अार्यघाट (नोस्टाल्जिया)-कथा साहित्य
एउटा लाश,निर्मम जलिरहेको थियो।छेवैको बेन्च जस्तोमा लाश तीर हेर्दै एउटा २०/२१ बर्ष जस्तो देखिने युवक एकोहोरिरहेको देखें।मलामीको उपस्थिति लगभग शुन्यप्राय थियो।
एक जना अधबैंसे लाशलाई बांस जस्तो लामो काठजन्य बस्तुले घोचघांच गरि जलाउदै थियो।रुवाबासी गर्ने कोकोहलो मच्चाउने कोहि आफन्तजन र शुभेच्छुकहरुको भीड पनि देखिएन। म भित्रको मानवीय संवेदनाले चुप बस्न दिएन अनि ती युवकको नजिक ग’ई सोधे”भाई यो जलिरहेको मान्छे तिम्रो को हो?” मेरो बा म तिर हेर्दै नहेरि उसको जवाफ आयो।
म अवाक भ’एं। त्यो जलाउने मान्छे चाहिं को हो नि? यसचोटि पुलुक्क म तिर हेर्दै उ बोल्यो”खै थाह छैन दाई,यही लास जलाउने मान्छे रै’छ। म उसको पीडामाथि एकपछि प्रश्न गरेर अर्को तनाव थप्न चाहन्नथे।तर एउटा मानवीय सम्बेदना बोकेको कलाकार न थिं’ए। जलाउनेको छेउ पुगि सोध्न थाले। …..अरु त खै सर म त पापी पेटको लागि आर्यघाटमा लास जलाउने काम गर्छु।
दुर्गम तिरको दमको रोगी रै’छ।अन्तिम अवस्थामा कतै होलाकि भनि यि बाबु(छोरा)ले रिन खोजि काठमाण्डु ल्याउनु भाको रहेछ बुबालाई..के गर्नु यस्तै भ’एछ त नि।कोहि आफन्त रहेनछ यता।एक्लैले लास ल्याको देखि असाध्यै माया लागेर आयो।…धरोधर्म सर लास जलाको एक पैसा लेको छै’न।दाउरा पनि मैले नै जगेडा गरेको मिलाको है।
लास चलाऊदै पोल्दै त्यो दाई एकोहोरो बोल्दै रह्यो। लास जलाउछु तर मेरो पनि मन छ नि सर मलाई नि पीडा हुन्छ।मेरो तर्फ बाट यति नै गरिदिन सकें सर… उसले यसो भन्दै गर्दा मेरो भारी नजरहरु अनायस बेन्चमा टोलाईरहेको ती युवकको नजरमा ठोक्कियो। उ मै तिर हेरि हिक्क हिक्क गर्दै सुक्सुकाउन थाल्यो।
मलाई असहज लाग्न थाल्यो।एकचोटि जलिरहेको लास नियाले।पश्चिम दिशा तर्फ घाम पनि भर्खर डुबिसकेको रैछ। ………… …..
(बाबु साईलाको डायरीबाट)
बाबु साईला (भीम सुब्बा तामांग )मानवीय संवेदनालाई शब्द र चीत्रमा उतार्न माहिर कलाकार हुन् ।