समुद्र
हजुरबुबा बर्माको लाहुरे । हजुरआमा जहिले पनि बर्माको कुरा गरिराख्नुहुन्थ्यो । तर मैंले हजुरबुबालाई देख्न पाइन । आर्मी हुँदाको सानो पासपोर्ट साइजको फोटोलाई पछि बुबाले ठुलो बनाउनुभएको थियो । हजुरआमाले ठुलठुला समुद्रको कुरा गर्नुहुन्थ्यो । आँखाले हेरेर भ्याउन नसक्ने बिशाल समुद्र । खाना, बस्न, सुत्न र मनोरञ्जन गर्न सकिने अजंगको पानी जहाज । केटाकेटीपन न हो दन्ते कथा झैं लाग्थ्यो सुन्दा । पहाडमा सानातिना खोला नाला, तलाउ र पोखरी मात्र देखेको मलाई समुद्रको कुराले मनमा कौतुहलता जगाउथ्यो । कस्तो होला समुद्र अनि पानीमाथि मान्छे बोकेर हिड्न सक्ने जहाज कस्तो होला ? मेरो बालसुलभ ह्दयमा यहि प्रश्न जन्मिन्थ्यो घरीघरी ।
पहिलोपटक पोखरामा फेवाताल देख्दा हजुरआमाले कुरा गरेको समुद्रको याद आयो । सायद समुद्र यस्तै फराकिलो हुदो हो, एकमनले भन्यो तर यो त सानो छ त्यत्रो मान्छे बोक्ने जहाज हिडने समुद्र आकाश जस्तै फराकिलो होला । मनमा यस्तै तर्कनाहरु चल्न थाले । फेरी सम्झें, हजुरआमाले सातदिन सात रात पानी जहाजमा यात्रा गरेको । तर त्यो यात्रा कहाँदेखि कहाँसम्मको हो भन्ने चाही मेरो कलिलो दिमागले टिपेन वा हजुरआमाले भन्नुभएन याद छैन । जहाजभित्रै जेठी फुपु जन्मेकी थिइन् रे अनि तीनदिनको दिन त्यहि मरिन् पनि रे । लास जहाजकै मान्छेले लगेर समुद्रमा फालिदियो रे । हजुरआमाले त्यो घटना आफुले भोगेको नभई अरुबाट सुने झैं गरी हामीलाई सुनाउनुहुन्थ्यो ।
पछि टाइटानिक नामको पानी जहाज डुबेको कथावस्तुमा बनेको अंग्रेजी फिल्म हलमै गएर हेरें । पर्दामै भएपनि समुद्र र जहाज हेरेर बाल्यकालको कौतुहलता थोरै भएपनि मेटियो । तर समुद्रलाई नजिकबाट छुने र जहाजमा पाइला हाल्ने रहर भने झन बढ्न थाल्यो । एकपटक स्वीटजरल्याण्ड जाने मौका मिल्यो तीन हप्ताको लागि । भूगोलमा कम रुचि राख्ने मलाई विदेशमा त समुद्रैसमुद्र होलान् सोच्थें । तर जेनेभा लेक(ताल) हेरे बाहेक समुद्र नै देखिन । स्कटल्याण्डको साथीसँग समुद्र हेर्न नपाएको गुनासो पोख्दै इमेल पठाएँ । उसले प्रतिउत्तरमा लेख्यो, युरोपमा समुद्र नै छैन कसरी देख्छौ त ? मेरो फुर्ति छिनभरमै सेलायो । मन खिन्न पार्दै लाजले शिर निहुराएँ ।
सन् १९५२ मा लैनसिंह बाङदेलले युरोप अध्ययन गर्न भारतको कलकत्ताबाट पानीजहाजमा ४० दिनको सामुन्द्रिक यात्रा गरेर लन्डन पुगेको प्रसंगलाई परिमार्जित संस्करण ‘मुलुक बाहिर म’ कृतिमा समेटिएको छ । त्यो बेला अहिले जस्तो सिधा हवाइमार्गको सुविधा थिएन । म कृति पढ्दा झन रोमान्चित भएकी थिएँ । बाङदेलसँगै पानीजहाजको एउटा कुनामा बसेर समुद्रको सयर गरिरहेको थिएँ । त्यस्तै फिल्ममा देखिने ठुलठुला पानीजहाजको दृश्यले पनि मनमा समुद्र हेर्ने अनि पानी जहाजको यात्रा गर्ने रहर बढिरहेको थियो ।
संयोजले मध्ये गर्मी सकिन लागेकै बेला कोरिया आएँ । त्यसैले कोरियाको पहिलो घुमफिर नै समुद्रतिर भयो । कोरियामा यति धेरै समुद्र देख्न पाइन्छ भन्ने थाहा थिएन । कोरियाको बुसान, मासान र कजेदोको समुद्रहरु घुमियो । ससाना टापूसम्म हेरियो । म पहिलो पटक समुद्रको नजिक पुग्दा खुशीले रमाएकी थिएँ । निलो समुद्रमा उठेको सेतो छालहरुसँग लहरिदा आफैंलाई भुलेकी थिएँ । लैनसिंह बाङदेल र हजुरआमाले जस्तो जहाजमा बसेर लामो यात्रा गर्न नपाए पनि जेजुदोमा छोटो दुरीको पानीजहाज यात्रा गरेर मनमा उर्लिएको रहरलाई थोरै भएपनि मेट्न पाएँ ।
तीनतिर समुद्रले घेरिएको दक्षिण कोरियामा गर्मी मौसममा समुद्र घुम्न जाने स्वदेशी तथा विदेशी पर्यटकको घुँइचो लाग्छ । समुद्र किनारामा टेन्ट टाँगेर बस्नेहरु पनि त्यत्तिकै मात्रामा भेटिन्छन् । त्यस्तै मिनबाक, होटल, मोटेल र फेन्सन व्यवसायीहरुको व्यापार पनि ह्वात्तै बढने गर्छ । ‘यहि तीन महिना त हो पैसा कमाउने अरु महिना त मान्छे नै आउदैनन् । अरु नै काम गर्नुपर्छ,’ केही समय अघि कजेदोको समुद्र नजिकै मिनबाक सञ्चालन गरेर बसेका एक व्यवसायी भन्दैथिए ।
गर्मी बढेसँगै सुन्दर समुद्रको यात्रामा निस्केर समुद्रको चिसो पानीमा पौडिदाको आनन्द अरु के होला र ? अझ साँझपख र्सिरर बहने चिसो हावाको झोकासँगै टाढासम्म देखिने समुद्रको मनमोहक दृश्यले कसको मन नरमाउला र ? त्यस्तै बिहानीको सुर्योदय र बेलुकी सुर्योस्तको समयमा समुद्रमाथि टल्किने घामको किरणसँग रम्दै अनि बेगबेगले उर्लिरहेको छालहरुलाई हेर्दै राजेश पायल राईसँगै गुन्गुनाउन मन लाग्छ,,
‘छालहरु ओ छालहरु
आएर मलाई भिजाएर जाऊ
म किनारमा उभिएको छु…।’