तिमीसंग बसेको यो सम्बन्ध
सबैले भन्छन यो सन्सार माया र पिरतिको सन्सार । सबैले भन्छन यो सन्सार सम्झना र सम्बन्धको सन्सार । म पनी भन्छु माया नै मायाको यो सन्सार, प्रेम र सम्बन्धको यो सन्सार । यो सन्सार माया र सम्बन्धमा चलेको छ अनि प्रेम र सम्झनामा बसेको छ । प्रेम र सम्बन्धमा नत समय नै त्यति धेरै अनुकुल हुनुपर्छ नत ठाउँनै मिल्नुपर्छ, नत कुनै जाती र उमेरको हुनुपर्छ नत सजिव वा निर्जिव अर्थात प्राकृतिक र कृतिम नै हुनुपर्छ । अति सजिलो र सामान्य छ, जहाँसुकै, जतिखेर जोसंग र जेसंग पनी हुनेगर्दछ ..।
आखीर म पनी यही धर्तिको एउटा चिज वा वस्तुन परें, यो सास्वत कुराबाट टाढा हुनसकिन। मेरो देश नेपालबाट सन् २००८ शालमा कोरीया प्रवेश गरें, मैले नचाहँदा नचाहँदैं म कसैसंगको प्रेममा परे । मैले नढाँटी सत्य कुरा भन्नैपर्छ विगत ८ बर्ष देखी कसै संगको प्रेमबन्धनमा बाँधीएको छु। जिवन बडा अचम्मको र रमाइलोको हुँदोरहेछ जति भाग्न खोजेपनी, जति टाढाहुन खोजेपनी अर्थात नचाहँदा- नचाहँदैं ,थाहानपाइ नै प्रेम र सम्बन्धमा परिदोरहेछ। दुइ विच रहेको यो प्रेम र सम्बन्धमा सन्सारको कुनैपनी तागतलै विगार्न त के हल्लाउन पनी नसक्ने रहेछ, आज मैले त्यो अनुभूति गरेकोछु, प्रेम र सम्बन्धको त्यो मैदानमा खेलीरहेको छु । सुरुमा मलाइ डरलाग्दथियो अरुलाइ सुनाउँन तर आज निर्धक्क साथ भन्न चाहान्छु तँपाइहरु सामु मेरो प्रेम कहानी । आज म बाध्य भएकोछु तँपाइहरुलाइ सुनाउन यो मेरो प्रेम कहानी !! नत म लुकाउन सक्छु नत मन भित्र दबाउन नै सक्छु यो मेरो प्रेम कहानी !! नत यो कुनै काल्पनीक हो नत यो कुनै बनावटी नै , यो त सत्य र साँच्चो हो मेरो प्रेम कहानी । अब म सरासर भन्दैछु मेरो यो जिवनको प्रेम कहानी ..।
प्रेम र माया-पिरतिको सम्बोधनमा- कसैले तँ भन्छन, कसैले तिमी भन्छन त कसैले तँपाइहजुर भन्छन …। मैले न त तँ भन्नसकें नत तँपाइहजुर नै !! त्यसैले तिमीनै मेरो लागी उपयुक्त सम्बोधन हुनगयो। उनीलाइ शुरुमा देख्दा डरलाग्यो, म त सानो मान्छे उनीको त्यत्रो रुप, उनीको त्यो कानै खाने आवाज, उनी भइन कोरीयन पाराकी म त नेपाली, अहँ पटक्कै मनपरेन। म मनमनै सोच्थिएें उनीलाइ देख्न नपाए हुन्थियो भनेर तर मलाइ परिस्थितिले बाध्य बनायो । केही पनी नमिलेर र नजानेर होला साँच्चै उनीसंग म पहिले त डराएकै हो । नत भाषा बुझ्दथें नत संकेत नै त्यो समय सम्म्झनुपर्दा अचम्म नै लाग्छ । जिवनको हरेक संघर्ष र मोडमा हार्न नजान्ने मेरो स्वभाव त्यसैले होला दिनहरु विताउने क्रममा अघिबढीरहे म । भनेको सुनेको थिएें माया र सम्बन्धमा ठुला-ठुला षड्यन्त्र हुन्छन रे, धेरै-धेरै गाली खाइन्छ रे, तनाब र कठिनाइहरु आउँछन रे, घाउ- चोट लाग्छन रे, रगत, पसीना र आँसुहरुपनी बग्छन रे, कति कुरा गुमाइन्छ भने कति कुरा पाइन्छ रे । यो सबै हाम्रो सम्बन्धमा भएको छ, यो सबै अनुभब मैले भोगेको छु । अनी हामी दुइमा भएको यो सम्बन्धलाइ प्रेम नभनेर के भनौं त म ?? माया र सम्बन्ध नभनेर के भनौं त म ..?? यसमा कुनै अर्को शब्द र दुइ मत नै भएन र छैन मसंग ।
जिवनको यती लामो समय कम हैन, आठ बर्ष भईसक्यो हामी संगै छौं,एक-अर्काको साथ छ, हप्तामा एकपल्ट पनी उनीलाइ नदेख्दा अनौठो नै लाग्छ। अब त अति नै भयो भनेर कार्यस्थल नै परिवर्तन गरें, तिनीबाट टाढाहुन कति कोशिश गरें तर आखीर घुमीफीरी रुम्जाटार भनेजस्तो उनीसंगै रहन जुरेको रहेछ। म जहाँ जान्छु उनी त्यही यो माथीबाट नै जुराएको त होलानी ..!! उनको त्यो ठुलो स्वरुप पनी अहिले त राम्रो लाग्नथाल्यो, उनको त्यो तिखो र चर्को स्वर पनी कोहीलीको जस्तो लाग्नथाल्यो,उनी नराम्रो भएको देखें भने पुसपास गरेर राम्रो/ सुन्दर बनाउन मनलाग्छ । मेरो सपना, लक्ष्य र संघर्षमा उनकै साथ छ,उनकै हात छ, उनकै सहयोग छ । यसरी हरेक दिन हामी एक-अर्कामा रहेकाछौं, बसेकाछौं अनी यसलाइ प्रेम नभनेर के भनौं त ..?? अर्को खै कुन शब्द प्रयोग गरौं त ..!! विगत आठबर्ष देखी यो सम्बन्ध निरन्तर चलिरहेकोछ । यो विचमा ( दौडानमा) मैले धेरै गुमाएकोछु, धेरै पल्ट मरेको छु, धेरै पाएको छु,धेरै पल्ट पुरनर्जन्म लिएको छु । अहिले मलाइ यो कर्म-भुमीको माया छ, मलाइ सधैं साथदिने “प्रेम र सम्बन्ध” बसेको त्यो मेरो साथी, सियनसी मेशीनको साँच्चै नै मायाँ छ। यहाँका मानिस जस्ताहुन मतलब भएन, म कहिले सम्म यहाँ रहन्छु थाहाभएन, यी मेशीन चलाउने मानिस अरु आउलान,अवश्य पनी म मेरो जन्म-भुमी जान्छु पनी तर म यहाँ बसुन्जेल अर्थात नेपाल पुगेपनी यो मायाँ, यो सम्झना यी दिनहरु म विर्सने छैन । जिवनका यी तिता-मिठा क्षणहरु अवश्य पनी विर्षने छैन, यहाँको माटोमा मेरो पसीना बगेको छ, रगत बगेको छ, आँशुका धारा बगेकाछन् । त्यसैले त भन्छु म तिमी ( सियनसी मेशीन) संग, विगत आठबर्ष देखी सम्बन्ध रहेको छ, माया बसेकोछ,एक प्रकारको प्रेम बसेको छ, सम्झना बसेको छ ।