अदालतबाट बाहिर निस्कदा अनिसाको मुहारमा अर्कै खुशी झल्कन्थ्यो । वर्षौंपछि जेलबाट छुटेको कैदी जस्तै । हिड्दाहिड्दै टक्क अडिएर केहीबेर वरिपरि हेरि अनि निधार खुम्चाउदै आकाशतिर हेर्दै मन्द मुस्काइ । सायद, आफु स्वतन्त्र भएकोमा इश्वरलाई धन्यवाद दिनलाई होला । म ट्याक्सी रोक्न अलि अगाडि गएँ । ऊ पनि मलाई पछाउदै छिटोछिटो पाइला चाली । ट्याक्सी चढ्नु अघि उसले एकपटक आफू निस्केको अदालतको ढोकातिर नजर घुमाइ । केही समय अघि मात्र सम्वन्ध विच्छेद गरेका उनका पति भर्खर बाहिर निस्कदै रहेछन् अध्यारो मुख पारेर । केहीबेर उनीहरु एकअर्कालाई हेराहेर गरे । अनिसा फरक्क फर्केर ट्याक्सी चढी । उनका भूपू भइसकेका पति रसिला आँखा बनाउदै पार्किङस्थलतिर लागे ।
‘अनिसा तिमी खुशी छौ ?,’ केहीछिनको मौनतालाई चिर्दै मैंले सोधें ।
‘मैंले गर्दा आज तिम्रो सम्वन्धमा पूर्णविराम लाग्यो, सक्छौ भने मलाई माफ गरिदेउ ।’
‘के भन्नुभएको दिदी, तपाईले के गर्नुभाको छर ? यो त सब मेरो भाग्यको खेल हो । तर आज म अति खुशी छु दिदी । सातवर्षपछि म पुनः स्वतन्त्र भएकी छु । आफ्नो इच्छा अनुसार जे मन लाग्छ त्यहि गर्न सक्छु ।’
‘अनि अब के गर्छौ त कोरियामै बस्छौ कि नेपाल फर्किन्छौ त ?’ मैंले फेरि सोधें ।
‘अहिले नै फर्कने सोचमा छुइन दिदी अब यतै रस बस्यो भाषा पनि जानियो तर यहाँ चाँही बस्दिन अर्कै शहरमा गएर बस्छु ।’
‘त्यसो भए अब फेरी बिहे गर उमेर छँदैछ क्यारे । तर अब चाही नेपालीसँगै विहे गर है । कोरियन आइडी छँदैछ एकसेएक पाउँछौ, ’ मैंले केही जिस्काउने पारामा हाँस्दै अनिसाको मन चोरें ।
‘आ दिदी ! के बिहे गर्नु र अब त एक्लै बसिन्छ । हुनत एउटा केटा छ मलाई साह्रै माया गर्छ । फेसबुकबाट साथी भको । जेन्टल लाग्छ हेर्दा पनि हेन्सी नै छ तीन वर्ष भयो रे कोरिया आएको । तर इपियसबाट आउने केटाको त भर हुन्न क्या । एक त यो जाबो भोटेको बुरी त हो नि भनेर हामीलाई नराम्रो दृष्टिकोणले हेर्छन् । अर्को कोरियन आइडी भको केटीसँग यसो चक्कर चलाए कोरियामा बस्न पाइन्छ कि भन्ने स्वार्थले मात्र माया देखाएका हुन् ।’
‘त्यो त हो तर सबै एकैखाले हुदैनन् । निस्वार्थी माया गर्ने पनि हुन्छन् । तै विचार गर ।’ कुरा गर्दागर्दै उसको घर आइपुगेछ । ट्याक्सीबाट झरेर सरासर उसको कोठामा गयौं । गर्मीको महिना भएकोले कोठाभित्र पस्नसाथ उसले एसी अन गरी । फ्रिजबाट जुस निकालेर मलाई दिई आफुले भने एक गिलास चिसो पानी एकै सासमा सिनित्त पारी ।
‘दिदी, वाइन पिउने ?’
‘के को वाइन नि दिउसै’ मैंले भने ।
‘आज मैंले मुक्ती पाएको उपलक्ष्यमा के । अलिकति पिउँ न है भरै भेनालाई फोन गरेर लिन बोलाउनुस् न यतै,’ उसले किचनको र्याकबाट रेडवाइनको बोटल निकाल्न खोजी ।
‘सरी अनिसा, अहिले वाइन नपिउ । आज तिमीसँगै बसेर मजाले वाइन पिउदै कुरा गरेर बस्न मन थियो । तिमी आफुलाई जति स्वतन्त्र भएको महशुस गरेपनि आजको दिन तिम्रो लागि अत्यन्त दुःखको दिन हो । त्यसैले तिमीलाई एक्लै छाड्ने मन त छैन तर मलाई बेलुकीको खाना बनाउनुपर्छ । छोरी स्कुलबाट भोकाउदै आउछे भेना पनि कामबाट गलेर आउँछ,’ मैंले सम्झाउदै भने । त्यसो भए एकछिन बसेर जानुस् नत भन्दै ऊ बाथरुम छिरी ।
अनिसा मेरो गाउँको बहिनी हुन् । उमेरले म दिदी भएपनि सानैदेखि हामी असाध्य मिल्ने साथी जस्तै थियौं । पछि म बिहे गरेर कोरिया आएँ । दुईवर्षपछि नेपाल जाँदा अनिसासँग फेरी भेट भयो । कुरा गर्ने क्रममै जिस्केर मैंले उनलाई कोरियनसँग बिहे गर म ज्वाइ खोजिदिन्छु भनें । उनले पनि जिस्कदै हुन्छ भनिन् । संयोग पनि त्यस्तै भयो म कोरिया फर्कनसाथ मैंले चिनेको मान्छेसँग एकजना अधवैंसे आइमाइ मलाई भेटन आए । ती महिलाले आफ्नो छोराको लागि एउटी राम्री नेपाली बुहारी खोजिदिन आग्रह गरिन् । मैंले अनिसालाई सम्झें । यसरी मैंले गर्दा अनिसाले कोरियनसँग बिहे गरिन् तर उनीहरुको दाम्पत्य जीवन लामो समय टिक्न सकेन ।
‘हेर्नुस् दिदी, मैंले लाइफमा पहिलो पटक आफुलाई भन्दा बढी माया र विश्वास गरेको त्यो सुसान्तेले धोका नदिएको भए म यो ठाउँमा आउने पनि थिइन ।’ बाथरुमबाट निस्कदै अनिसाले आक्रोस पोखी ।
‘के गर्छेऊ त भाग्यमा नजुरे पछि,’ मैंले सान्त्वना दिन खोजें ।
‘था छ दिदी ? त्यसको पनि अहिले स्वास्नीसँग त्यति राम्रो सम्वन्ध छैन रे नि ।’ यति भनिरहँदा उनलाई अलिकति भएपनि सन्तुष्टी मिले झैं लाग्यो ।
‘ए हो र ? अनि अझै कुरा हुन्छ तिमेरको ?’ मैंले सोधें ।
‘हुँदैन नि, त्यसले त म कोरिया आएपछि खुब कुरा गर्न खोजेको थियो । ‘मैंले तिमीलाई बुझन सकिन मलाई माफ गर, तिमी जती माया गर्ने मान्छे मैंले यो जन्ममा पाउदिन रे आइ मिस यु…’ भन्दै यति लामो म्यासेज गरेको थियो । मैंले नि मनपरी लेखेर फेसबुकबाटै ब्लक गरिदिएँ । त्यस्तो धोकेबाजसँग के कुरा गर्नु ।’
‘हो नि म पनि त बिरक्तिएरै कोरिया आएँ । नत्र मलाई विदेशीसँग विहे गर्ने रहर नै कहाँ थियो र ? नत विदेशिने मोह नै थियो ।’ मैंले पनि आफ्नो मनको बह पोख्न थालें, ‘यो केटा मान्छेको जातै स्वार्थी रहेछ अनिसा । मैंले मन पराएको केटाले पनि त आइडीको लोभमा अर्कै केटी विहे गरेर हङकङ गयो । त्यसपछि मलाई पनि नेपालमा बस्न मन भएन । जन्म, विवाह र मृत्यु आफ्नो वशमा हुन्न भन्थे हो रहेछ । के गर्नु सम्झौतामा जिन्दगी जिउनुपर्दो रहेछ । आफुले माया गरेको मान्छेसँग जिन्दगी बिताउन पाए कति रमाइलो हुन्थ्यो होला ।’
‘तपाइको त भेना असल हुनुहुन्छ नि दिदी । सोझो, समझदार हुनुहुन्छ । तपाइले जे भन्यो त्यहि मान्नुहुन्छ । उमेर पनि मिल्छ । मेरो बुरो त खै के भन्नु साह्रै घमण्डी, रिसाहा, उसकै कुरा मात्र सहि अरुको कुरै नसुन्ने । सायद त्यहि भएर हो कि मलाई ऊ प्रति कहिल्यै माया जागेन । उसले त माया गथ्र्यो तर मैंले नै उसलाई मेरो मनमा राख्न सकिन । हुनत सुरुमा भाषाको कारणले आफ्नो मनको कुरा सेयर गर्न नसकेर पनि होला माया नलागेको । पछि त झगडा हुन थाल्यो अनि कताबाट माया पलाओस् यस्तो लाइफ जिउनु भन्दा त सिंगल लाइफ नै बेस,’ अनिसा मनको गाँठो खोल्दै गइ ।
‘जिन्दगी एक सम्झौता हो अनिसा, आफुले चाहे जस्तो कहिल्यै हुन्न । भाग्यमा जे लेखिएको छ त्यहि हुन्छ । अब बितेका कुरालाई नसम्झी आउने जिन्दगीलाई अगाडि बढाउ ।’
अनिसाले लामो सास फेरी अनि केही सोचे जस्तो गरी । मोबाइल हेरें पाँच बज्न लागेछ । अनिसाको पिँडाले थिचिएको भारी मन लिएर घरतिर लागें ।