पत्रकारको नाममा
अगस्ट १९ । विश्व फोटोग्राफी दिबस । यो दिन फोटाका कुरा गर्न पर्ने हो । तर परदेशको पत्रकारिताका कुरा गर्ने प्रयास भएको छ ।
भनिन्छ सर्पको खुट्टा सर्पले नै देख्छ । सत्यता कति छ यसै भन्न सकिन्न । तर आफ्नै क्षेत्रमा भए गरेका केही कुरालाई भने थाहा पाउन सकिन्छ । बुझेका कुरा यसो हो यसो होइन भन्न सकिन्छ । भलै कसैले ‘जान्ने बनेको’ नै किन नभनोस । यो लेख ‘पत्रकार हुँ’ भन्नेका लागि हो ।
पत्रकारिता पढियो । गरियो । रुचि नराखौ भन्दा भन्दै पनि कतै न कतै जोडिन्छ । संयोगले नेपाल पत्रकार महासंघ कोरिया शाखाको अधिबेसनमा पुग्न पाइयो । बोल्ने बक्ताले अरु जे भने पनि ‘स्वच्छ पत्रकारिता’ भन्न छुटाएनन् । धेरै भएको थिएन कोरियामा । त्यसैले लागि रह्यो यो कस्तो रैछ ‘स्वच्छ पत्रकारिता’ ? कार्यक्रम भयो । चुनिनु पर्नै चुनिए । माला लाए । फोटो खिचे । न्युज बनाउनेहरु नै न्युज मेकर भए । मनको कुरा मनमै रह्यो ।
समयसँगै केही ‘स्वच्छ पत्रकारिता’का नमुना फेसबुक तिर देखिए । एउटा समाचारको अंश यस्तो छ । कोरियामा नेपालीहरु मझ दलाल छबी बनाएका बोगटी सस्तोमा नेपाल पैसा पठाइ दिन्छु भन्दै करोडौ उठाएर फरर भएको बताएको छ । को हुन बोगटी ? म्याग्दी घर भएका उनी कोरियामा सबै भन्दा कुख्यात ठग भनेर चिनिने गरेका बताइन्छ । रेष्टुरेन्ट ब्यवसाय गरे पनि भित्री व्यवसाय भनेको ठगी नै रहेको चिन्नेहरु बताउँछन् ।
छबि नै दलाल । चिन्नेले ठग भन्ने । कुख्यात । हैन यस्तोलाई पैसा दिने पनि मुर्ख होइन ? समाचार पढ्दा लाग्ने कुरा । अर्को कुरा यो समाचार लेख्नेकै पनि अलि अलि पैसा त टप्कायो जस्तो छ ? जे होस पत्रकारिताको सामान्य सिद्धान्त भनेको जे कुरालाई पनि ‘सोर्स’ राख्न पर्छ । ‘सोर्स’ बिना आफुलाई रिस उठ्यो भन्दैमा नानाभाँती लेख्न पाइन्न । नेपालको कानुनले पनि अदालतले दोषी प्रमाणित नगर्दासम्म ज्यानमारालाई ज्यानमारा लेख्न पाइन्न । चोरलाई चोर भन्न पाइदैन । यस्ता केसमा संलग्नहरु आरोपी मात्र हुन् । ज्यानमारा, चोर लेख्नै मन लाग्यौ भने ‘सोर्स’ हरु प्रयोग गरेर लेख्न सकिन्छ । भन्न सकिन्छ ।
नमुना समाचारमा अझ तल एक ब्यपारी । उनका दाइ, भान्जा पनि पीडित भनेका छन् । न दाइको नाम छ । न भान्जको । न ब्यापारीको । पत्रकारिता गर्ने नै हो भने तँपाईले ‘डेनिस म्याक्योल’को पत्रकारिताका थ्योरी जान्नु पर्छ नै भन्ने छैन । न त ‘स्रार्म‘ले भनेको पत्रकारिताले कसरी काम गर्छ भन्ने नै जान्नु पर्छ । यसो भन्दैमा जान्नु नै पर्दैन त भनेको होइन । जाने राम्रो । नजान्दा पनि फरक पर्दैन । ठूला विश्व विद्यालयको डिग्री पनि चाहिदैन । तर तँपाईले पत्रकारिताको ‘एविसी’ जान्नु हुन्न । ‘लिड’ लेख्न आउँदैन । ‘इन्भर्टेट पिरामिड’ भनेकै सुनेको छैन । ‘फाइबडब्लुवानएच’ कसरी हुन्छ ? थाछैन भने जान्नु पर्छ । यी भनेका नेपाली अक्षर सिक्ने हो भने कखरा जस्तो मात्रै हो । कख नै नजान्नेले निबन्ध लेख्छु पढ्छु भन्यो भने दुनियाले के भन्ला ? अनि पत्रकारिताको कख नजानेको प्रधान सम्पादक भए पछि कस्तो होला परदेशको पत्रकारिता ?
पत्रकारिता अहिले सजिलो छ । बर्षिक रुपमा केही पैसा तिर्यो । डोमेन किन्यो । स्पेस किन्यो । अनलाइन न्युज पोर्टल सुरु गर्यो । कन्ट्रोल सि कन्ट्रोल भी । बुझ्नु भएन ? कपि पेस्ट । भोली देखी पत्रकार । डोकामा पनि ढोका पनि कसैले रोक्ने कुरै भएन । देशमा राजा गए पनि तंपाई युवराज सम्झनु हुन्छ । तर त्यस्तो व्यावहारको एक पत्रकारले पुरै अनेक पत्रकारको बेज्जत गर्छ ।
कोरियामा भएका अहिलेका न्युजपोर्टलहरुका पत्रकार दिन भरि ‘साजाङनिम’, ‘इसानिम’, ‘फान्जाङनिम’ वा यस्तै केही ‘निम’हरुको ‘सेक्या’ बन्छन् । थोरै रेष्ट गर्नु पर्ने समयमा पत्रकार बन्छन् । दुःख छ । महनेत छ । तर त्यसो भन्दैमा तँपाईले मनलागि लेखेर वा अरुलाई गाली गरेर पत्रकारिता गर्न पाइँदैन । यो पत्रकारिताको सामान्य सिद्धान्त हो । दुनियामा प्रोफेसनल पत्रकारीता गर्नेले आफ्नो ज्यान दिएका छन् । तँपाईको खल्तिको पैसा गएको छ यो त सोखको लागि भन्नेले पनि पत्रकारिताका आधारभूत सिद्धान्त भन्दा बाहिर गएर लेख्न बोल्न पाइदैन । आफ्नो मन खुशी लेख्नेले साहित्यका विधा चुनेको राम्रो । अहिलेको कोरियाको अबस्था केही नराम्राले गर्दा राम्रा पनि उही ड्याङका मुला भएको अबस्था छ । त्यसैले पत्रकारको भेलामा न्युज मेकर्सहरु आउँछन् र स्वच्छ पत्रकारिता गर्न सल्लाह दिन्छन् ।
बुझ्नै पर्ने कुरा के हो भने नेपाली टाइप गर्दैमा सबै पत्रकार हुदैनन् । भलै टाइपिस्ट बन्लान् । तँपाई वानम्यान जर्नानिजम गर्नु हुन्छ भने पनि सोर्स कोर्ड, फ्याक्ट चेक, डवल चेक गर्नै काम आफ्नै हो । भाषा मिलाउने, लिड मिलाउने काम पनि तँपाईकै हो । नत्र कोरियामा फलाम कुटेर महिनाको दुईलाख कमाकोबाट थोरै पैसा दिएर आफै प्रधानसम्पादक आफै प्रकाशक भएर नाक घिरौला बनाउनुको तुक छैन ।
यति पढे पछि अरुलाई वाल नभए पनि पत्रकारहरुलाई रिस उठ्यो होला । रिसाउनु भन्दा यसो गर्नुस गुगलमा पत्रकारिताका कुरा छ्यासछ्यास्ति पाइन्छन् । खोजौ केही पढौ । राम्रा लेख्न सक्नेको ब्लगहरु पढौ । नत्र फेरी रुल अफ थर्ड नै थाहा नभाको फोटो पत्रकार झै हुन्छ । अनि यस्तो पत्रकारिता गर्नु भन्दा १२ घन्टे ड्युटीले दुखेको थाकेको ज्यानलाई आराम हुन्छ । मज्जाले खुट्टा तन्काएर सुतौ । स्वच्छ पत्रकारिता झै स्वच्छ छलफलका लागि सधै स्वागत । ह्याप्पी वल्डफोटोग्राफी डे ।