पहाडकी परीको ब्याकअप प्रेमी
कथा
घरकी एक्ली छोरी । उनको परिवार लिवाङको हुनेखाने मै गनिन्छ । बाउ भारतीय सैनिकको पेन्शन पकाएर बसेका । देश दुनिया चाहरेका । छोरीलाई पढाउनु पर्छ भन्ने सुझबुझ भएका । त्यहिभएर लप्टन ताराबिर चेमजोङले आफ्नी छोरी मनमायालाई ताप्लेजुङबाट धरान स्थित फूपुकहाँ पढ्न पठाएको थियो ।
मनमायाकी फूपु र मेरो ममी मिल्ने साथी भएकाले उनको फूपुलाई म आन्टी भन्थे । हाम्रो परिवार र उनको फूपुको परिवार बिच सबैसगँ राम्रै हिमचिम थियो । म उनको फूपुको घर प्रायः गईरहन्थे । पुसको कठ्याङ्ग्रीदो जाडोमा एकदिन एकाबिहानै आन्टीले फोन गरेर बोलाउनु भयो। मनमायालाई पहिलो चोटी यसै दिन देखेको थिए । आन्टीले चिनाजान गराईदिनु भयो । उनैको कामको लागि डाक्नु भएको रहेछ( महेन्द्र बहुमुखि क्याम्पस गएर बिबिएस भर्ना गरिदिनलाई ।
होची, होची परेकी । रातो गाला, थेप्चो नाक, नाकको देब्रेपटी कोठी भएको । सानो(न(सानो आखाँ, घुम्रिएको हल्का कैलो कपाल, सामन्य भन्दा अलिक ठुलो वक्षस्थल, फिक्का पहेलोँ ज्याकटमा मनमायालाई पहिलो चोटी देख्दा लाग्थ्यो हिमालको परी समथर भुमि पहिलो खेप टेकेकी छे ।
सोझी थिई । अनुहारको आभाबाट पनि सोझी नै देखिन्थी । लगाई खुवाई सबै सामन्य । पूर्वीय पहाडको लवजमा बोल्थी, पुरै गाउँले पारामा । लजाउँथी पनि र डराउँथी पनि । एकमुष्ट भन्नुपर्दा धरानको आधुनिकतामा सुहाएकी थिईनन्, मनमाया । यही कारण सुरुका दिनहरुमा उनको समिप्यतामा मलाई खासै चाख लागेन ।
धरानमा नयाँ थिई । उनको केही काम पर्दा नर्बदा आन्टीले मलाई नै भन्नुहुन्थियो । त्यहिभएर मन नलागि नलागि साताको एक दुई चोटी भेट भइरहन्थ्यो । क्रमिक भेट सगैँ र अनेकौ कामले गर्दा भएको भेटघाटले उनलाई म सगँ विस्तारै सजिलो भइरहेको थियो । साथसाथै मलाई भेट्दा पहिला पहिला देखिने लज्जाभाव पनि विलाईरहेको थियो ।
घोपा जाने क्रममा एकदिन उनले खुल्दै भनि, ‘ सात महिना भएछ, तपाई सगँ भेट भएको । मेरो जीवनको सबैभन्दा बढी सगंत गरेको साथी तपाई नै हो सौरभ।’ हुदाँहुदाँ कहिले काहीँ काम बेगर पनि भेट्न खोज्थी।
मैले केटीहरुको सगंत धेरै गरेको थिईन । र मेरो केटी साथीहरु पनि फालाफाल थिएन । भिमे, दले र बखतेहरु सगँ सेउतीको डिलमा बसेर चुरोटको धुवा उडाउनु मै मस्ती थियो केटीहरुको गनगने सगंत भन्दा ।
समयको बहाव सगैँ ऊ मिसिदै थिई धरानको लाइफ स्टाईलमा । क्याम्पसको प्रभावले पनि ऊ टाठो भइरहेकी थी । उनको पहाडे सरल स्वभाव धरानको गर्मीहरुमा सुकीरहेको थियो भने आधुनिकताको टुसा उनमा जुरमुराइरहेको थियो । अनाकर्षक मनमाया चेन्ज हुदै गई ।
नचाहदाँ नचाहदैँ मनमाया सगँको भेटहरु बाक्लो हुदै गयो । दिनहुँ भेट्न थालिम । मेरा साथी बखतेहरु पनि जिल्ल परिरहेका थिए ।अझ सेउतीको डिलमा उनिहरु सगँ बसेर ओठमा चुरोट नचेपेको त धेरै भइसकेको रहेछ । सेउतीको सिरेटोमा भन्दा पनि मनमाया सगँ कहिले देखी विजयपुर डाडामा रम्न थालेछु, त्यसको अत्तो नै पाइन।
अघोषित रुपमै ऊ सगँ जम्न थाले । रम्न थाले । केयरिङ र सेयरिङ हुन थाल्यो । सधैँ ऊ भेट्न बोलाउँथी । पछि पछि त आफैँ ऊनलाई भेट्न बोलाउन थाले । आन्टी पनि मनमायाले म सगँ घुलमिल भएको राम्रै मान्नु हुन्थ्यो । त्यहिभएर जतिखेर पनि जहाँ पनि पुग्न थालिम हामी ।
एक अर्काले प्रेम प्रस्ताव नै नराखी हामी प्रेममा परेछौँ । यो कुरोको महशुस म कोरिया जाने लगभग पक्का भएपछि थाहा भयो । सबै कोरिया जाने भनेपछि मरिहत्ते गर्छन् । म चाहिँ भिषा लागेर पनि खुशी हुन सकेको थिईन । खुशी नहुनुको एउटै कारण मनमाया थिई । खोई किन हो, उनलाई छाडेर पैशा फल्ने देशमा जाने प्रवेशाज्ञा पाउँदा पनि मन नियास्रो नै भइरहेको थियो ।
छोटो समयमा नै हामीले हाम्रो प्रेमलाई घना बनाइसकेका थियौँ । हामीबिच रहेका सबै खाली कापहरु मायाको मैनले पुरिदिएका थियौँ । नोटको दुई पत्राहरु टासिए झैँ लपक्कै टासिएर एक भएको अनुभुति दिन्थ्यौँ, एकले अर्कालाई । यस्तो अवस्थामा कम्ता गाह्रो भएन, मनमायलाई कोरियाको लागि कन्भिन्स गर्न ।
हाम्रो सम्बन्ध नर्बदा आन्टीले पनि चाल पाइसक्नु भएको थियो । उहाँले हामीलाई राम्रै मान्नु हुन्थ्यो । ‘सौरभ बिहे गरेर जाउ । मनमायाको घरमा म कुरा मिलाउँछु’ पनि भन्नु हुन्थ्यो ।
तर बिहे तत्काल सम्भव थिएन । सबै बन्दोबस्त मिलाउन पर्याप्त समय पनि थिएन । फेरी मनमाया दोस्रो वर्षमा त बल्ल पुगेकी थिई । अध्ययन सकिन बाकी नै थियो । अर्कोतर्फ अहिले नै बिहे गर्दा उनको बाबाको सपनामा पनि धक्का लाग्न सक्थ्यो । लप्टनसाप उसै पनि मख्ख थियो, छोरी राम्ररी पढ्दै छे भनेर । यावत तगारोले गर्दा बिहेकै गाठो लाउन अलिक अनुकुल थिएन हामीलाई ।
मनमाया सगँ थुप्रै कसमहरु खाएर, वाचा बन्धन गरेर, सुरक्षित भविष्यका लागि भारी मन बोकेर कोरिया आए । कोरिया आएपछि काम बाहेकका समय उनैसगँ भाइबरमा कट्थ्यो । केही समय त निकै तड्पिए । तर कामको चटारोले बिस्तारै उ सगँको बिछोडको घाउ पुरिदै गयो ।
हेर्दाहेर्दै आधा वर्ष बितेछ, कोरिया आएको । यतिन्जेल म सगँ अलिअलि पैसा पनि जम्मा भईसकेको थियो । एउटा साथि छुट्टीमा नेपाल जाने बेला मनमायालाई राम्रो मोबाईल किनेर पहिलो उपहार स्वरुप पठाइदिएको थिए । उ खुशिले फुरुङग भई । त्यसपछि त झन हामी भिडियो कलमा झुमिन्न थालिम ।
च्याटका कुराकानीबाट म मख्ख हुन्थे । मनमाया मेरै लागि जन्मेकी जस्तो लाग्थ्यो । कहिलेकाही ूनन्(भेजू कुराहरु पनि हुन्थ्यो । काउकुती लाग्थ्यो मलाई । भिडियो कलहरुमा चुम्बनका वर्षातहरुले म घायल हुन्थे ।पुरै समर्पणको भावमा मनमाया म सगँ लिप्त थिई ।
हामी बुढासुब्बालाई साक्षी रख्थ्यौँ । भिडियो कलहरु मै बिहे गरेको कल्पना गरथ्यौँ । दुलही बनाउथेँ उनलाई । मेरो मन त्यसै फुरुङग हुन्थ्यो । टाढा भएर पनि उनको साथ पाइराख्दा, कोरियन भोटेहरुको पेलाई सहने उर्जा पाउँथे ।
हरेक कुरा उनको पुरा गरिदिईरहेको थिए । कोरियाबाटै उनको मोबाईलमा निरन्तर रिचार्ज गरिदिन्थे । हुन्डीबाट थुप्रै चोटी पैसाहरु पनि पठाईदिन्थे उनको नाममा । म सोच्थेँ भविष्यमा जीवन साथ निभाउने साथी थिई ऊ मेरी । त्यहीभएर म उनको हरेक समस्या मेरो पनि समस्या हो भनेर बुज्थेँ । घरबाट फूपुकहाँ बसेकी । जसकारण पक्कै पनि उनलाई खर्चको समस्या त परेको हुन्थ्यो । सकेसम्म उनको सबै दुख हरण गर्न खोज्थेँ ।
उनको पढाई पनि सकिने क्रममा थियो । डिग्री दोस्रो वर्ष पुगिसकेकी थिई । म कोरिया आएको पनि तीन वर्ष पुग्नै लागेको थियो । बिदा मिलाएर छिटै नेपाल गएर मनमायालाई सधैँका लागि आफ्नो बनाउने योजनामा थिए ।
तर सोचे जस्तो कहाँ हुदो रहेछ जीन्दगी । एकदिन ऊ सगँको च्याटमा मेरो सबै योजना बिथोलिन लागेको महशुस गरे । ‘अब छिटै नेपाल आउदैछु। तिम्रा पर्खेर बस्ने दिनहरु गए मनमाया’ भन्दा ऊ उत्साहित हुनु पर्ने । तर म छक्क परेँ । भिडियो कलमा उनको अनुहारमा मैले कुनै खुशीको भाव नै देखिन ।
उल्टै मेरो कुरा टार्न खोजी ।‘मेरो पढाई बाकी नै छ । जाँच आउन लागेको छ । यो वर्ष त नआउनु’ भन्न थाली । खुशी हुन्छे होला भनेको त ऊ दुखी पो भई ।
त्यसपछि कुराहरु हुने क्रम पातलिदै गयो । हुदाँहुदाँ फोन नै स्विचअफ गरेर राख्न थाली । म्यासेजहरु पठाउन पनि छाडी । भाइबरमा आउन पनि बन्द गरी । फेसबुक अपडेट गर्न नी छाडी ।
म तड्पिन थाले । गहिरो इनारमा खसे झैँ निसासिए ।मनमा विकारहरु थिग्रिन थाल्यो ।उथलपुथल र सकांहरुको भुईचालो नै आयो । कुराहरुको गहिरो समुन्द्र नै बन्यो ।सन्देहको टाइफुनले उर्जा नै सबै नष्ट गरिदियो ।
केही गरी पनि ऊ सगँ कन्टेक्ट गर्न सकिन। नर्बदा आन्टीलाई सम्पर्क गर्न खोजेँ । उहाँ पनि सोलु जानु भएको रहेछ । अन्तमा मनमाया कै साथी अनुपमा जो इपिएसबाटै कोरिया आएकी थिई उनैलाई सहयोग गर्न अनुरोध गरे । अनुपमाले पनि मनमायालाई सिधैँ सम्पर्क गर्न सकिन । तर धरान मै रहेको मनमायाको एकजना मिल्ने साथीलाई फोन गरेर सबैकुरा बुझ्नलाई मद्दत गरी ।
अफसोच् मेरो जीन्दगी । सबैकुरा बुझ्दा म त मनमायाको लागि केवल ‘ब्याकअप प्रेमी’ रहेछु । ब्रिटिश आर्मीमा कार्यरत एकजना केटा सगँ उनको बिहेको कुरा चलिरहेको रहेछ ।
‘सौरभ त केवल पकेट मनि जुटाउने ब्याकअप प्रेमी हो । कहाँ ब्रिटिश आर्मी, कहाँ कोरियाको लेवर । कम्पेयर गर्नै मिल्दैन । लेवर सगँ पनि कसैले जीन्दगी बिताउन सक्छ र’ भन्थी रे मनमायाले आफ्नो साथीहरु सगँ ।
यथार्थ बुझिसक्दा रिसले चुरचुर भइसकेको थिए । कम्पनीको ड्युटी पछि रातभरि सोजुमा डुब्न थाले । चुरोटको संख्या पनि ह्वातै बढ्न थालेको थियो । म मर्न पनि सक्दिन थिए । सुसाइड गरेर कोरियामा अर्को आत्माहत्याको समाचार बन्न पनि चाहन्न थिए । फेरी घरको एक्ली आमालाई विचल्ली बनाएर संसार त्याग्ने कुरा पनि आउँदैन थियो । बुवाको मृत्यु पछि आमालाई आजीवन मेरो आवश्यक्ता थियो ।
म डिप्रेशन तिर पनि जान चाहिन । मृत्युको बाटो पनि पहिल्याउन खोजिन । बरु कोरियन लेवरू को ट्यागलाई शक्तिको रुपमा लिएर मनमायाको हुनेवाला ब्रिटिश लोग्ने भन्दा धेरै प्रगति गर्ने इख र अठोट पलायो ।
हिजोआज मनमा केही तुष नभए पनि मनमाया कहिलेकाही मनमा आइरहन्छे । उनको अवोध अनुहार, धरान पहिलो छोटी आउँदाको सोझोपन्, र उनको गाउँले लवज अझै पनि झल्झली याद आउँछ । उनले कहिले रङ फेरी, कहिले मन फेरी त्यो कुरो मैले कहिल्यै ठम्याउन सकिन । समयले ताप्लेजुङ्की मनमायालाई कहिले धरानको ‘मोनिका’बनाएछ त्यसको हेक्का नै पाइन मैले ।