बेलायतमा रानालाई समाजसेवी सम्मान
फोनिज कोरिया सम्बाददाता
बेलायत
आप्mनो समुदायको हितको लागि सामाजिक कार्य गरेवापत चक्रबहादुर रानालाई भेट्रन अफ दि यिएर अवार्ड प्रदान गरिएको छ । राना गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार एवं ग्रीनवीच गोर्खा एक्स सर्भिसमेन एसोसिएसनका कोषाध्यक्ष हुन् । उनले आर्मड फोर्सेस डे २०१६ का अवसरमा गत २५ जुनका दिन आयोजित एक समारोहबीच सो अवार्ड ग्रहण गरेका थिए ।
गुल्मी लिम्घा १ स्थायी निवासी ७३ वर्षीय रानाले झण्डै २० वर्ष ब्रिटिश आर्मीमा बिताएर अवकास लिएका थिए । उनी हङकङमा केही वर्ष नोकरी गरेपछि सन् २००८ यता यूकेमा स्थायी बसोवास गरिरहेका छन् । उनी छोरा बुहारीका साथ प्लमस्टिड बस्छन् ।
कुनै बेला गाउंमा प्रधानपञ्च भएर १० वर्ष बिताएका उनले आफ्नो पालामा पुल, बाटो, नहर, स्कुल, मन्दिर, पौवा आदि बनाएको स्मरण गरे । ‘म जहां गएपनि समाजसेवामै रमाउंछु’, रानाले भने, ‘अब बांकी जीवन यही काममा बिताउंछु ।’
गुल्मी जिल्ला समाज यूके अध्यक्ष राम गलामीले सल्लाहकार रानालाई बधाई दिएका छन् । गलामीले राना समाजको अभिभावक भएको जनाउंदै उनी सम्मानित हुंदा समाजकै इज्जत बढेको बताए ।