उदय


तुलनात्मक रूपमा धेरै शान्त र सुरक्षित मानिएको फ्रान्स गत साता अचानक आतंककारी संगठन आईएसको सिकार भयो । यो घटनाले अहिले सारा विश्व नै तरंगित भएको छ । नाकाबन्दीको चपेटामा परेर आफ्नै बेहाल भैरहेको अवस्थामा समेत नेपालीहरूले पेरिसमा घटित पशुजन्य कार्यको विरोध गरे र आतंककारी गतिविधिलाई नेपालीहरू पनि रुचाउँदैनन् भन्ने सन्देश प्रवाह गरे । पेरिसमा भएको श्रृंखलाबद्ध आक्रमणमा करिब २ सयजनाले अनाहकमा ज्यान गुमाएका छन् । गम्भीर घाइते बन्न पुगेकाहरूको अवस्था उत्तिकै दर्दनाक छ । घटना अचानक भए पनि यो पूर्णत: योजनाबद्ध र सुनियोजित थियो । त्यही भएर आईएसले आफ्नो मिसन सफल भएको विज्ञप्ति नै जारि गर्‍यो ।

आईएस के हो ?
यतिबेला सबैको चासोको विषय भएको छ, के हो आईएस ? स्थापना सन् १९९९ मा भए पनि सन् २०१४ मा आफूलाई चिनाउन सफल आईएस (इस्लामिक स्टेट) प्रारम्भिक दिनमा इस्लामिक स्टेट इन इराक एन्ड अल शाम (सिरिया) छोटकरी नाम आईएसआईएसबाट चिनिन्थ्यो, जसलाई आईएसआई (इस्लामिक स्टेट अफ इराक) पनि भनियो । इराक र सिरियामा आफ्नो कट्टरपन्थी सामुदायिक संगठनले कब्जा गरेको भूमिलाई उनीहरूले इस्लामिक स्टेट भन्ने गरेका छन् । जुन भू–भागलाई उनीहरूले खिलाफत भन्छन् । उक्त भूमिमा कुर्द, सिरियाली विद्रोही तथा सिया समूहका मानिसहरू पनि बस्छन् । उनीहरूको खिलाफतको मुखियालाई खलिफा भनिन्छ । हाल आईएसका खलिफा अबु बुकर अल बगदादी हुन् । बगदादी नेतृत्वको यो आतंककारी संगठनले अब इस्लामिक स्टेट (आईएस) मात्र भनिने घोषणा गरिसकेको छ । आईएसको मूल उद्देश्य भनेको विश्वभरका मुसलमानहरूका निम्ति छुट्टै इस्लामिक गणराज्य निर्माण गर्नु हो । अरब र मध्यपूर्व क्षेत्रलाई पश्चिमी मुलुकको प्रभावबाट मुक्त गर्ने जिकिरका साथ हिंसात्मक युद्धमा होमिएको आईएसले यसलाई जेहाद मान्दै अब संयुक्त राष्ट्रसंघद्वारा निर्मित सीमांकनलाई नमान्ने घोषणा गरिसकेको छ । इराक र सिरियाका आफ्नो भू–भागलाई मिलाएर बनेको राज्य नै इस्लामिक स्टेटको प्रारम्भिक पहिचान भएको उनीहरूको भनाइ छ । भविष्यमा सम्पूर्ण इराक र सिरियाको अधिकांश भागलाई इस्लामिक स्टेट बनाउने योजना बनाएको आईएसले इराकको राजधानी बगदाद पछिको ठूलो सहर मसुललाई हाल आफ्नो नियन्त्रणमा राखेको छ ।

 

नोबल पुरस्कार विजेता लेखक भिएस नयपालले आईएसका बारेमा भनेका छन्– ‘यो चुनौती समकालीन समयका निम्ति प्रलय सरह हो, यसबाट जोगिनुपर्छ । नाजीहरू जस्तै यो संगठन पनि कट्टरपन्थी छ । जसरी नाजीहरूले आफूलाई सर्वश्रेष्ठ नस्ल मान्थे, त्यसरी नै इस्लामिक स्टेटले आफूलाई सर्वश्रेष्ठ नस्ल मान्छ र अन्य नस्लको समुल विनाश चाहन्छ । विश्वमा आफ्नो दबदबा कायम राख्न उ आतंकलाई नै सर्वोपरी मान्छ । यो कट्टरतावादको नयाँ उदाहरण हो ।’ इस्लामिक समुदायको बृहत्तर हितका निम्ति भनिए पनि उनीहरू आतंकवादलाई हतियार बनाएर त्यसमा समर्पित भएकाले अलकायदा र बोकोहरामभन्दा आईएस पृथक नभएको नयपालको तर्क छ । आईएस अन्य आततायी संगठनभन्दा क्रुर, बर्बर एवं खतरनाक भएको नयपालले लेखेका छन् । विश्लेषकहरूका अनुसार आईएसको विचार अत्यन्तै रुढिवादी छ । जसले छैंटौं शताब्दीमा जन्मिएका पैगम्बरको सुरुवातीको समयको व्याख्या गर्छ । आईएसले कुरानमा उल्लेख गरिएभन्दा बढी कडाइ गर्न खोजेको छ । विश्व सभ्यताको विकासक्रमलाई वा विधिको शासन, विज्ञानको आविश्कार तथा नयाँ विचारलाई उनीहरू स्थान नै दिन चाहँदैनन् ।

 

आईएसका प्रवर्तक अबु मुसाब अल जरकाबी 
आईएस आज आएर सबैको मुखमा झुन्डिएको छ । खतरनाक आतंककारी संगठनको परिचय बनाएको आईएस सन् १९९९ मा जोर्डनमा स्थापना भएको हो तर यसले आफूलाई लामो समयसम्म अलकायदाको सिस्टर कन्र्सन अर्थात समानान्तर परिचयमा राख्यो । अलकायदाको इराक च्याप्टरका रूपमा आफूलाई चिनाउँदै र संगठन बिस्तार गर्दै आइएआईएसले अहिलेको बिराट स्वरूप बनाएको हो ।

 

आजको दिनमा आईएसको संगठन ५० मुलुकमा बिस्तार भैसकेको छ । आईएसआईएसको स्थापना अबु मुसाब अल जरकाबीले गरेका हुन् । सन् १९६६ मा जोर्डनमा जन्मिएका अबु मुसाब अल जरकाबी बाल्यकालमा ह्रिसंक स्वभावका थिए । १७ वर्षको उमेरमा पिता गुमाएका जरकाबी त्यसअघि नै स्कुलबाट निष्कासित भैसकेका थिए । ड्रग्स, अल्कोहल र हिंसासँगै बीचमै अध्ययन टुंग्याएका जरकाबीले यौन दुव्र्यवहारका कारण सानो उमेरमै जेल जीवन बिताउनुपर्‍यो । सन् १९८८ मा आम माफी पाएर जेलबाट छुटे पछि उनी कट्टरपन्थी मुस्लिम अभियानमा संलग्न भए । रुस–अफगानिस्तान युद्धमा समेत संलग्न जरकाबीलाई अलकायदाले स्थान दिएपछि उनी चरम आतंककारी गतिविधिमा सरिक भए । अलकायदाको इराक च्याप्टर उनैले स्थापना गरेका थिए । सन् २००६ मा अमेरिकी सैनिकले मार्नु अघिसम्म उनी अलकायदाका माथिल्लो तहका अधिकारी भैसकेका थिए । जरकाबीलाई जीवित वा मृत फेलापार्नेलाई अढाइ करोड डलर धनराशिको पुरस्कार तोकिएको थियो । सिया मुस्लिम र उनीहरूको अस्तित्वमाथि धावा बोल्ने उद्देश्यले जरकाबीले आईएसआईएसको स्थापना गरेका थिए । यो सानो समूहले ओसामा विन लादेनबाट हतियार तथा संगठन निर्माणमा सहयोग प्राप्त गरेको थियो । जरकाबीलाई सुन्नी समुदायकै इराकी राष्ट्रप्रति सद्दाम हुसेनको नैतिक समर्थन प्राप्त थियो भन्ने आधारमै अमेरिकाले सुन्नी समुदायका सद्दाम र अलकायदाको सम्बन्ध भएको दाबी गरेको थियो तर यसमा सत्यता थिएन् । यो समूह इराक युद्धको समयमा इराकमा कार्यरत बैदेसिक संघसंस्था तथा कम्पनीहरूलाई मुलुकबाट खेद्न सक्रिय थियो ।

 

सन् २००३ मा अमेरिका र बेलायतले इराक आक्रमण गर्नु पूर्वसम्म पनि इराकमा अलकायदाको नामोनिसान थिएन् । आईएसआईएसको सानो स्वरूपलाई जरकाबीले नेतृत्व गरेका थिए । जरकाबी सन् २००१ मा आफ्नो संस्थालाई अघि बढाउने उद्देश्यका साथ अफगानिस्तानबाट इराक आएका थिए । सन् २००२ मा उनले आफ्नो संगठनमा सुन्नी समुदायका युवाहरूलाई भर्ना गरेका थिए । अमेरिकन राष्ट्रपति जर्ज बुसले इराकमा आक्रमण गर्ने घोषणा गरेपछि उनलाई संगठन बनाउन थप सजिलो भएको थियो । संगठनका तर्फबाट बगदादस्थित जोर्डन दूतावास र संयुक्त राष्ट्रसंघको कार्यालयमा आईएसआईएसले पहिलो पटक हमला गरेपछि अमेरिकी तथा बेलायती नियोगका कर्मचारी इराक छोड्न बाध्य भए । जरकाबी इराक युद्ध पूर्वदेखि नै त्यहाँ कार्यरत छन् भन्नेमा अमेरिकाको खुफिया एजेन्सी जानकार थियो । तत्कालीन विदेशमन्त्री कोलेन पावेलले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा दिएको भाषणमा धेरै पटक जरकाबीको प्रसंग उठाएकी थिइन् । जरकाबी सैन्य आक्रमणमा परेर मारिएपछि आईएसआईएसमा अर्का नेता उदाए ।

 

जरकाबी सिया समूहप्रति पूर्वाग्रही भएको भनेर अलकायदाले उनलाई त्यति रुचाउँदैनथ्यो तर अलकायदाका नेता ओसामा विन लादेनलाई अमेरिकी सेनाले मारेपछि अलकायदाको अस्तित्व नै संकटमा परेका बेला इराकको आन्तरिक राजनीति तथा सिरियाको गृहयुद्धको फाइदा उठाउँदै आईएसआईएसले आफ्नो संगठन विस्तार गर्‍यो । आईएसआईएसका नेतालाई पनि मारिसकेको अमेरिकी सरकारले आईएसआईएसको अस्तित्व पनि समाप्त भैसकेको अनुमान गरेको थियो । यद्यपि त्यो यथार्थ थिएन् । सिरियाको लडाइँ आईएसका निम्ति उपहार बन्यो ।

यसरी उदाए बगदादी
सिरिया प्रकरणमा आईएसआईएसले आफ्नो पूर्ण छवि देखाउँदै त्यो जेहादको नेतृत्व अबु बुकर अल बगदादीले गर्ने घोषणा गरे । सन् १९७१ मा इराकको समारा सहरमा जन्मिएका थिए, अल बगदादी । आफ्नो रहस्यमय छवि निर्माण गर्न सफल बगदादीका हालसम्म राम्रोसँग नचिनिने २ वटा तस्बिर मात्र सार्वजनिक भएका छन् । धार्मिक कार्यकर्ताका रूपमा आतंककारी गतिविधिमा संलग्न बगदादी सिया समुदायविरुद्ध साम्प्रदायिक हिंसा भड्काउन चाहन्थे । आईएसका कार्यकर्ता बगदादीलाई प्रिय मान्दै खलिफा इब्राहिम उपनामले पनि सम्बोधन गर्छन् । सन् २०११ सम्म उनका लिखित भाषणहरूमात्र सार्वजनिक हुने गरेकोमा सन् २०१३ मा उनको अडियो सन्देश सार्वजनिक भएको थियो । समर्थकहरू बगदादीलाई पैगम्बर महम्मदका वंशजका रूपमा सम्मान गर्छन् । उनको रहस्यमय छविका कारण अमेरिकाले सन् २००४ मा उनलाई पक्रिएर जेलमा राखे पनि छोड्न बाध्य भएको थियो । जेलमा शान्त रहने, निर्भीक स्वभाव प्रदर्शन गर्ने बगदादीले त्यहाँ व्यक्तिगत रूपमा कुनै समस्या सिर्जना नगरेपछि सुरक्षा निकायका अधिकारीले उनी गलत प्रवृत्तिको व्यक्ति नभएको निष्कर्ष निकाल्दै जेलबाट छुट्टी दिएका थिए । जेलबाट छुट्ने क्रममा उनले अब आफू न्युयोर्कमा देखिने घोषणा गरेका थिए । नभन्दै अहिलेको पेरिस प्रकरणबाट बगदादी न्युयोर्कको टाउको दुखाइ भएका छन् । गत जुलाईमा अमेरिकास्थित इन्स्टिुच्युसन फर दि स्टडि अफ वार (आईएसडब्लू)का तर्फबाट अमेरिकी आतंकवाद प्रतिरक्षा विज्ञ हर्लिन ग्याम्भिरले आईएसआइको विश्व रणनीति एक युद्धखेल शीर्षकमा प्रतिवेदन बुझाएकी थिइन् । आईएसडब्लूको मध्यपूर्वी सुरक्षा रिपोर्ट २८ मा हर्लिनको उक्त प्रतिवेदन प्रकाशित छ । सूक्ष्म अध्ययन गरिएको उक्त प्रतिवेदनमा हर्लिनले आईएसको प्रभाव विश्वव्यापी रूपमा बढिरहेकाले अमेरिकाले आईएससँगको युद्धको स्वरूप बदल्नुपर्ने सुझाव दिएकी थिइन् । त्यसो त हाल अमेरिकासहित विश्वका ७० मुलुक आईएस (इस्लामिक स्टेट) लाई आतंककारी संगठन बताउँदै उ विरुद्ध लडाइँ लडिरहेका छन् । अहिले आईएस कति शक्तिशाली देखिएको छ भने उसका लडाकुहरू युद्धमा अत्याधुनिक हतियार सहितका सवारी साधन प्रयोग गर्न सक्छन् ।

 

विश्लेषकहरू अलकायदाका नेता विन लादेनभन्दा बढी चर्चा बगदादीले कमाउने अनुमान गरिरहेका छन् । ट्विन टावर ध्वस्त बनाउने लादेनलाई  समाप्त पारेको अमेरिका, इराकमा सद्दाम हुसेन र अफगानिस्तानमा तालिवानी शासन ढालेको अमेरिका अहिले बगदादीको आईएसलाई भयंकर त्रासदी मानिरहेको छ । नेतृत्वमा आएको चारवर्ष बितिसके पनि बगदादीको वास्तविक अनुहार सार्वजनिक नहुनु अमेरिकाको अर्को टाउको दुखाइ हो ।

 

बगदादीले इराकको बगदादस्थित इस्लामिक विश्वविद्यालयबाट इस्लामी संस्कृति, इतिहास, सरिया तथा न्यायशास्त्रमा विद्यावारिधि गरेका छन् । अध्ययनका हिसाबले ओसामा विन लादेनभन्दा बढी दीक्षित भएकाले समर्थकहरू उनलाई योग्य र भरोसायुक्त नेता मान्छन् । बगदादी सुरुमा मस्जिदमा धार्मिक शिक्षासमेत प्रदान गर्थे ।

 

बगदादीले सन् २००३ मा इराकमाथिको अमेरिकन आक्रमणपश्चात् आफ्ना सहयोगीहरूसँग मिलेर जैस अहल अल सुन्नाह वा अल जमात (जेजेएएसजे) स्थापना गरेका थिए ।  बगदादीले सन् २००६ को प्रारम्भमा जेजेएसजेको नाम परिवर्तन गरेर मजलिस सुरा अल मुजाहिद्दिन राखे । त्यसपछि यो संगठन जरकाबी नेतृत्वको अलकायदा इराकमा मिसियो र उक्त संगठनप्रति बफादार रहने सपथ लियो । जरकाबीले सन् १९९९ मा स्थापना गरेको आईएसआईएस आफ्ना निम्ति सही संगठन हुनसक्ने बुझेपछि अलकायदाको बाहिरी आवरणमै बगदादीको समूह आतंककारी गतिविधिमा सम्मिलित भयो । उनको गुटका एक महत्वपूर्ण नेता अबु अमर अल बगदादीको सन् २०१० मा मृत्यु भएपछि अबु बुकर अल बगदादी आईएसको प्रमुख भएका छन् । अबु बुकर बगदादी कहाँ बस्छन भन्ने कुरा अहिले अमेरिकाको चिन्ताको विषय भएको छ । अनुमान अनुरूप उनी सिरिया र इराकमा घुम्छन् र सुरक्षित स्थानमा बसेका छन् । (साप्ताहिक बाट साभार )

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ जेजुदो शाखाको अधिवेशन सम्पन्न, नेतृत्वमा शुष्मा नाल्बो
  • सुवनको मेगाबक्समा नोभेम्बर १०मा छक्का पन्जा–५ प्रदर्शन हुने
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...