नियात्रा : पाँचवर्षपछि कोरियाबाट सोलु हुँदै पोखरासम्म
बाला राई
पखेटा पलाएपछि आफ्नो गुँड बिर्सेर कतै उडेको पंक्षीजस्तै सात समुद्र काटेर कोरियाको जीवनशैलीमा भुल्न थालेको पनि आधा दशक हुन लागेछ । विकसित मुलुकको भौतिक सुखसयलमा तन रमे पनि मन भने आफ्नै जन्मभूमिको यादमा तड्पिरहन्थ्यो हरपल । जन्मदिने बाबुआमा, साथीसंगी, आफन्तसँगै संघर्ष गर्दै बितेका आधा जिन्दगीका पाटाहरु हरेकपल मानसपटलमा ताजा भएर आइरहदा हररात सपनीमा ऐठन भए झैं लाग्थ्यो ।
जन्मभूमि छाडेर कर्मभूमिमा बाध्यताले रम्दै गरेकी म एकमहिना अघि मातृभूमि नेपाल गएकी थिएँ । भूकम्प र नाकाबन्दीको पिंडामा थलिएर भर्खरै तङग्रन लागेको मेरो देशलाई सान्त्वनाका शब्द उदगार गर्न नसकेपनि थोरै सदभाव् र माया बाँड्न पाउँदा खुशीले मन फुरुङग भएको थियो । दक्षिण कोरियाको इन्छन एयरपोर्टबाट सातघण्टा लामो कोरियन एअरको उडानपछि काठमाडौंको त्रिभुवन विमानस्थलमा पाइला टेक्दा मन त्यसै खुशीले गद्गदाउन थाल्यो । बेलाबेलामा हुने प्राकृतिक प्रकोप अनि सदियौंदेखिको राजनैतिक अस्थिरता कायमै भए पनि मैंले पाँचवर्ष अघि छाडेको मेरो देशको साजसज्जा र वातावरणमा पनि खासै परिवर्तन भएको रहेनछ ।
सामान लिएर विमानस्थलबाट बाहिरिदा गेटमा हाम्रै स्वागतमा हातमा खादा बोकेर पर्खिरहेका रहेछन् अभिन्न मित्र मन्जु गुरुङ र उनका श्रीमान किम ह्योङह्यो । एकैछिनमा भेटिए मेरो आमासँगै बस्ने नातेदार भाई हेमराज राई । हामी ट्याक्सी चढेर आमा बसेको घरतिर लाग्यौं कालोपुल । आमा हाम्रै स्वागतमा ढोकामा उभिरहेकी थिइन् । हामी पुग्नसाथ तीनवर्षपछि भेट्न पाएकी छोरी, नातिनी र ज्वाइलाई गल्र्याम्म अंगालो हालेर हर्षका आँसु खसाउन थालिन् । साँझपख छुट्टै बसेका बुबा पनि हामीलाई भेट्न आए । पहिलो पटक नातिनी र ज्वाइलाई देख्दा उनमा पनि खुशीको सिमा रहेन । लामो समयपछिको पारिवारिक भेटघाट र कुराकानीमा मध्यरात बितेको पत्तै भएन ।
गत बैशाखमा गएको महाभूकम्पले भत्किएको धरहरा अनि वसन्तपुरको ऐतिहासिक स्थल भत्किएको तस्विर र टेलिभिजनमा मात्र देखेको थिएँ । एकपटक आफ्नै आँखाले हेर्ने कौतुहलता जाग्यो अनि लागें परिवारसहित त्यसतर्फ । मलाई अग्लो स्थानबाट तल हेर्न असाध्यै डर लाग्छ । एकपटक काठमाडौंको बालाजुमा रकक्लाइम्बिङ गर्दा पहाडको टुप्पोमा पुगेर तल झर्ने बेला साह्रै डर लागेको थियो । कोरियामा पनि कहिलेकाँही आठ तला, १८ तलामा बस्ने आफन्तको अपार्टमा जाँदा झ्यालबाट बाहिर हेर्दै रिंगटा लाग्छ । एकपटक समुद्रको छेउमा रहेको २९ तले टावरमा लिफ्टबाट चढेर समुद्र हेर्दा डरले तत्काल बाहिरिएको थिएँ । डरकै कारण कोरियामा रहेको विभिन्न टावरमा घुम्न गएपनि माथि चढेकी छैन ।
काठमाडौंको नौतले धरहरामा भने एकपटक चढेकी थिएँ । तर डरले बाहिर ननिस्की भित्रै भ¥याङमा बसेको बेला हावाले धरहरा नै हल्लाए झैं लाग्यो । त्यो बेला डरले चिच्याएको त्यो क्षण अहिले टुक्रिएको धरहरा अगाडि बसेर सम्झिरहें । त्यसपछि हामी वसन्तपुरतिर लम्कियौं । भूकम्पको धक्काले चर्किएको बसन्तपुरको पुरानो दरबार अनि भत्किएको मन्दिरका भग्नावशेषलाई एक फन्को मार्दा अतितका धेरै यादहरु ताजा बनेर छाइरहे चलचित्रको रिल घुमेझैं ।
केही दिनको काठमाडौं बसाइपछि मेरो जन्मथलो सोलुखुम्बुको लागि यात्रा तय भयो । पहिला सोलु जानलाई कि त हवाइमार्ग कि तीनचारदिन हिडेर जानुपथ्र्यो । अहिले सोलुसम्म गाडी जाने बाटो बनेको रहेछ । मलाई गाडीबाट सोलुसम्मको यात्रा गर्ने रहर जागेर आयो । बुबाले बिहान ५ बजे नै टाटासुमो जीव लिएर आउनुभयो । मेरै आग्रहमा मन्जु र उनका श्रीमान पनि सोलु जाने तयारीमा थिए । मेरो फुपाजु, मन्जुको भदा र जीवचालकसहित हामी नौ जनाको यात्रा लम्कियो सोलुखुम्बुको मेरो गाउँ मुक्लीतर्फ ।
उकाली, ओराली, घुम्ती र कुइनेटाहरु पार गर्दै गाडी गुडिरह्यो आफ्नै रफ्तारमा । कोरियामा कहिल्यै गाडीले नमात्ने मेरी सानी छोरीलाई गाडी लागेछ । रुदै छाद्दै गर्दा मेरो सातोले ठाउँ छाड्यो । श्रीमान भने काठमाडौं पुगेकै दिनदेखि काठमाडौंको धुले सडक, अव्यवस्थित सवारी साधन, धुवाँ उडाउदै गुड्ने थोत्रे गाडी र जथाभावी हर्न बजाएको अनि मान्छेहरु जथाभावी बाटो काटेको देखेर दिक्क भइसकेको थियो । ‘खाना खाने बेलामा समेत बत्ती छैन, किन यति लामो लोडसेडिङ ? नुहाउने बेला धारामा पानी आउदैन किन जनता चुप लागेर बसेको ?’ भन्दै घरिघरि मलाई सोधिराख्थ्यो ।
झन् सोलु जाँदा भीरको साँघुरो र धुलाम्मे कच्ची बाटो देखेर डरले मुटु कमाउदै सोधिरहन्थ्यो, ‘किन यस्तो खराब बाटोमा गाडी चलाएको ? किन पक्की बाटो नबनाएको ? यो देशको सरकारले के गर्छ ? यो देशको मान्छेहरु किन कामै नगरी बसेका ? यो पहाडहरु फोरेर किन सुरुङ मार्ग नबनाएको ?’ आदि इत्यादि प्रश्नहरुले म आजित भइसकेको थिएँ । मसँग उसलाई दिने उचित जवाफ थिएन । एउटा राजधानी नजिकै बन्न लागेको फर्पिङ सुरुङमार्ग त यत्रो वर्ष भयो पुरा गर्न सकेका छैनन् यत्रो अजंगको पहाडहरु कहिले फोरेर सुरुङ मार्ग बनाउने होला मैंले भन्थें ।
बाटो हेर्दा मन चसक्क भएपनि लामो समयको अन्तरालपश्चात आफ्नो जन्मभूमि टेक्न पाउँदा मनभरी खुशीको रौनकता छाएको थियो । हामी १० घण्टाको बस यात्रापछि सोलुखुम्बुको पाताले भन्ने ठाउँमा दिनको चार बजे नै पुग्यौं ।
उत्तर दिशामा लहरै उभिएका सेताम्मे हिमालहरु अवलोकन गर्दै फोटो खिच्यौं । त्यहाँबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा सहित नुप्से हिमाल, लोत्से, मकालु, थामसेर्खु, गोक्यो, नुम्बुर, चोयुलगायतका थुप्रै हिमालहरु देखिने रहेछ । उसिनेको आलु र नुनचिया खाएर र्सिर बग्ने चिसो सिरेटोको परवाह नगरी माथी अग्लो डाँडामा रहेको टावरसम्म पुगेर हिमाललाई झन् नजिकबाट दृश्यपान गर्दा हिमालको फेदीमै पुगेका महसुस भएको थियो ।
अर्को दिन बिहान गाडी चढेर हुँइकियौं मुक्लीतिर । बाटोमा भदौको जस्तै भुई कुहिरो उडिरहेको थियो । छिनमै उघ्रिने र छिनमै बादलले ढाक्ने मौसमले समेत मसँग लुकामरी खेलिरहे जस्तो लाग्यो । त्यहाँको वनपाखा, खोलाखाल्सीमा भर्खर फुल्न थालेको लालीगुराँस फूलले मलाई स्वागत गर्न रातो कार्पेट विछ्याइदिए जस्तो लागेकोले गर्वले मेरो छाती ढक्क फुल्यो । तर मलाई कताकता हिनताबोध पनि भइरहेको थियो । किनकी यहाँको बोटविरुवा अनि छहराछाँगाले के सोच्दो हो ? कति निष्ठुरी ठान्दो हो मलाई यहाँको माटोले । जुन ठाउँले मलाई जन्मायो हुर्कायो, यसैलाई बिर्सेर सातसमुद्र पारी पुगेको छु । त्यसबेला मेरा बाध्यताहरु मनभरी छचल्किन थालेपछि अनायसै नयनहरु रसाएर आए ।
म मेरो गाउँलाई छाडेर परदेसिए पनि किशोरावस्थामा मेलापात गर्दै साटेका कतिपय रमाइला पलहरु कहिलेकाही नजरभरी ठिंग उभिदिन्छ । तनले मनले कहिले पनि बिर्सन नसकेको मुक्लीका पाखापखेरा अनि पानी पँधेराहरुभरि मन डुलिरहन्छ । धेरै पछि तिनै विगतका सम्झनाहरुलाई नजिकबाट पुनः महशुस गर्दै थिएँ । अतितका स्मृतिसँग साक्षातकार हुँदाहुँदै मेरो गाउँ मुक्ली पुगेको पत्तै भएन । घर अगाडि गाडी रोकिदा पो झसंग भएछु ।
गाडीबाट झर्नसाथ भग्नावशेष भएको मेरो जन्मघरको आगानतिर दौडन थालें । मेरो घरबारीमा अझै किराती थुलुङ राजा रामलिहाङको दरबारको भग्नावशेष छ । जसलाई ओगानेम भनिन्छ । त्यहि नजिकै म जन्मे हुर्केको घर पनि भग्नावशेषमा परिणत भएछ । मैंले खेलेको आगान, फुलबारी, करेसाबारी, सुन्तला, केरा, कागती, अम्बा, आप, ज्यामिर, भोगटे, बिमिराको बोट भएको ठाउँहरुमा नयाँ विरुवा हुर्कन थालेछन् । म कोरिया हानिएपछि बुबाले सोलुखुम्बु हर्वल गार्डेन कम्पनी भनेर एउटा प्रोजेक्ट चलाउन थालेका रहेछन् । त्यहि कामअन्र्तगत पहिला मकै, धान, कोदो, आलु, फापर जस्ता अन्न उमार्ने मेरो बारीमा अहिले विभिन्न हर्वलको विरुवा, रुद्राक्षे, किवी, आवोकाडो सुन्तलालगायतका थुप्रै फलफुलको विरुवाहरु लगाएका रहेछन् । ‘अब यहि ठाउँमा घर बनाउछु अर्को पटक तिमेरु आउँदा किवी पनि फल्छ आफ्नै घरमा बस्नुपर्छ,’ बुबा आगामी योजनाहरु सुनाउदैहुनुहुन्थ्यो ।
अर्कोदिन आइतबार मैंले पढेको गाउँकै विद्यालयमा सानो कार्यक्रम राखिएको थियो । मन्जु गुरुङ र मसहित कोरियन नागरिकसँग विहे गरेर गएका केही नेपाली चेलीहरुको सक्रियतामा स्थापना गरिएको नेपाली चेली समाज दक्षिण कोरिया र नेपाल कोरिया कल्चर सेन्टरको तर्फबाट हामीले श्री बिरेन्द्रोदय उच्चमाविका विद्यार्थीहरुलाई पाँचसय थान कलम र कापी, भलिवल, फुटवल अनि दुनोट र कुजिजहरु बाँड्यौं । सानै सहयोग भएपनि त्यहाँका विद्यार्थी, शिक्षक र स्थानीयहरुले खुशी आभार गर्दै हाम्रो कामलाई गाउँकै उदाहरणीय कार्य भएको बताउँदा गर्वले शिर उचो भएको थियो । मलाई कक्षा सातसम्म पढाउने अंग्रेजी शिक्षक होम कार्की र गणितको शिक्षक लालबहादुर विश्वकर्मा सर अझै त्यहि विद्यालयमा हुनुहुदोरहेछ । धेरै वर्षपछिको अन्तरालमा भेट्न पाउँदा उहाँहरुको नजरमा पनि त्यत्तिकै खुशी झल्कन्थ्यो ।
बिद्यालयको कार्यक्रम सकेर हामी सदरमुकाम सल्लेरी लाग्यौं । दुईदिनको सल्लेरी बसाइपछि हामी काठमाडौं फर्कियौं । मौसम खुला भएकोले हिमालको दृश्यावलोकन गर्दै फर्किने क्रममा ओखलढुंगाको पुरै गाउँबस्तीलाई ढाकेर बसेको बादलको समुद्र झन् मनमोहक देखिन्थ्यो । ‘दुई वर्ष भयो सोलु काठमाडौं गाडी चलाएको यस्तो अदभूत दृश्य कहिल्यै देखेको थिइन,’ गाडी चालक गणेश चौधरी पनि मख्ख पर्दै भन्दैथिए ।
सगरमाथा हेरेर हिमालप्रति झनै आर्कषित भएका मेरा श्रीमान अन्नपूर्ण हिमाल नहेरी नर्फकने अडान लिएपछि हामी पोखरातिर हानियौं । तर दुर्भाग्य, पोखरा पुरै बादलले ढाकेको थियो । मौसम खुलेको भए फेवातालको आगानबाटै अन्नपूर्ण र माछापुछ«े देखाएर फर्काउला भन्ने सोचेको थिएँ । अर्को दिन कतै मौसम खुलिहाल्ला कि भन्ने आशामा साराङकोटसम्म पुग्यौं । त्यो दिनपनि मौसमले धोका दियो तर विभिन्न मुलुकबिच हुन लागेको अन्र्तराष्ट्रिय प्याराग्लाइडिुङ प्रतियोगिताको उदघाटन कार्यक्रम रहेछ त्यहि हेरेर भए पनि चित्त बुझायौं । तर श्रीमानको अन्नपूर्ण हेर्ने चाहना भने पुरा हुन नसकेकोले कोरिया फर्किन्जेल भनिरह्यो, ‘अब पाँचवर्ष पछि फेरी नेपाल गएर अन्नपूर्ण नहेरी छाड्दिन तर सोलु चाँही जाँदिन बाटो खराब छ ।’