मुग्लानमा,
पैसा फल्छ सोच्नेहरू
सजिलै तलब खाईन्छ सोच्नेहरू
परदेश नआए नि हुन्छ
यहाँ त
महिनाभरि
मालिकको गाली खाएर
बल्ल- बल्ल
महिनामा एकदिन तलब खानुपर्छ
बाबाको वचनलाई
सहन नसक्नेहरू
आमाको गालीलाई
गाली सम्झिनेहरू
परदेश नआए नि हुन्छ
यहाँ त
मालिकको गालीलाई
आशिर्वाद सम्झनु पर्छ
घरमा
दिदीले पस्काई दिएकी
गुन्द्रुक र आलुको तरकारी
मीठो भएन भन्दै
खादै खान्न भन्दै
आलु बारीमै लगी पोखाईदिने भाई
परदेश नआए नि हुन्छ
यहाँ त
पाखुरा बजारेर
पसिना उमालेर खानुपर्छ
काम गर्न लाज मान्नेहरू
काम गर्नेलाई सानो ठान्नेहरू
गरिब सम्झिनेहरू
प………..रको देश
परदेश नआए नि हुन्छ
यहाँ त
कामलाई भगवान ठान्नुपर्छ
र आफूले
आफैलाई बिर्सेर कामलाई सम्झनुपर्छ
हाल- द.कोरिया