राजदुत लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा छानविन सुरु
काठमाडौं- निवासको भाडा अनियमितता विवादमा मुछिएका दक्षिण कोरियास्थित नेपाली राजदुत कमानसिंग लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । लामाले आफ्नो निवासको भाडा बढी देखाएर मासिक दुइ लाख भन्दा बढी अनियमितता गरेको समाचार सोमबारको अन्नपुर्ण पोस्टमा प्रकाशित भएको थियो । सोहि आधारमा अख्तियारले छानविन अघि बढाएको हो ।
सोलस्थित राजदुत निवासका लागि मासिक भाडा ५० लाख वन दिने गरि दुतावास र त्यहाँ स्थित निजि कम्पनिसंग सम्झौता भएपनि राजदुत लामाले परराष्ट्र र अर्थ मन्त्रालयलाइ ७५ लाख वन बुझाएको सम्झौता देखाएर सरकारी ढुकुटीमा अनियमितता गरेको विवरण सार्वजनिक भएको थियो । लामाले मासिक २५ लाख वन (करिब दुइ लाख २५ हजार रुपयाँ )रकम घुमाउरो बाटोबाट आफन्तको खातामा जम्मा गरी आफैँले बुझ्ने गरेको बिषयमा अख्तियारले छानविन गर्न लागेको हो ।
उक्त प्रकरणमा अख्तियारले परराष्ट्र मन्त्रालय लगायत निकायबाट आवश्यक कागजात झिकाएको छ । लामाका बिषयमा छानविन प्रक्रिया सुरु भइसकेको छ , अख्तियार प्रवक्ता कृष्णहरि पुष्करले अन्नपूर्णसंग भने -छानविनपछि मात्र वास्तविकता थाहा हुनेछ । लामाको बिषयमा अख्तियारमा अन्य उजुरी समेत परेको छ ।-अन्नपूर्ण पोस्ट