गाउँ
तप्प तप्प पसिना चुहियो । गर्मी कति हो ? जति पंखा घुमाए पनि हुँदैन । हावा नै तातो आउँछ । कि एसी भाको कोठा खाजौ ! भैगयो । पैसा धेरै लाग्छ । विहान देखि फ्रिजले पनि काम गरेको छैन ।
घर शैलुङ हो । नाउँ सुनेरै सितल हुने । क्या त ‘माथि माथि शैलुङेमा चौरी डुलाउने’लाई । कुन्ती मोक्तानको स्वरको गीतले भनेको ठाउँ । पारी गौरीशंकर हिमाल छ । आगनको डिलमा भएको नासपातीको रुखमै जोडिए जस्तो । अगेनामा आगो तापेर झ्यालबाट यसो हेर्दा लाग्छ सिधा पुल भए आधा घन्टामा पुगिदो हो । यर्थाथमा त्यस्तो पुल छैन ।
हाम्रो तिरको ठूलो बजार तामोकोशी पुग्न सिधै ओरालो झनु पर्छ । बाँदर लड्ने साँवतेको भिर कट्नु पर्छ । ओरालो यस्तो छ पाइला रोकिर रोकिदैन । ओरालोमा गुडेको ढुङ्गा झै । हुत्तिएर तलै जाने ।
त्यही बाटो भएर नुन ल्याउनु पर्छ । नुन अरु सामान भन्दा दोब्बर गरुङ्गो । तामाकोशी बजार घरका बलिया दिदीदाइ मात्रै जान्छन् । कक्षामा पढ्ने बजार पुगेर आका साथीहरु भन्छन् मिठो जेरी मिठाई छ । थरि थरिका माछा खान पाइन्छ । कोक, फ्यान्टा पिउन पाइन्छ । सबै नयाँ कुरा छ । अरु त अरु गाडी गुड्ने पुल पनि नयाँ छ । मैले माछा पनि खाछैन । हाम्रो तिर हुँदै हुदैन । जेरी पनि किताब तिरै पढेको मात्रै हो । कोक, फ्यान्टा त देखेको पनि छैन । यी मुले कक्षाका केटाहरुले खाएर आए । खाको कुरा पनि धाक लाउँछन् । म मुख मिठ्याउँछु । तिनका कुरा सुन्छु । जे आइलाग्ला म पनि तामाकोशी हानिने भएँ । जे पाइन्छ त्यो खान्छु । पिउँछु । हेर्छु ।
स्कुल विदाको दिन थियो । काकी विहानै कतै जान तयार भई । भित्री मनले तामाकोशी पो हो कि भन्ने भो ।
काँ जाने ?
कहि होइन ।
तयार हुनु भाछ त ?
तँलाई के मतलब ।
बजार हो ?
अँ ।
काँ जाने ?
नुन लिन ।
तामाकोशी ।
हो ।
म पनि जाने ।
काँ ?
तामाकोशी ।
किन ?
बोक्न ।
सक्दैनस ।
सक्छु ।
विहान विहान दिन खराब नगर न ।
जान्छु ।
बोक्लास ।
बोक्छु ।
तँलाई त साँवतेको उकालोमा कसले बोक्ने हुन्छ भरे ।
हुँदैन ।
काकीले मरे नलाने भइ । अब सोर्स लाउनु पर्यो । आमा खोज्दै गोठमा दौडिएँ ।
के भयो रुन्चे अनुहार लाको ।
म पनि काकीसँग तामाकोशी जाने ।
हुदैन । सक्दैनस ।
सक्छु । मैले घाँसको भारी बोकेको छैन र ?
बल्ल बल्ल कुरा मिल्यो । काकीसँग तामाकोशी जाने भइयो । एउटा पुरानो नाम्लो र सानो धोक्रो बोकेर ओरालो झरियो । काकी अघि अघि म पछि पछि । जति झर्यो त्यति गर्मी छ । झन तल गयो झन उदेक लाग्दो ठाउँ छ । काकीले भनेको साँवते यही होला । अलि अग्लो भिर आए पछि मैले अनुमान गरेँ । यति जाबो एक कान्लाको त रैछ । कटि हाल्छु नी ।
दुई घन्टा जति झरे पछि यामानको भिर आयो । भिरको डिलैडिल बाटो छ । देख्दै डर लाग्दो । अघि देखि ओरालो हिडेर थाकेको मेरो नौनारी गल्यो । भन्नु भएन । आफ्नै रहरले हिडेको मान्छे । बल्ल भिर कट्यो ।
‘चरङे खोला’ । काकीको रिस मर्यो क्यारे । ‘हाम्रा तिरका छेत्री बाउन यतै ल्याउने हो ।’ मरेको मान्छेलाई पनि यति टाढा । म छक्क परेँ ।
खोला माथि लामो पुल छ । लामो लामो दुईटा तारमा अल्झाएर बनाएको । मान्छे हिड्दा पुरै हल्लिन्छ । हिड्ने ठाउँमा सानो सानो फल्याक बिछ्याएको छ । खोला कत्रो हो । खोला कराएर बोलेको केही सुनिन्न । काकी बानी परेको मान्छे । सुइसुइ हिडिन् । उताबाट पनि त्यही बेला एक हुल मान्छे आए । पुल हल्लियो । दुई पाइला चढेको थिएँ होला । पाइला टेक्ने ठाउँमा ठूलो प्वाल छ । आँखा त प्वालबाट तल बगेको चरङेमा पो परेछ । एउटा ठूलो मुडो बगाउँदैछ । लौ मरिनो भो । यत्रो मुडो बगाउने खोलाले म जाबोलाई के नबगाउनु ? पहिले पहिले पनि सुनेकै हो खोलाले मान्छे बगाको । जिन्दगी यति रैछ । असति कक्षाका साथी भनौदाहरुले यस्तो डरलाग्दो पुलका कुरा कहिल्यै गरेनन् । नयाँ पुल हेर्न आको पुरानै पुलले विताउँने भो ।
म पछाडी फर्किएँ । मान्छे आका छन् गाका छन् । म पुलको छेउमा भएको लामो फलामको लठ्ठा समाएर बसेको छु । काकी त पारी पुगेर पनि फर्किछन् ।
के भो ?
पुलमा प्वाल छ ।
के भो त ?
खसिदैन ।
दुनिया खसेको छैन । तँ कसरी खस्छस त ?
हिड् ।
सक्दिन ।
काकीले पुलमा हिडाउन खोज्ने । म रुन्चे स्वरले सक्दिन भनेको भनेकै । काकीको केही जोर चलेन । काकीले मलाई ढाडमा बोकिन । विहानसम्म नुन बोक्छु भन्ने मान्छेलाई बोकेर हिड्नु परेको छ । लाज लागेको छ । त्यो भन्दा बढि डर लागेको छ ।
झोलुङे पुल तरेपछि पुगियो तामाकोशी बजार । गर्मी छ । ठूला ठूला स्वरमा गीत बजेका छन् । अग्लो रंगीन घरहरु छन् । जेरीको पसल पनि देखियो । कितावकै जस्ता छन् । कोक चाही कता होला ?
जेरी खाइयो । क्या गुलियो । अरेन्ज बल गुलियो भनेको त जेरी पो रैछ । माछा पकाउँदै गरेको पसल गइयो । माछा खाँदा होस पुर्याउनु । यसले चपाउँदासम्म खानेको घाँटीमा अड्किन्छु भन्छ रे । निल्दा विर्सन्छ रे । काकीले खानै लागेको बेला प्वक्क भनिन् । खाउँ कि नखाउँ । एउटा मुखमा हालेको नभन्दै माछाको काँडाले मुखमा घोच्यो । यो माछा पनि मरेर पनि मार्छु भन्छ । भैगो माछा पुग्यो । काकीलाई अन्तिम इच्छा कोक पिउनु भएको सुनाएँ ।
हुदैन ।
किन ?
अहिले भारी बोकेर हिड्न सकिदैन ।
के हुन्छ ?
लाग्छ । हात खुट्टा लल्याक लुलुक हुन्छ । होइन कक्षाका त्यत्रा तामाकोशी पुग्ने साथीहरुले त खाए । म किन नखानु ।
थोरै खाउँन ।
हुँदैन ।
बल्ल बल्ल काकी मानिन् । सबै भन्दा सानो बोतल पिउने भइयो । फ्याट्ट । बोलत खोलियो । स्वीइँँ आवाज निकाल्दै फिँज आयो । कडै पो छ कि के हो ? मातिने भो काकीछोरा । नुन को बोक्छ ? कोकले मातेको मान्छे ।
दुईटा गिलास मगाइयो । मलाई थोरै काकीलै अलि धेरै हालिन् । मुखमा हाल्छु । हो त मुख नै पिर पिर पार्छ । लौ बितायो । अलि अलि गुलियो पनि छ । निल्दा घाँटीबाट पेटसम्म छिरेको चाल पाए जस्तो हुन्छ । कडै परेछ कि ?
गाउँबाट सहर छिर्दाका भोगाइ हजार छन् । सहरका पीडा पनि हजार छन् । यो बेला महानगर तातेको छ । मेरो गाउँमा शितल छ । मिस हुन्छ ।