यसकारण हेरियो ‘कालोपोथी’
नेपाल छाडेदेखि नेपाली चलचित्रसँगको पुरानो साइनो पनि करिव टुट्न लागिसकेको थियो । नेपालमा झण्डै एक दशक लामो रंग पत्रकारिता गर्दा प्रायः हलमा चल्न लागेको नयाँ चलचित्रको प्रिमियर शोमा पुगिन्थ्यो रिर्पोटिङको लागि ।
पाँचवर्ष अघि कोरिया आएसँगै कहिलेकाँही युट्युवमा राखिएको चलचित्र बाहेक हलमा गएर नेपाली चलचित्र हेरेको थिइन । त्यसो त कोरियामा पछिल्लो समय नेपाली चलचित्र प्रदर्शन गर्ने क्रम बढ्न थालेको छ । तर मलाई भने व्यस्तता र विभिन्न कारणले नेपाली चलचित्र हेर्ने मौका मिलेको थिएन ।
‘कोलो पोथी’ प्रदर्शन हुनु अघिदेखिको चर्चा परिचर्चा र समिक्षाहरु विभिन्न अनलाइन मिडियाहरुमा पढ्दै आएकी थिएँ । चलचित्रको शिर्षक ‘कालो पोथी’ नामले नै मनमा एक किसिमको कौतुहलता जगाइरहेको थियो ।
म बसेको ठाउँ छाङवन शहरबाट किम्हे करिब ४५ मिनेटको फरकमा पर्छ । त्यसैले केही दिदीबहिनीहरुसँग लागियो किम्हेको कल्चर सेन्टर जहाँ कालो पोथी प्रदर्शन हुँदै थियो । चलचित्र प्रदर्शन हुने समय मध्यान्ह १२ बजे तोकिए पनि साँढे एकबजेतिर सुरु हुन्छ कि भनेर आयोजकबाट जानकारी पाएकोले त्यहि समयमै हामी पुग्यौं । तर हामी नेपालीहरु जहाँ गए पनि आफ्नो बानी र ब्यवहारलाई परिवर्तन गर्न नसक्ने रहेछौं । समयलाई चिन्न र बुझ्नै चाहन्नौ या सक्दैनौं । चलचित्र प्रदर्शन १२ बजे भनेर प्रचारप्रसार गरिएको थियो सुरु भयो तीन बजे । माइकमा आयोजकमध्येबाट माफी माग्दै भनिरहेका थिए, ‘बिचमा प्राविधिक कठिनाइ नहोस् भनेर हामीले डाउनलोड गर्दै छौं ।’
किम्हे माइग्रेन्ट खेलकुद समिति र परदेशी लाइफ डट कमको संयुक्त प्रस्तुतिमा आइतबार १५ हजारको टिकट काटेर कालो पोथी हेर्न आउने दर्शकको उल्लेख्य सहभागिता मान्नै पर्छ । गतवर्ष भेनिस अन्र्तराष्ट्रिय फिल्म फेस्टिभलमा क्रिटिक्स विधातर्फ उत्कृष्ट फिल्म घोषित भएपछि अन्र्तराष्ट्रिय स्तरमै चर्चा पाइसकेको चलचित्र हो ‘कालोपोथी’ । बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत छनोट भएको ‘कालोपोथी’ हेर्ने कौतुहलता जाग्नु स्वभाविकै हो ।
दशवर्षे द्धन्द्धकालमा ग्रामिण भेगका निमुखा जनताहरुले माओवादी र सेनाबाट जति सास्ती भोगे त्यसलाई पर्दामा देखाएर साध्य छैन । तर निर्देशक मिनबहादुर भामले द्धन्द्धकालमा मुगुका जनताले भोगेको सास्तीलाई चलचित्रमा उतारेर विश्वसासु ल्याउने प्रयास गरेका छन् ।
पछिल्लो समय नेपाली चलचित्रको भीडमा बेग्लै स्वाद पस्केको चलचित्र कालोपोथी वास्तवमा द्धन्द्ध र मित्रताको कथा बोकेको चलचित्र हो । माओवादी युद्धको पृष्ठभूमिमा दलित र उच्च जात र वर्गका दुई बालसखा प्रकाश(खड्गराज नेपाली) र किरण(शुक्रराज रोकाया)को कथालाई अगाडि बढाएको छ । तल्लो र माथिल्लो जातका भएपनि यी दुई बालकको मित्रतामा कुनै कमि छैन । गाउँमा जनयुद्धको प्रभाव परेसँगै दिदीले दिएको सेतो पोथी पालेर त्यसैको अण्डा बेचेर पढ्ने सपना बोकेका बालक प्रकाश र उनका साथी किरणको कथा हो यो ।
सेतो पोथीको नाम हो करिष्मा । राजेश हमाल र करिष्मा मानन्धरको चलचित्र ‘साथी’ले पारेको प्रंभावले पनि होला चलचित्रकी नायिकाको नाममा नै पोथीको नाम करिष्मा राखिदिएकी छिन् प्रकाशकी दिदीले । करिष्माले पारेको अण्डा बेचेर धेरै पढ्ने सपना देखेका प्रकाशको कुखुरा हराएपछि साथी किरणसहित कुखुराको खोजीमा निस्कदा भिडन्तको क्रस फायरमा पर्छन् ।
डेढ घण्टा लामो चलचित्रमा स्थानीय खस भाषाको प्रयोगले पनि चलचित्रलाई मौलिकता दिएको छ । चलचित्र सकेर बाहिरिने क्रममा कतिपयले भाषाको कारण चलचित्रको कथावस्तु बुझ्न नसकेको टिप्पणी गरिरहेका थिए । तर मलाई भने नेपालीमा सबटाइटल भएकोले त्यति फरक परेन । परम्परागत शैलीमा बनिरहेका नेपाली चलचित्र भन्दा भिन्न प्रस्तुति रहेको कालोपोथी प्रवासमा हेर्दा एकपटक आफ्नै गाउँघरमा पुगेको अनुभूति भयो ।