चुनावी अनुभव र सोनसिकको महाकुम्भ
सानो छदाँका अनुभवहरु धेरै छन्। जसमध्ये एक हो चुनावको अनुभव । चुनावी माहोलहरु आउँदा गाउँमा गजबको बितण्डाहरु मच्चिन्थ्यो । त्यसबेला जम्मा तीनवटा चिन्हहरू( रुख, सूर्य, र हलो) को रवैया चल्थ्यो। रोड, घुम्टी, भित्ता र फलैचाँहरु यिनै चिन्हका आकृतिले लिपिएका हुन्थे ।
केटाकेटी भएपनि उसबेला बालखै खालका तर्क बितर्क हुन्थ्यो । काङ्ग्रेस भन्ने के हो थाहा नभए पनि रुखले छहारी र शितल दिन्छ भेनेर कोही रुखको पक्षमा लाग्थे ।एमाले भन्ने के हो थाहा नभए पनि सुर्यले न्यानो र शक्ति दिन्छ भेनेर कोही सूर्यको वकालत गर्थे । अलिक नझाङ्गिने स्वभावको साथीहरु राप्रपा कुन चरो हो भन्ने थाहा नभए पनि हलोले खेत जोतेर अन्न दिन्छ भनेर हलोको बचावट गर्थे ।
नेता भनाउदाहरु आउँथे । गाउँको चैतारामा रङग लाग्थ्यो । भाषण ठोक्थे । म नी फाटेको कट्टु र बटम चुडिएको सर्टमा सिङ्गाने अनुहार लिएर स्क्वाश पानीको लोभमा आमसभाहरुमा लुसुक्क पस्थे ।
को काङ्ग्रेस, को एमाले, को राप्रपा । हामी झारपातलाई मतलब हुन्नथ्यो । मतलब थियो त केवल उनीहरुले सितैमा बाड्ने ूबाबाू विस्कुट जुन चियासगँ चोपेर खान खुब मज्जा लाग्थ्यो त्यसबेला । सबै बुझ्ने सुझ्नेहरु कसको भोट कति आउला भन्ने सुरतामा हुन्थे । तर हामी केटाकेटीहरु उनीहरुले गरेका कार्यक्रमहरुबाट फालिएका प्लास्टिकका डोरी बटुल्नमै ध्याउन्न हुन्थ्यो । प्लास्टिकका डोरी जती बटुल्न सकिन्थ्यो बटुल्थ्यौँ । र पछि साईकल लिएर कवाडीवालाहरु आउँदा दालमोठ सगँ साट्थ्यौँ ।
समय परिवर्तन हुदै गयो । उमेर छिपिदै गयो । अलिअलि दिमाग पनि बढ्दै गयो । को कङ्ग्रेस, को एमाले, र को राप्रपा चिन्न थाले। हाम्रो क्षेत्रतिर सदभावना भन्ने जुरमुराएको थिएन त्यसबेला ।
५६ सालको चुनाव सम्म आइपुग्दा चुनावी जोड घटाउ बुझ्न थाले । दस बैण्डँको रेडियो कानमा लाएर बाउबाजे, काका, ठुलाबडाहरुले यस्ले जित्यो उसले हार्यो भन्दा खेरी सम्म अलि अलि नेताहरु ठम्याउने भईसकेको थिए ।
जब लक्का जवान भए र चुनावी ज्वरो थेग्ने हैसियत पलायो तब देशमा लामै चुनावी खडेरी लाग्यो। कहिले आउला चुनावी दसैँ र खाउला चुनावी बोको भन्ने हुन्थ्यो ।
५९।६० मा आईएससी अध्ययन गर्दा चुनावको वडा दसैँ नै चाख्न नपाए पनि चैते दसैँ स्वरुप स्ववियू चुनावको बोकोहरु ढाल्न पाईयो। स्ववियुको भनसुन चल्ने हुदाँ जुन प्यानलको रवाफ बढी देखिन्थ्यो म जस्ता जोकरहरु त्यतै गएर टासिन्थ्यो।
६४।६५ मा भाग्यमा ढिलै भएपनि चुनावी यौवन फर्केर आयो । युवा उर्जाका साथ आफ्नै भाग्य कोर्ने कालोपत्रे स्वरुप पहिलो संविधान सभाको चुनावी रासलीला अनुभव गर्न पाए । चुनावी उन्मादका जालझेल, घुम्टो भित्र रहेकी चुनावी दुलही, र चरेस झैँ लठ्ठ पारिरहने चुनावी चुस्की सबै चाख्दा लाग्यो मेरो कुमारीत्व नै लुटियो त्यतिखेर । दोस्रो संविधान सभाको चुनाव चाहिँ दोस्रो श्रीमती ल्याए जस्तै भयो मेरो जीवनमा । भोटरको हैसियतमा खासै कुनै मोह पलाएन ।
जीवनको उतार चढावमा पोहोर साल अध्ययन गर्न कोरिया आइपुगे । कोरिया मेरा लागि नितान्त नौलो परिवेश थियो । यो नौलो परिवेशमा म विल्कुलै नवजात शिशु जस्तै थिए ।यस्तो परिवेशमा हामी जस्ता नव शिशुलाई हुर्किन सजिलो होस भनेर
अग्रजहरुले ूसोनसिकू भन्ने एउटा सुन्दर घर बनाउनु भएको रहेछ । उक्त सुन्दर घरको एकजना अनुभवी अग्रज घरमुली रहने परम्परा रहेछ । घरमुली कसलाई बनाउने कुरो टुङ्ग्याउने प्रणाली चाहिँ उहि पुरानै चुनावी प्रक्रिया रहेछ । घुमिफेरी रुम्झाटार भने झैँ पोहोर साल पुनः मैले उही पुरानै चुनावी अनुभव आर्जन गरे । ूसोनसिक घरू को ूघरमुलीू छान्ने बेला गतवर्ष भोटरको दर्जामा म नितान्त अबोध बालक जस्तै थिए । अग्रजहरुले जसलाई भन्नुभयो उसैलाई भोट हाले ।
सोनसिक के हो रु यो घरले के गर्छ रु यो घर कसका लागि हो रु सोनसिक घरको मुल उद्देश्य के हो रु सोनसिक घरमुलीको मुख्य कर्तव्य के हो रु यसको अत्तोपत्तो थिएन त्यसबेला । भुकम्प गएपछि सोनसिकको औचित्य अलिअलि बुझ्दै गए ।
यस वर्ष फेरी अगस्त १३ शनिवारका दिन सोनसिक घरको महाकुम्भ लाग्दै छ । सगँसगैँ घरमुली छान्न हेतु सोनसिकले आफ्ना सबै सन्तानहरुलाई बुसान डाकेको छ ।
सोनसिक महाकुम्भ लाग्नु अगावै सबैलाई ूसोनसिक फिभरू चढिसक्यो । स्व(उमेद्वारी घोषणा गर्दै सोनसिकका सन्तानहरु सगँ भोट माग्दै थुप्रैजना लामबद्ध भईसके ।दिनहुँ अरुहरुलाई जस्तै मेरो पनि फेसबुक र इमेलमा सन्देशहरु गुटुङ्टुङ आईरहेको छ ।
हालसम्म मैले कुनै पनि उम्मेदवारको चित्तबुझ्दो भिजन भेटेको छुइन । सोनसिक घरलाई कुन हद सम्म सुदृढ गर्ने । यसका सन्तानहरुका पीरमर्का के हो र त्यसलाई कसरी सुल्झाउने । अध्ययन गर्दा र अध्ययन पश्चात भईपरि आउने दुखको निदान कसरी गर्ने । कोरिया रहदा सोनसिकका सन्तानहरुलाई उचित पथप्रदर्शकको भूमिका कसरी पहिल्याउने जस्ता गम्भिर प्रश्नहरु हाल सम्म भोट माग्नु भएका कुनै पनि उम्मेद्वारबाट प्रष्ट रुपमा आएको छैन ।
सोनसिक महाकुम्भ यति धेरै तातिरहेको छ की हुदाँहुदै सोनसिकको फेक इमेल आइडिबाट ूसोनसिक १३औ साधारणसभा सभापति पदका उमेद्वारको परिचयू शिर्षकमा सौरभ भट्टराई, तुलसी पौडेल र आरजना श्रेष्ठ को स्वघोषित उम्मेदवारीको बेलीबिस्तार भएको एउटा तालीका नै पाए ।
यस्तो फेक इमेल बनाएर जो कोहीले कथित उम्मेदवारको उज्यालो र अध्यारो पक्ष केलाएका छन् त्यो एकदमै निन्दनीय छ । यस्तो दुष्कर्म गर्ने चेष्टा पक्कै पनि अरुकोही नभई हामी सन्तानहरु बाटै कसैले दुस्साहस गरेको होला । त्यही भएर हामीसबैको र विशेषतः वर्तमान कार्य समितिको यस्ता फटाहा व्यक्तिको पहिचान जतिसक्दो चाँडो गरेर सबैको सामु नाङेझार पार्नु मुख्य कर्तव्य हो ।
घरमुली भएर सोनसिकको खम्बा थाम्न जो आएपनि कृपया मेरो सानो मुखबाट निस्केको दुईवटा सुझावलाई मनन् गरिदिनुहोला । प्रथम, सोनसिक घरको पखेटाको रुपमा रहेको ूसोनसिक जर्नलू विगत दुई कार्यकाल देखि निसासिएर बसिरहेको छ । २०१४ मा पाचौँ संसकरण निस्के पश्चात कुनै पनि सोनसिकको घरमुलीले उक्त सोनसिक जर्नल रुपी पखेटाको लम्बाई बढाउने कसरत गर्नु भएको छैन । यसपाली चुनिनु हुने घरमुलीले यो कार्यलाई प्राथमिकतामा राख्नु होला ।
दोस्रो, अध्ययन पश्चात टियुबाट यहाँ गरेको अध्ययनको समकक्षता पाउने प्रक्रिया निकै झन्झटिलो छ। उक्त प्रक्रियालाई सरलीकरण गर्न यदी सोनसिकबाटै राष्ट्रिय स्तरमा कोरियामा रहेको विश्वविधालयका पाठ्यक्रमलाई टियुमा पहिचान गराउन सकियो भने समकक्षता पाउने प्रक्रिया केही हद सम्म सजिलो हुन्थ्यो । यो कुरो पनि हुने वाला घरमुलीहरुले मनन् गरिदिनुहोला ।
अन्तमा, सोनसिक महाकुम्भको चुनावी मैदानमा जो जो सुरवीरहरू उत्रिनु भएको छ उहाँहरु सबैलाई मेरो शुभकामना । आशा छ यसपाली घरमुली भएर पक्कै पनि एक प्रखर व्यक्ति आउनु हुनेछ ।