दक्षिण कोरियाको विकास इतिहास पनि यस्तै देखिन्छ । झ्वाट्ट हेर्दा सोल–बुसान राजमार्ग एउटा आयोजना जस्तो मात्रै हो भन्ने लाग्छ । तर यही ४ सय २८ किमीको सोल–बुसान सडक निर्माणपछि कोरियाले विकासमा ठूलो फड्को मार्यो । त्यो फाष्ट ट्रयाक बनाउने समय अर्थात् सन् १९६७ मा नेपाल र कोरियाको आर्थिक अवस्था उस्तै उस्तै थियो । शुरुमा उनीहरुले विश्व बैंकलाई आयोजनाका लागि बोलाए । बैंकले तिमीहरुका लागि यत्रो बाटो अनावश्यक हो भन्दै दुईतर्फबाट मोटर पास हुने तर दुई लेनभन्दा सानो सडक बनाउन सुझाव दिएको थियो ।
बैंकले सानो सडक बनाउने हो भने पनि विदेशबाटै निर्माण कम्पनी ल्याइदिने बताएको थियो । किनभने त्यस समयमा कोरियामा त्यो सडक बनाउनसक्ने क्षमता भएका निर्माण कम्पनीहरु नै थिएनन् । तर त्यस समयमा राष्ट्रपति पार्क चङहीले बैंकसँगको वार्तामा कति लेनका सडक बनाउने भनेर सुझाव नमागेको नभै आफ्नो सपना भएकाले चार लेनकै बनाउनु पर्नेमा जोड दिए । उनले केही वर्षभित्रै चार लेनको सडक पनि साँघुरो हुने बताएका थिए । उनले भविष्यमा कोरियाले राम्रो आर्थिक विकास गर्ने भन्दै त्यो मागलाई सम्बोधन गर्नेगरी सडक बनाउन जोड दिए । उनले कन्ट्रयाक्टर, इन्जिनियर र त्यसप्रकारका अन्य दक्ष जनशक्ति छैनन् भनेपनि यो आयोजना देशभित्र कै कम्पनीले बनाउनु पर्नेमा जोड दिए । उनले प्रष्टै शब्दमा तिमीहरु पैसा देऊ, तर त्यहाँ परामर्श दिने र निर्माणको कामको नेतृत्व भने कोरियालीले गर्नुपर्छ भनेका थिए । क्षमता कम भएपनि नेतृत्व कोरियालीले गर्नुपर्छ, बैंकले पठाएका प्राविधिकहरुले त्यो मातहत रहेर काम गर्नुपर्छ भनेर स्पष्ट शर्त राखे ।
बैंकका लागि राष्ट्रपति पार्कको यस्तो धारणा मूर्खता र पागलपन बाहेक केही थिएन । आफूसँग क्षमता पनि छैन भनेर स्वीकार गर्ने तर नेतृत्व पनि पाउनु पर्ने धारणा थियो । रणनीतिक रुपमा राष्ट्रपति पार्कले नराम्रो धारणा राखेका थिएनन् । बैंकले पैसा लगाउन अस्वीकार गर्यो । हिले हुन्डाइ मोटरका मालिक त्यस समयमा अमेरिकी सैनिक क्याम्पमा सानो ठेकेदारको रुपमा काम गर्थे । अनुभवको नाममा उनको कम्पनीसँग थाइल्यान्ड र कोरियामा केहि साना र मझौला पुल बनाएको मात्रै अनुभव रहेछ । राष्ट्रपति पार्कले उनलाई “काम गर्ने हो” भनेर सोधे । यी मालिक अलि ‘दबंग’ खालका थिए, आँट पनि गरे । अरु धेरैले हामीसँग क्षमता छैन भनेर राष्ट्रपति पार्कको प्रस्तावलाई पागलपन भन्दै पन्छिएका थिए । तर उनले ‘सरकारले सहयोग गरे काम गर्छु’ भने । राष्ट्रपति पार्कले हुन्डाइका नेतृत्वमा अरु निर्माण कम्पनीहरुको एउटा संरचना बनाए ।
देशभित्रको मात्रै प्रविधिक नपुगेपछि अमेरिका, अस्ट्रेलिया वा क्यानडातिर काम गर्ने कोरियालीहरुलाई पनि बोलाएर ल्याइयो । उनीहरुलाई काम गर्न सजिलो थिएन, गाह्रो थियो । सबैभन्दा समस्या विदेशी मुद्राको पर्यो । किनभने डोजर लगायतका उपकरण किन्नका लागि विदेशी मुद्रा आवश्यक थियो । कोरियालीहरुसँग पर्याप्त मात्रामा पैसा थिएन । त्यस समयमा अमेरिका र भियतनामबीच युद्ध भैरहेको थियो । शुरुमा अमेरिकाले कोरियालाई सेना पठाइदेऊ भन्दा मानेको थिएन तर पछि पठायो । किनभने कोरियालीहरुलाई सडक निर्माणका लागि विदेशी मुद्रा चाहिएको थियो । त्यसैले कोरियाहरुले आफ्नो रगतबाट साटेको भन्दै सोल–बुसान सडकलाई निकै सम्वेदनशील रुपमा लिने गरेका छन् । तर उनीहरुले सो आयोजना विश्व बैंकले भनेको भन्दा २० महिना नै अघि सकेका थिए ।
हाम्रो कुलेखानी निर्माणमा धेरै काम गर्ने शम्भु कन्सट्रक्सनले पनि सोही सडक निर्माणको क्रममा आफ्नो क्षमता बनाएको कम्पनी थियो । त्यो आयोजना सकिने बित्तिकै कोरियाली कन्सलट्यान्ट र कन्सट्रक्सन कम्पनीहरुले खाडीको देशहरुमा वर्षको दसौँ अर्ब अमेरिकी डलरको काम प्राप्त गर्न सफल भए । सोल–बुसान सडक मात्रै बनेन त्यसले कोरियालीहरुको राष्ट्रिय आत्मविश्वास, प्राविधिक क्षमता समेत त्यसले ह्वात्तै बढायो । त्यसले कोरियाली विकासमा गुणनात्मक प्रभाव पार्यो ।