हिउँको दरबार हेरेर मख्खै भएँ (नियात्रा)
बाला राई
कोरिया यतिबेला बुढौंलीपनको काँचुली फेरिरहेछ, सेताम्मे फुलेकी बुढी आमा जस्तै । जताततै सेतै हिउँले ढाकिएका छन् हरिया जंगल, डाँडा पाखा, गाउँ शहर अनि खेतका गरा र कुना कन्दाराहरु । बिछट्टै जाडो बढेको छ यतिखेर । जति खाप न्यानो कपडा लगाए पनि मुटु कमाउने चिसो सिरेटोले गर्दा बाहिर निस्कन मनै लाग्दैन ।
एक हप्ता अगाडि टेलिभिजनमा समाचार हेरेको थिएँ आइस फेस्टिवल भइरहेको । त्यसो त कोरियामा हरेक मौसममा हरेक फेस्टिवल भइ नै रहन्छन् । विशेषगरी फुल फूल्ने मौसममा हरेक फुलको फेस्टिवल हुने गर्छ । तर मलाई यो पटक हिउँको फेस्टिवल हेर्ने रहर मनदेखि नै जागेर आयो । त्यसैले जनवरी २४ तारिख आइतबार परिवारसहित लाग्यौं आइसफेस्टिवल हुने स्थानतिर ।
रातभरी परेको बाग्लो हिउँले ढाकिएको थियो पुरै बस्ती, घर आगान अनि बाटाहरु । बिहान उठेर झ्यालबाट बाहिर सडकमा हेरें, घामको प्रकाश हिउँमा टल्केर आँखा नै तिरमिरायो । ‘ओहो, यस्तो हिउँमा कसरी जाने होला त…’ मन एक तमासले छटपटियो । हामी त जसरी भए पनि जाउँला तर छोरीलाई चिसोले भेट्यो भने झनै आपत्, अहिलेसम्म चिसोबाट बच्दै आएकी छे । के गरौं ? मन दोधार भयो । फेरी झ्यालबाट एकपटक बाहिर चियाएँ । टन्टलापुर घाम लागिरहेको थियो । ‘आ, जे होला होला जाने हो,’ मनले अन्तिम निर्णय लियो ।
कोरियामा यो वर्षकै सबैभन्दा जाडो हुने दिन आज भनेर समाचार आइरहेको थियो । पत्रपत्रिकामा पनि सोह्र वर्ष पछिको सबैभन्दा बढी जाडो महसुस गरिएको दिन भनेर लेखिएको थियो । त्यहि भएर होला अरु दिनको तुलनामा सडकमा गाडी कम गुडीरहेका थिए । हामी बिहानको खाना खाएर रिता पुन दिदीलाई लिन गयौं । त्यसपछि हाम्रो यात्रा सिधै मोडियो गछाङको कमवन सानतिर । सान अर्थात् हिमाल । कोरियामा सानोतिनो पहाडलाई पनि सान भन्दा रहेछन् । सायद हिउँ पर्दा हिमाल जस्तै देखिने भएर होला ।
गुडिरहेको गाडी पनि पल्टाइदेला जस्तै बेगले हुरी चलिरहेको थियो । हुरीको झोंकासँगै उडिरहेको हिउँको सेतै धुलो देख्दा चैत्र बैखाशमा नेपालको कच्ची बाटोमा बसले उडाउने धुलोको याद आयो । बाटोभरी छरिएको हिउँ देखेर धेरै बर्षअघि सगरमाथा अनि अन्नपूर्ण बेसक्याम्पसम्म पुगेर नजिकबाट हिउँलाई चुमेको याद मेरो मानसपटलमा सलबलाउन थाल्यो ।
म सगरमाथाको फेदीमा जन्मेको मान्छे तर, हिउँसँग हुर्कन पाइन । सेताम्मे दन्त लहर फिजाएर उभिरहेको अटल हिमाललाई भने आँखाभरी पिइरहन्थें सधैं । झण्डै दुई दशक अघि होला, हिँडेर काठमाडौं जानेक्रममा सल्लेरीदेखि जिरीसम्म तीनदिन प्लास्टिक ओढेर पहिलोपटक सिमलको भुवा झैं फुस्फुसाइरहेको हिउँमा हिडेको थिएँ । कयौंचोटी हिउँमा लडेर घरबाट बोकेको सुन्तला काठमाडौं पुग्दा किचिएर बोक्रामात्र बाँकी थियो । संयोगले आज पनि सुन्तला बोकेको रहेछु । तर फरक यति म हिडिरहेकी थिइन गुडीरहेकी थिएँ । त्यसैले सुन्लता जस्ताको तस्तै थियो ।
साँढे दुई घण्टाको बाटो तीन घण्टा लगाएर पुग्यौं जंगलको फेदीमा । गाडीहरु तलैदेखि लामवद्ध थिए । मान्छेहरु आवतजावत गरिरहेका थिए । हामी गाडीबाट झरेर पैदल यात्रा सुरु गर्यौं । ससाना केटाकेटीहरु हिउँको चिप्लेटी खेलिरहेका थिए । कोही बरफमा स्की खेल्दै थिए । कोही हिउँसँग खेल्दै तस्बिर खिचाइरहेका थिए । खोलाको पानी जमेर आइस बनेको थियो । खोलाको छेउ र भित्तामा आइसको काल्पनिक दरबार जस्तो देखिने सुन्दर कलाकृतिहरु कुँदिएका थिए कुनै कालीगढले महिनौ लगाएर बनाए जस्तै ।
‘प्रकृतिको सिर्जना पनि कति राम्रो हगि बहिनी ? आफैं बनेको त होला नि ? कसरी सम्भव भयो होला यस्तो ? यति सुन्दर कसरी बनेको होला ?’ दिदी आइसबाट बनेको सुन्दर आकृति देखेर एकैचोटी धेरै प्रश्न सोध्न भ्याइन् । म भने हिउँको दरबारमा मख्ख परेर हराइरहेको थिएँ । ‘बैनी, यहाँ मेरो फोटो खिचिदिनु न’ भन्दै मोबाइल मेरो हातमा थमाइदिदा पो झसंग भएछु । हामी हिउँको प्राकृतिक बनोटसँगै आइसबाट बनाइएको विभिन्न कलाकृति हेर्दै र फोटो खिच्दै निकैबेर हिउँसँग खेल्यौं जाडोको पर्वाह नगरी । एक महिना चल्ने आइस फेस्टिवल हेर्दे अलि तल झरेपछि भित्तामा एनिमेटेड फिल्म ‘फ्रोजेन’ का कलाकारहरुको चित्र देखियो । मेरो छोरी फ्रोजेनको ‘लेट इट गो’ गीत भनेपछि हुरुक्कै हुन्छे । चित्र देख्नसाथ दगुर्दै गइ अनि गाउन थाली, ‘लेट इट गो…।’