क्यङजुको बुलकुक्सा र सक्कुलआम घुम्दा (नियात्रा)
कोरियाको इतिहास अध्ययन गर्ने क्रममा कक्षामा शिक्षिकाले कोरियाको प्राचिन इतिहास, मध्यकालिन र आधुनिक इतिहासको बारेमा पढाइरहदा मलाई भने नेपालको गोपालवंश हुँदै लिच्छवीकालिन, मल्लकालिन र पृथ्वीनारायन शाहले गरेको नेपाल एकिकरणको याद आइरहन्थ्यो ।
प्राचिन कालमा चीन र रुसको केही भूभागसम्म फैलिएको मुलुक कोरियाको पहिलो राज्य घोजोसन पछि सिल्ला, खोकुरय र बेक्चे तीन राज्यमा विभाजन भएको थियो । विभिन्न कालखण्डमा विभिन्न राज्यमा टुक्रिदै एकिकरण भएपछि ३६ वर्षसम्म जापानको उपनिवेश समेत बन्न पुगेको थियो ।
जसमध्ये विभिन्न राजाहरुले शासन गर्दै आएको सिल्लाकालिन समयमा निमार्ण गरिएको बुद्धका गुम्बादेखि विभिन्न ऐतिहासिक मठमन्दिर तथा कलात्मक स्थलहरु विश्व सम्पदा सूचिमा (युनेस्को) समेत सुचिकृत छ । कक्षामा पढेदेखि नै क्यङसाङबुक्दोको क्यङजुमा रहेको यिनै ऐतिहासिक स्थल बुलकुक्सा मन्दिर(बुद्धको प्राचिन गुम्बा) र सक्कुलआम हेर्न जाने हुटहुटी मनमा लागिरहेको थियो । त्यसैले मध्य गर्मीको पर्वाह नगरी परिवारसहित गत आइतबार मासानदेखि क्यङजुसम्मको दुई घण्टाको यात्रा तय भयो ।
अग्लाअग्ला पहाड खोपेर बनाइएको सुरुङ मार्ग छिचोल्दै वरिपरि डाँडाले घेरिएको सुन्दर क्यङजुको हरियाली उपत्यका छिर्दा अर्कै मुलुकमा पुगेको अनुभूति हुन्थ्यो । सिल्लाकालको तत्कालिन दरबार भएको यो ठाउँको हरेक क्षेत्र र सम्पदाहरुको संरक्षण गरिएकोले यो ठाउँ अहिले पर्यटकीय क्षेत्रको रुपमा पनि त्यतिकै प्रख्यात छ । पुरातात्तिक सम्पदाहरु नष्ट नहोस् भन्ने हेतुले यहाँ ठुलठुला अपार्ट तथा अध्याधुनिक घर बनाउन नपाइने रहेछ । त्यसैले यहाँका गाउँवस्ती अनि घर, होटल सबै इँटाको छाना भएको परम्परालाई नमासी बनाइएका रहेछन् ।
ससाना थुम्का जस्तो देखिने सिल्लाकालिन राजाहरुको चिहान देख्दा सुरुमा पत्याउन गाह्रै हुन्छ । ओरुङ अर्थात् पाँचवटा चिहान यहाँको एउटा आर्कषण पनि हो । झट्ट हेर्दा पहाडको ससाना थुम्का जस्तै सुन्दर देखिन्छ ओरुङ । त्यो बेला राजाको शरीरसँगै बहुमुल्य सामग्रीसमेत राखिएको चिहान अरु कसैले खनेर सामग्री चोरी नहोस् भनेर ढुंगैढेंगाले बनाइएको चिहान राखिएको स्थानलाई फन्को मारेर लाग्यौं बुलकुक्सातिर ।
कोरियाकै सबैभन्दा पुरानो बुद्धको गुम्बासँगै विभिन्न कलाकौशलले भरिएको प्राचिन मठमन्दिर, ढुंगैढुंगाले बनाइएको प्यागोडा शैलीको सक्काथाब र दाबोथाबलगायतका पुराना कलाकृति हेर्दा मलाई काठमाडौंको वसन्तपुर, ललितपुरको कृष्ण मन्दिर अनि भक्तपुर दरबारको याद झल्झली आयो ।
हामी बुलकुक्साबाट निस्केपछि उकालो लाग्यौं अग्लो पहाडको टुप्पामा रहेको अर्को प्राकृतिक तथा साँस्कृतिक सम्पदाले भरिएको सक्कुलआमतिर । डाँडामा गाडी पार्किङ गरेर टिकट लिएर केहीबेर हिँडेपछि पहाडको कुनामा बनाइको गुम्बाभित्र बुद्धको ठुलो मुर्ति राखिएको रहेछ । तर भित्र भने फोटो खिच्न नपाइने रहेछ । धेरै पछि बुद्धको दर्शन गर्न पाउँदा मनमा एक किसिमको आनन्दको अनुभूति भइरह्यो निकैबेरसम्म । काठमाडौमा हुँदा कहिलेकाँही मनमा पिर भयो भने बौद्ध र स्वयम्भू गएर मनलाई शान्त पार्ने गर्थें ।
ऐतिहासिक दृष्ट्रीकोणले अति प्रख्यात क्यङजुमा स्थानीय पर्यटकसहित विभिन्न मुलुकबाट आएका विदेशी पर्यटकहरुको संख्या पनि त्यतिकै देखिन्छ । तर घुम्ने स्थल धेरै भएकोले एकदिनमा सबैतिर घुम्न भने नसकिने रहेछ । क्यङजुमा रहेको विभिन्न संग्रहालय तथा अन्य ठाउँहरुमा घुम्न समय नभएकोले सक्कुलआमबाट फर्केर डाँडाबाट तल देखिने सुन्दर क्यङजु शहरलाई दुरबिनको सहाराले नजिकबाट नियालेर फर्कियौं क्यङजुको प्राचिन इतिहासलाई सम्झदै, अनि त्यहाँको प्राकृतिक दृश्यलाई आँखाभरी सजाउदै ।