अटो
अटोमा केही लेख्दिन्छौ ?
दस कक्षाको पढाई अन्तिम भएको बेला तिर प्रत्येक दिन साथीहरुले एउटै कुरा दोहोर्याउन थाले । त्यो भन्दा पहिले अटो भन्ने हाम्रो बिद्यालयको लागि नयाँ थियो । एकदम नयाँ ।
सबै जसो साथीले अटो किने । बनाए । पैसा भएको साथीहरुले सदरमुकाम जाँदा रेडिमेड अटो किने । त्यसमा फोटो टास्ने ठाँउ हुन्थ्यो । रुचि लेख्ने ठाउँ हुन्थ्यो । मन पर्ने फिल्म, हिरो, हिराइन, गीतसंगीत सबै कुरा लेख्न मिल्थ्यो । त्यस्तो अटो किन्न एक थान गैडा अर्थात एक सय रुपैया चाहिन्थ्यो । अझ राम्रैमा आँखा पर्यो भने दुईथान गैडा पनि चाहिन सक्थ्यो । त्यसैले रेडिमेट अटो धेरै साथीका लागि सजिलो भएन । बिकल्पमा आफैले त्यस्ता अटो तयार गर्ने उपाय थियो । बोक्लो कभर भएको ‘इगलछाप’ कापी बिस रुपैयामा पाइन्थ्यो । त्यसैमा फोटो टास्ने ठाउँ बनायो, रुचि र गीतसंगीतका कुरा लेख्ने मिल्ने बनायो । चित्र बनाउन आउनेले गुलाफ, कमलका फूल फुलाए । हिरो, हिराइनका बारेमा थाहा पाएको कुरा लेख्न मिल्ने बनाए । अनि बन्यो रेडिमेडलाई माथ ख्याउने गरि आफैले बनाएको सस्तो र सजिलै अटो ।
अटोमा राजेश हमाल हुन्थे । उनको रामकृष्ण, एक नम्बरको पाखे, अल्लारे, सिमाना र अरु हुन्थे । राजेशलाई साथ दिन जल शाह, करिष्मा मानन्धर, मेलिना मानन्धर, जस्ता हिराइनका ताती हुन्थ्यो । यस्ता हिरो हिराइन एक रुपैयामा किन्न पाइन्थ्यो । जति बढि टास्यो त्यति राम्रो ।
आफैले बनाएको अटो आफ्नो रुची अनुसार हुने नै भयो । रंगीचंगी साइनपेनले अक्षर मिलाएर लेख्यो । कतै रातो, कतै हरियो, कतै निलो । हेर्दै पढ्न मन नभएकालाई पनि पढौ पढौ लाग्ने । लेख्न मन नभएकोलाई पनि लेखौ लेखौ लाग्ने ।
हुँदा हुँदा बिद्यालय पढाईको अन्तिम हप्तामा दिनमा एक जना भन्दा बढिको अटो भर्ने दिन आयो । तर लेख्ने के भनेर सम्झदा सम्झदा एउटा साथीको अटो भर्न एक हप्ता जति लाग्थ्यो । एक दिन अटो दिने साथीसँग भए गरेका कुरा मिलाएर लेख्ने अनि अर्को दिन अलि अलि मुतmक, कबिता कतैबाट साभार गरेरै भए पनि लेख्ने । आफूले भन्दा पहिले लेख्ने साथीका लेखाइ पनि हेर्न पथ्र्यो । पहिले अटो भरेका साथीलाई माथ खाने गरि लेख्न पर्ने तर काम सजिलो भने थिएन ।
लेख्ने ब्याहोरा भने जस्ले जसरी लेखे पनि एकै हुन्थ्यो । कहिले कही कक्षाका मन परेको केटा केटी पर्यो भने चाही थारै ‘डवल मिनिङ’ लाग्ने सम्बोधन र ब्यहोरा लेख्थे । धेरै साथीले लेखे मनका कुरा । धेरै समय सम्झने कसम खाए । अरुले लेखेका कुरा पढेपछि लाग्थ्यो बिद्यालय बेकारमा छोड्न लागिएछ । यो एसएलसी पनि कति छिटो आएको ।
अटो भर्ने र बोक्ने काम एसएलसी आउनु अघि सम्म चल्यो । सदरमुकाम चरिकोटमा एसएलसीको सेन्टर थियो । द्धन्द्धका कारण नेपाल भरिको जाँच सदरमुकाममा हुन्थ्यो । सदरमुकाम भनेको पैसा भए मोज मस्ति र कसैको करकाप नहुने ठाउँ थियो । दिनदिनै बिद्यालय जानु थिएन । ‘सर’ भनौदा ‘मास्टर’ थिएनन् । पढ कि पढ भन्ने बाआमा थिएनन् । सजिलोथ्यो । मस्ति थियो ।
बाआमाले टिउसन पढाउन दिएको पैसा थियो । कोठा भाडाको लागि दिएको पैसा थियो । मन लाग्यो पढ्यो मन लाग्यो घुम्यो मन लाग्यो साथीको अटो झिक्यो । भाव भाङ्गी मिलाएर वाक्य खर्चियो ।
कक्षामा ३२ जना बिद्यार्थी थिए । ती मध्ये २० भन्दा बढिको अटो तयार थिए । मेरो अटो बनाउने रहर रहरै भयो । मलाई लाग्थ्यो मेरो अटो फरक हुन पर्छ । त्यसैले म चरिकोटबाटै अटो किनेर ल्याउने सुरमा थिएँ । म नगए पनि बालाई ल्याउन लाउने ।
नभन्दै एक दिन बा चरिकोट जाने भए । उनलाई अटोको बारेमा के भन्ने । यो पढ्न चाहिने हो भन्ने कि लेख्न । अनि त्यति साह्रो महंगो कपिमा झन राजेश हमाल चप्काएर फूल कबिता, रंगिन अक्षर लेखेको देखे तिनले मलाई के भन्लान् । मैले सिधै उनलाई यो कुरा भन्न सकिने अबस्था भएन ।
अनि मैले आमालाई भनेँ । कति प्रयास गरेर आमालाई अटोको महिमा कण्ठ गराएँ । पहिलो त आमाले राम्ररी अटो भन्न नआएर हैरान । अनि सम्झाउन उनलाई मैले बाक्लो कापी हो त्यसलाई अटो भन्ने कुरा सम्झाएँ । उनी मेरो कुरामा राजी भइन ।
चरिकोटबाट बा फर्किए । म ढुक्क थिएँ आमाले भने पछि नहुने केही थिएन । जाबो बा न थिए । आमाले मेरो लागि अटो भने पछि हुन्न भन्ने हिम्मत कस्को ? त्यसैले म फुरुङ थिएँ । मसँग जस्तो राम्रो अटो अरुको नहुुने भो भन्नेमा । बाले मलाई बोलाए । एक मन त डर भो । स्पष्टिकरण माग्लान कि भनेर । तर अर्को मनले मागे मागुन् । शानदार अटो पाए परेको गरौला ।
तिनले झोलाबाट झिकेर मेरो हातमा थमाए । त्यो बाक्लो इलग छाप कपि थिएन । न मैले सोचेको अटो नै थियो । बाले लामो बाक्लो नोट कपि ल्याएछन् । न रुनु न हास्नु । न लिनु न फाल्दिनु । परेन फसाद । मेरो सपना चकानाचुर भयो । बाले भने होइन केटो चरिकोट भरि खोजियो त्यत्रो दुई सय जाने एउटै कपि त भेटिएन त ।
दुनिया हारेको अनुभव भाको मलाई आमासँग गुनासो थियो । एक सास नबिसाई पोखेँ । उनले भनिन अनि त्यही कपिमा लेख्न मिली हाल्छनी । मलाई बिहान मैले नामनै सम्झेनछु । त्यसैले दुई सय पर्ने एउटा कपि हुन्छ रे ल्याइदिनु भनेकै थिएँ त । ल्याइदिएनन् ?
बा चरिकोट जानु भन्दा अघिल्लो दिन त्यत्रो अटो महिमा बेकार भो । उनले सम्झाइन एक महिना पछि तँ आफै किने हुन्छ । नहुनु के थियो । त्यसपछि मलाई अटो बनाउने र किन्ने रहर मर्यो । बरु साथीकामा भर्दै लेख्दै आनन्द भो ।
यस्तो अटो भरेको पनि १५बर्ष बितेछ । हामी साथीहरु छुट्टिएको पनि त्यति नै भो । कहिले कही आक्कल झुक्कल साथीहरु भेटिन्छन् । नत्र फेसबुक तिरै मात्र हो । अनलाइनमै सन्चो बिसन्चोको कुरा हुन्छ । प्रगति उन्नतीका कुरा हुन्छन् । बिद्यालयको अटो कतै थन्किएको पनि हुन सक्छ । धेरै पहिले नै फ्याँकिएको पनि हुनसक्छ । मसँग अटो भएन । तर अटोको सम्झना आलै छ ।
अटो भर्दा सबै भन्दा गार्हो मुक्तक कबिता लेख्नु थियो । अरुले साथीले कता कताबाट लेख्थे थाहा भएन । लेख्न चाही लेख्थे । खै कुन साथीकोमा हो मैले पनि कतैबाट सारेरको थिएँ ।
पसलै जानु सुन्तला खानु हातैले उदारी
रातीको लेखाई बतिको छेकाइ पढ्नु है सुधारी ।
आकाशमा उड्ने चरिलाई के थाहा समुन्द्रको गहिराई
धोका दिनेलाई के थाहा मायाको बुझाई ।।
खोला बगे पनि बालुवा रहिरहन्छ
मान्छे टाढा भए पनि सम्झना आइ रहन्छ ।।।
ढिलै भए पनि ह्यापी फ्रेन्डसिप डे ।