कोरिया, जीवन र आत्महत्या
धरती कल्पना
मान्छेले किन मृत्युको बाटो रोज्छ ? जब कि एउटा कमिलाले टोक्दा आ…ईया ! भन्ने मान्छे | एउटा काँडाले घोच्दा मात्र पनि अतालिने मान्छे तर किन मान्छेले जीवनको थोरै असहज मोड आउने बितिकै सहज तरिकाले आफ्नै देहको हत्या गर्न तयार हुन्छ ?
यो यक्ष प्रश्नको जवाफ म सोच्न बाध्य भैरहेको छु, अस्तिको दिन मात्र अरु कसैले आत्महत्या गरेको खबर सुनेर ‘थुक्क लाछी!’ भन्ने व्यक्ति आज आफैले त्यहि बाटो रोज्यो जुन बाटो हिजोसम्म लाछिले हिड्ने गर्थ्यो……l
कुरो उसले किन त्यस्तो बोलेर आज आफैले त्यहि बाटो रोज्यो भन्दा पनि कस्तो समयको परिबन्धमा परेपछि मान्छेले आफैलाई सिध्याउने काम गर्छ भन्ने हो l
हाम्रो वरपर कसैले आत्महत्या गरेको समाचार मात्र सुन्नुपर्छ ‘थुक्क लाछी’ , ‘हुतिहारा’ ,बुद्धि नभएको बुद्धिहीन, मुर्ख,……आदि इत्यादि भनेर त्यो मृतकको छाती भरि ट्याग टाँसी दिन्छौ तर थोरै पनि उसको आन्तरिकस्थितिसंग परिचित हुन चाहदैनौ l मृतकलाई तथानाम तक्मा भिराएर आफु उ भन्दा निकै साहसिलो भएको दर्साउन चाहन्छौ र सोचे अनुरुप गरि भ्याउछौ तर केहि दिनमा आफु त्यो पीडाको पराका पुगेर चुक…चुक …गर्छौ र भन्छौ l
“हो!रैछ फलानाले त्यतिकै आत्माहत्या गरेको हैन रैछl” जब आफुलाई पर्छ अनि बुझिन्छ बास्तबिकता के हो कसो हो भनेर……l त्यसैले कसैको बाह्य रुप,रंग,स्थिति देखेर मुल्यांकन गर्नु समझदार मानिसको सबै भन्दा ठुलो मुर्खता होlकिन कि समुन्द्रको गहिराईमा के छ बुझ्न र हेर्न आफै त्यो भित्र डुबुल्की मार्नै पर्छ अरु कोहि पुगेर बताउनु र तिमीले सुनेर पत्याउनु आघा ज्ञान हुनु भन्दा नहुनु बेस जस्तो मात्र हुन्छ l
संसारका प्रत्येक व्यक्तिले जीवनको परिभाषा आ-आफ्नै बुझाइ र भोगाइको परिणाम स्वरुप भन्ने गर्छन, त्यसमाथी अधिक व्यक्तिको सोचाइमा जीवन सुन्दर फुल हो, यो जीवन एक पटक पाइन्छ,त्यसैले एक चोलाको जीवन हांसी खुशी रमाएर बाँच्न सक्नु जन्मनुको सार्थकता हो पनि भनिन्छ तर के जीवन जिउनु सहज छ ? सोचेको जस्तो जीवनको कथालाइ आफ्नै तरिकाले भोग्न पाइन्छ ? आफुले कल्पना गरे जस्तो गरि जीवन सिधा बाटोमा दौडी रहन्छ ? आफुले चाहेका इच्छाएका हरेक चिज यो जीवनले प्राप्त गर्न सक्छ ? असम्भब छ तर पनि आफ्नो प्रयास बल बुद्धि र दैनिक शंघर्षले केहि हद सम्म प्राप्त गर्छौ l
यो संसारमा जन्मिएर मर्ने कोहि एक जानाले पनि सन्तुष्टि साथ यो संसार छोडेको छैन भन्ने मेरो ठम्याई छlकोहि भोकै भोकमा मर्छन lकोहि तिर्खै तिर्खा लिएर मर्छनlकोहि पाएर मर्छनlकोहि गुमाएर मर्छन l कोहि आशै आशमा मर्छनlकोहि तृष्णा छातीभरि च्यापेर मर्छन ……इत्यादि l
तथापी पनि मुखमा भनिटो पल्छन मेरो जिन्दगीमा अब केहि इक्षा आकांक्षा छैन,म सागर जस्तो तृप्त र सगर जस्तो फराकिलो छाती लिएर मर्न सक्छु,मेरो स्वास सर्लक्कै जान्छ l यी सब भन्ने कुरा हुन जो शब्दमा बुनिएर प्रवाहित हुँदा ध्वनि मिठो आउछ जसलाई जीवन दर्शनको रुपमा सहर्स स्विकार्छौ l
त्यो हुँदै होइन मान्छे भएर जन्मनु संसारको सबै भन्दा ठुलो पुन्य र वरदान हो तथापि यहि श्राप र अभिशाप पनि होlसानो बालकको कोमल हृदयसंग जन्मिएर संसार देख्न भोग्न अनुभूति गर्न सक्छौ र अनुभव बाड्न सक्छौ l समयको बेग संगै त्यहि कोमल मन कतिबेला लोभ, मोह, भोक, तृष्णा,घृणा,रिस,अहंकारले भरि सकेको हुन्छ हामी पत्तै पाउदैनौ र त आफ्नो बाटोमा रहेको मन कुबाटोमा जाँदा धरी कुम्भकर्ण निद्को स्वाद लिई रहेका हुन्छौ l
सन्तोकको एक गाँस खाएर शान्तिको एक निन्द्रा निदाउनु मान्छेको जीवनलाई स्वर्गानुभुती गराउनु हो तर भैदियो के भने मान्छे मात्र गाँस र बाँसमा सिमित रहन चाहेनन।त्यसैको प्रतिफल आफ्नो जीवन यापनको सिमा क्षेत्र नाघेर गाउँबाट शहर, शहरबाट परदेश आईयो। सांसारिक र भौतिक बस्तुको पछि लागेर आत्माको खुशिलाई आँखाको मोहहरुले यसरी कैद गर्यो कि ती नासवान बस्तु प्रप्तिको लागि हामी अन्तत जे र जसो गर्न पनि पछि परिएन।
यसै सन्दर्भमा बिश्वका धेरै मुलुकहरुमा श्रम बेच्न पुग्यौ । श्रम बेच्नु नराम्रो हुँदै होइन । देशको एउटा भागमा बसेर मात्र त्यही भुगोलमा मृत्युवरण गर्नु पर्छ भन्ने धारणा मेरो पनि होइन र जीवन शैली,चिन्तन,सोच,ज्ञान,व्यापारहरु जस्ता मानिसको जिवनलाई सहज र सरल बनाउन बिश्वब्यापीकरणको अत्यन्त आवस्यक्ता छ हालको परिवेशलाई हेर्दा।जिवनका यस्तै सूक्ष्म पाटोहरुलाई केलाउदा र अहिलेको सभ्य भनिने समाजमा आफ्नो छाप छोड्न कै निम्ति भने पनि अर्थ आर्जनले निकै ठूलो भुमिका राख्दछ।आफ्नो सीप,कला,श्रम,ज्ञान,किन्ने र बेच्ने सिलसिलामा कुन देशको नागरिक कुन देशको भुगोलमा जुद्धै छ,यसै भन्न कठिन छ।
म भने हाल दक्षिण कोरियामा जीवनलाई चाहिने भौतिक पुर्वाधर र बिलासिताको बस्तु जोडजामको लागि आफ्नो श्रम बेचिरहेकि छु । किनकि आफ्नो पाखोबारी र जीवनको गन्तव्य मृत्यु सम्म हो भन्ने सम्झेर ल्याउदा आफ्नो जन्मभुमी बाट यति टाढा आउनुको मुर्खता कस्ले गर्थ्यो र?जीवन जिउनु मृत्यु पुर्व केही बुझ्ने,सिक्ने,भोग्ने र आफ्नो भुगोल भन्दा बहिरको परिवेश कस्तो होला त्यहाँका मानिस कस्ता होलान भन्ने उत्कट इक्षाले याहा सम्म तानी ल्यायो,जिउदैछु केही समय यो कर्मभुमी दक्षिण कोरियाको आँगनमा।
कोरियाको अधिकांश जीवन केलाउदा लाग्छ याहाका मानिस आत्मापरक नभएर यन्त्रवत छन।सबेरै उठ्छन यामान को मेसिनहरु संग सिँगौरी खेल्दै सम्पुर्ण दिन कम्पनीको पोल्टोमा खन्याउछन।काम बाट केही समय पाएको फुर्सदमा प्राय सबै भन्दा पहिला सोजु (रक्सी)पिउन थाल्छन,पिउदा पिउदै आधा रात फुत्काउछन घर जान्छन भोलि बिहान दोहरिन्छ फेरि यहि काहानी। यस्तो परिवेश,यस्तो जीवन सैलिमा अब हामी फुकुवा जीवन बाँचिरहेको नेपाली कसरी बन्दी बनेर बाँच्न सक्छौ होला?
बिश्वको अरु मुलुकको दाँजोमा कोरिया नै पहिलो स्थानमा पर्छ नेपालीहरु दुर्घटना हुनु र आत्महत्या गर्नुमा।कुनै समय यस्तो पनि आयो शृङ्खलाबद्ध हप्तै पिच्छे आत्महत्या।यी सब दृश्य मौन रहेर हेर्नुको बिकल्प कांहा छ र?
घरदेश,परिवार,साथिसंगीहरुले सोचेको जस्तो कत्तै सजिलो छैन कोरियाको भुमी जाँहा हामी एउटा श्रमिक भएर आएका छौ।प्रकृतिक सौन्दर्यताको लोभ लाग्दो छँटा भएर पनि आधुनिकतामा यसरी बिलिन हुन्दैछ कि कुन मान्छे हो कुन यन्त्र हो अत्याधुनिक शहरमा हातले छाम्दै हिड्नु पर्छ प्रत्येक छातीहरु।
आफ्नो देशको प्रकृतिक जीवन सम्झिदा लाग्छ याहा कृत्रिम जीवन बाँची रहेका छौ,नसक्नेहरु ले बाँच्न अभ्यास गरिरहेका छन सक्दै नसक्नेहरु फर्किदैछन आफ्नै मुलुक कित गर्दैछन आत्महत्या।
परदेशिएका हरेक परदेशिको आन्तरिक पीडा र अनुभूति संग जानकार रहन्छ सर्वप्रथम त आफ्नो परिवार जस्को खुशी र आनन्दको लागि उ परदेशिएको हो र राख्नै पनि पर्छ।देश छोडेर परदेश टेक्यो भन्दैमा सम्पन्नताले घरमा बाँस गर्यो सोच्नु परदेशिको जीवनमा अझ कठिनाइ थप्नु हो।कस्तो ठाउँमा काम गर्दैछ ? के खान्छ?कस्तो ठाउँमा सुत्छ?त्याहाको जीवन कस्तो लागिरहेछ ? कस्तो साहूको अन्डरमा रहेर काम गर्नुपर्छ ? मनमा चैन बेचैन के छ ? जस्ता अति साधारण तर परदेशिको लागि औधी महत्व राख्ने प्रश्नहरु आफ्नो घरपरिवार बाट तेर्सिए धेरै भन्दा धेरै राहत हुन्छ ।
याहा आएका मध्ये कयौं हामिहरु १३-१८घण्टा सम्म दिनहु काम गरिरहेका हुन्छौ।त्यसमा पनि कतिपय साहुहरु बाघ जस्ता हुन्छन पल्पल मनमा डर र सन्त्रास लिएर काम गर्नु परेको हुन्छ त्यही डर र आलोचनाको सिकार हुने भयले दुर्घटित हुन्छौं ।अंगभंग हुन्छौं सदा सदाको लागि।सरकारले बिदेशिलाई उपलब्ध गराएको सुबिधा बाटै पनि कति शोषणमा परेका छौ कम्पनिको साहुद्वारा।
यसरी केलाउदै जाने हो भने आफ्नो कार्यस्थलमा आफ्नै साथिहरुको कारण पनि अर्को साथिले औधी दु:ख पाइरहेको हुन्छ। आफ्नै साथिको कुरा लगाउने।बिपरित लिङ्ग बिच कुराकानी हुदैमा हेर्ने दृश्टिकोण बद्लिने।ह्येय दृष्टि राख्ने तर आफ्नो साथिको मनमा कस्तो पीडा हुन्छ त्यस्को रत्ती ख्याल नगर्ने।यस्ता साना तर स्वभिमानमा ठेस पुग्ने कुराहरुले तनाब पैदा गर्ने हुन्छ।यहि तनाबहरुले मुर्तरुप लिदै डिप्रेसनको जरा गाड्छ । डिप्रेसन मौलाएर झांगिनु नै आत्महत्याको अर्को रुप पनि हो।
आत्महत्याको अर्को कारण आफ्नै आफन्त परिवार पनि हुन्छन । महिनाको तिसै दिन बेपत्ता बेखबर आफन्त तबल आउने दिनको अघिल्लो हप्ता दिनतिर स्टेन बाई सम्पर्कमा हुन्छन।यता यतिका दु:ख पिडा एक्लोपन साहुको गालिगलौज बाट थकित उसलाई कहिले सोधिदैन “के,कसरी,किन,कहिले,……पिर नगर हामी छौ”यति सोध्नु खोज्नु बिना नै,मलाइ आइ फोन चाहियो,स्कुटी चाहियो । बाईक चाहियो । ल्याप्टप चाहियो । यति लाख पैसा चाहियो ……क्रमश । होइन,चाहियो भन्दैमा काँहा पाइयो? यहाँ छ पैसा को ? कि पत्कर जस्तो बोरा भरी बटुल्दै पठाउने गार्डेन छ?
अन्ततः आफैले आफैलाई कम्जोर र निरीह सम्झिनु अझ बढी कारण हो आत्महत्याको।म त भन्छु मान्छे भएर कहिल्यै आफुलाइ कम्जोर सम्झिनु हुन्न।प्रत्येक ब्यक्ती स्वभावैले फरक हुन्छन । एउटै आमाको कोख बाट त कोहि बिद्वान कोहि डाका कोहि जन्मिन्छ भने यो भनेको फरक धरती,फरक भाषा संस्कृती,फरक रहनसहन,फरक बिचारको फरक जीवन शैली संग पैठेजोरी खेल्नु चानचुने कुरा हुंदैहोइन।जे पर्छ जस्तो पर्छ बिबेकलाई चारैतिर नचाएर त्यस्को समाधान खोज्ने प्रयास गर्नु पर्छ । कसैले फलनाको हत्या गर्यो भनेको सुन्दा र कसैले आत्महत्या गर्यो भनेको सुन्नु दुई ध्रुवको बिपरित कुरा हुन।कसैले हत्या गर्न खोज्दा पक्कै मृतकले आफ्नो बचाउमा केही प्रतिकार गर्छ नसकेको खण्डमा उ मारिन्छ तर आत्महत्या यस्तो हो जस्ले आफ्नो आत्मा संग नै हार खाएर भौतिक शरीर नास गरि पठाउछ ।
सधै आफ्नो आत्मालाई आफैले बसमा राख्ने कला र शक्तिको सामर्थ्य आफुमा उत्पन्न गराउनुस।तपाईको लागि स्वम तपाइँ बाहेक यो पृथ्वीमा अरु कोहि हुदैन । कसैमाथी निर्भर नरहनुस र कोहि तपाई माथी निर्भर छु भन्यो भने काँध नथाप्नुस बरु आत्मनिर्भर रहने आफुले जानेको कला सिकाउनुस।कुनै कुराले मनमा अत्याधिक तनाब दिदैछ भने मिल्ने साथी संग बाड्नुस त्यस्तो साथी छैन भने बेस्सरी लेख्नुस।अनि एकान्तमा प्रकृतिलाई नियाल्नुस।हरेक बस्तुको जीवन केलाउनुस।रुख कसरी बाँचेको होला ? न कसैले खान दिन्छ न लुगा लाउछ।झारपात काटेर लुछेर पनि किन पलाइ रहने धर्म छोड्दैन?धामले एकदिन उदाउन बिर्स्यो भने के होला?यी सब आफ्नो लाखौ दुख लुकाएर हामी मानिसलाई जिउने कला सिकाइ रहेको हुन्छ मात्र तपाइँ हामिले अध्यन गर्न सक्नुपर्छ।
बाँच्नुस जिन्दगी बिन्दास।मर्ने बेलामा पनि ओठबाट मीठो मुस्कान फुलोस।
हिउँको आँगनबाट ……