राष्ट्रिय फुटबल टोलीमा अनिल गुरुङ नया कप्तान
सौल _ बलराम पाठक
अनिल गुरुङ कप्तान रहने गरी साफ च्याम्पियनसिपको लागि राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । भारतको केरलामा पुस ८ देखि १९ सम्म हुने नवौं साफको लागि मुख्य प्रशिक्षक प्रशिक्षक प्याट्रिक ओसेम्सले २० सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् । विंगर नवीन लामा र गोलकिपर अमृत चौधरी पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका छन् । अनिल गुरुङ प्लेइट सेटमा नभएको अवस्थामा विराज महर्जन वा रोहित चन्द कप्तान हुने प्रशिक्षक ओसेम्सले जानकारी दिए । कप्तान सागर थापा र उपकप्तान सन्दीप राई खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेपछि बाहिरिएका थिए । राष्ट्रिय लिग सकेलगत्तै अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक चरणमा ४१ खेलाडी बोलाएको थियो । दोस्रो चरणमा छनोट भएका २७ खेलाडीमध्ये भरत खवास, देवेन्द्र तामाङ र शिव श्रेष्ठ चोटका कारण टिमबाट हटे । साफअघि नेपाली टिमले पुस २ गते ढाकामा बंगलादेशसग मैत्रीपूर्ण खेल खेल्नेछ । साफमा नेपाल आयोजक भारत र श्रीलंकासगै समूह ‘ए’ मा रहेको छ । अर्को समूहमा डिफेन्डिङ च्याम्पियन अफगानिस्तान, माल्दिभ्स, बंगलादेश र भुटान छन् । नेपाल साफमा कहिल्यै सेमिफाइनलभन्दा माथि पुगेको छैन ।