नेपाली विद्यार्थीहरुको समस्या र चुनौतीको पहिचान गरी अवसरको खोजी गर्ने छु , आरजना श्रेष्ठ
नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) की वर्तमान सभापति हुन्, आरजना श्रेष्ठ । दुई पुरुष प्रतिष्पर्धिलाई हराउदै भर्खरै सम्पन्न १३ औं कार्यसमितिको महाधिवेशनबाट चुनिएकी दोस्री महिला नेतृ आरजना कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरुको समस्या र चुनौतीहरुको पहिचान सहित विद्यार्थीहरुको चौतर्फी विकासका लागि प्रोत्साहित गर्दै एकवद्ध बनाएर लैजाने प्रतिवद्धता व्यक्त गर्छिन् ।
विगत तीन वर्षदेखि सोनसिकसँग आवद्ध रहेर नेतृत्व बहन गर्न सक्ने क्षमताको विकास गर्नुका साथै सोनसिकको गतिविधिसँग पूर्ण परिचित भइसकेकी आरजनाले आफ्नो एकवर्षे कार्यकालमा सोनसिकलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने लक्ष्य लिइकी छिन् ।
काठमाडौंमा जन्मेकी श्रेष्ठले स्वर्णिम हाइस्कुलबाट एसएसलसि गरेपछि गोल्डेन गेट इरन्टरनेसनल कलेजबाट १२ सम्मको अध्ययन गरिन् । सानैदेखि विरामीहरुको पिडा देख्दा उनलाई एकदमै दुख लाग्थ्यो । हरपल उनको मनका ती विरामीहरुको दुःख र पिडालाई कसरी कम गर्न सकिन्छ भन्ने लागिरहन्थ्यो । बाल्यकालदेखि उनको मस्तिष्कमा परेको यहि छापले पछि उनलाई स्वास्थ्य क्षेत्रमा काम गर्ने चाहना बढ्न थाल्यो । त्यसैले विज्ञान विषय रोजेकी आरजनाले पोखरा विश्वविद्यालयबाट औषधी विज्ञान (फार्मेसी) मा स्नातक गरिन् । त्यसपछि थप अध्ययनको लागि कोरिया आइन् । कोरियाको थेगुस्थित यङ्नाम विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी छात्रवृत्ति पाएर सन् २०१४ को मार्चमा औषधी विज्ञान अन्तर्गत ‘नयाँ औषधीको खोज तथा विकास’ विषयमा स्नातकोत्तर गर्न कोरिया आएकी आरजना अहिले सोही विश्वविद्यालयमा विद्यावारिधि गरिरहेकी छिन् । विद्यार्थी नेतृकासाथै विभिन्न सामाजिक क्रियाकलापमा समेत त्यत्तिकै सक्रिय रहदै आएकी सोनसिकका वर्तमान सभापति आरजना श्रेष्ठसँग फोनिज कोरियाका लागि बाला राईले गरेको कुराकानीः
सोनसिकले पुनः महिला नेतृत्व पाएकोमा कतिको गर्व गर्नुभएको छ ?
नेपालको इतिहासमै पहिलो पटक मुख्य तीन कार्यकारी पदमा महिला भएको बेला कोरियाको विद्यार्थी संगठन सोनसिकमा पनि महिला भएर सभापति हुन पाउँदा एकदमै खुशी र गर्व लागेको छ । अलिकति डराएकी पनि छु । किनभने, जिम्मेवारी बढेको छ । साथै सोनसिक परिवारलाई मिलाएर अगाडि बढाउन चुनौतीहरु पनि त्यत्तिकै छन् । काम गर्दै जाँदा धेरै कुरा सिक्ने र सोनसिकलाई थप उचाइमा पुर्याउने मेरो विश्वास छ ।
यो पटक पनि महिला नै चुनिनुको कारण ?
नेपालमा राष्ट्रपति, प्रधानन्यायधिस र सभामुख महिला हुँदा सोनसिकमा पुनः महिला नै चुनिनु संयोग हो कि जस्तो लाग्छ । नेपालको आधा भन्दा बढी जनसंख्या ओगटेको महिलाहरु पछिल्लो समयमा एकदमै जागरुक हुँदै आएका छन् । यो हाम्रो नेपाली समाज तथा समग्र देशको विकासका लागि अत्यन्तै जरुरी छ । सायद यहि कारणले होला मैंले पनि सोनसिकमा आउने आँट गरें र यसमा सबैले मलाई विश्वास गरेर सभापति जस्तो गरिमामय तथा जिम्मेवारी पदमा जिताउनुभयो ।
तपाइको कार्यकालमा सोनसिकलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन कस्तो नीति वा कार्ययोजना बनाउनुभएको छ ?
सन् २००४ मा सोनसिकको स्थापना भएसँगै अघिल्ला कार्यसमितिका अग्रजहरुले गर्दै आएको राम्रा कामहरु जस्तै शैक्षिक सेमिनार, लिडरसिप ट्रेनिङ , स्पोर्ट्स फेस्टिभल, नेपाल डे जस्ता कार्यक्रमहरुको निरन्तरता दिनुका साथै सबै भन्दा महत्वपूर्ण काम कोरियाका ७० भन्दा बढी विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई समेटेर लैजाने योजना छ । यसको लागि सोनसिकलाई चार क्षेत्रमा छुट्याएर जिम्मेवारी दिइने छ । जस्तै क्षेत्र नं. १ सोल, कावन्दो, क्यङगीदो, क्षेत्र नं. २ छुङछङबुकदो, छुङछङनाम्दो, क्षेत्र नं. ३ जल्लानाम्दो, जल्लाबुकदो, जेजुदो क्षेत्र नं.४ क्यङसाङनाम्दो क्यङसाङबुकदो । यसरी विभाजन गरिएको चार क्षेत्रमा सोनसिकका उपसभापतिलाई मुख्य संयोजनको जिम्मा हस्तान्तरण गरी कार्यक्रमहरुको माध्ययमबाट ‘राम्रो सोनसिक, हाम्रो सोनसिक’ भन्ने अभिप्रायले अघि बढ्ने योजना रहेको छ ।
यसका साथै सोनसिक परिवार (अध्ययनरत नेपाली विद्यार्थी र अध्ययन गरि सक्नुभएका सोनसिक अलुमनाइ) का सम्पूर्ण सदस्यहरुको सामान्य जानकारी सहितको डेटाबेस बनाइ कोरियामा भएका अवसरहरु जस्तै व्यक्तिगत विकास, नेतृत्व विकास, कार्यशाला, टक प्रोग्राम, तालिम तथा इन्टर्नशीप, जागिर र छात्रवृत्तिका अवसरबारे जानकारी दिने साथै कोरियामा नेपाली विद्यार्थीहरुको समस्या र चुनौतीहरु पहिचान गरी समस्या समाधान तथा परामर्श गर्ने कार्यहरु प्राथमिकतामा पर्नेछन् ।
त्यसैगरी कोरियाबाट अध्ययन सकाएर नेपाल फर्किएपछि नेपाली पाठ्यक्रम विकास केन्द्रबाट समकक्षताको प्रमाणपत्र (Equivalency Certificate) पाउने प्रकृयालाई सजिलो बनाउन चाहिने आवश्यक प्रकृयालाई अगाडि बढाउने छु । यसका साथै सबै क्षेत्रमा सोनसिक उपसभापतिहरुको अग्रसरतामा चारै क्षेत्रमा सेक्टेम्बर र मार्च महिनामा आउने नयाँ नेपाली विद्यार्थीहरुलाई सोनसिकको गतिविधि र कोरियाको बसाई उपयोगी तथा उत्कृष्ठ होस् भन्ने उदेश्यले नयाँ विद्यार्थी ओरिन्टेसन कार्यक्रम र क्षेत्रिय पिकनिक कार्यक्रम मार्फत् नयाँ तथा पुराना विद्यार्थीबिच परिचय तथा विचार आदान प्रदान गर्ने योजना छ ।
अध्ययनको लागि कोरिया नै रोज्नुको कारण ?
कोरियाले आर्थिक विकास सँगसँगै औषधि, विज्ञान, प्रविधि सम्वन्धि खोज तथा अनुसन्धानको क्षेत्रमा तिब्र रुपले विकास गरिरहेको हुँदा धेरै कुराहरु सिक्ने अवसर प्राप्त हुने भएकोले अध्ययनको लागि कोरिया मेरो पहिलो रोजाइमा पर्यो । त्यसको साथै छात्रवृत्ति पनि पाइने, सजिलो प्रकृया र नेपाली अग्रज दाजुदिदीहरु पनि भएकोले कोरियाप्रति आकर्षण बढेको हो । विकसित देशको भाषा, संस्कृति तथा सामाजिक चलन, आर्थिक विकासबारे जान्न र सिक्ने मौका पाउने भएकोले पनि कोरिया रोजेको हुँ ।
कोरियामा सुरुमा आउदा कतिको संघर्ष गर्नुपर्यो ?
कोरियाको भाषा, खानपान, रहनसहन र जीवनशैली फरक भएकोले सुरुमा धेरै गाह्रो भएको थियो । तर मेरो रुममेट नेपाली दिदी भएकोले मलाई धेरै कुरामा सजिलो भयो । त्यस्तै ल्यावमा पनि नेपाली दाजु दिदीहरु हुनुहुन्थ्यो प्राध्यापक पनि राम्रो भएकोले उहाँहरुको सपोर्टले कोरियाको जीवनशैलीसँग सजिलै घुलमिल हुन पाएँ । सबैभन्दा गाह्रो नै भाषाको समस्या थियो । भाषा सिक्दै गएँ । यहाँको संस्कृति, संस्कार, रहनसहन चालचलन सिक्दै छु । नेपालको भन्दा फरक भाषा, संस्कृति र परम्परा बुझ्दै जाँदा अहिले कोरियाको जीवनशैलीमा आफुलाई ढाल्न सकेको छु ।
नेपाल र कोरियाको अध्ययन पद्धतीमा के फरक पाउनुभयो ?
धेरै फरक छ । नेपालको भन्दा कोरियाको पढाइ बढी अनुसन्धानात्मक र खोजमूलक भएकोले व्यवहारिक र उपयोगी छ । साथै विश्वस्तरीय गुणस्तर पनि छ कोरियाको अध्ययन पद्धतीमा । कोरियामा कलेजस्तरको पढाइ अलि महंगो पनि छ । कोरिया सरकारको आर्थिक सहयोगमा चलेका राष्ट्रिय विश्वविद्यालय, विभिन्न ट्रस्टबाट चलेका विश्वविद्यालय, नीजि तथा सामुदायिक विश्वविद्यालय, साइबर विश्वविद्यालय गरि करिब २०० भन्दा बढी विश्वविद्यालयहरु छन् । यिनीहरुमा सरकारले निरिक्षण गर्ने पद्धती हुँदो रहेछ । सबै विश्वविद्यालयमा खोज अनुसन्धान कार्यका लागि विभिन्न कम्पनीको तथा सरकारको छुट्टै बजेट हुँदो रहेछ ।
अर्को महत्वपूर्ण कुरा कोरियाको विश्वविद्यालयमा विद्यार्थीको हकहित र विकासको लागि विद्यार्थी काउन्सील हुन्छ । तर, नेपालमा जस्तो विद्यार्थी, कर्मचारी र प्राध्यापकका राजनीतिक भात्री संगठन हुँदैनन । विश्वविद्यालय कुनै दिन बन्द नभइ नियमित तालिकामा चल्छ । सेमेस्टर प्रणालीमा चल्ने भएकोले ६ महिनाको सेमेस्टरमा करिव ४ महिना नियमित पढाइमा सकिन्छ र दुई महिनाको बिदामा विद्यार्थीहरु नयाँ ठाउँ घुम्ने तथा पार्ट टाइम काम गर्ने गर्दछन् ।
विद्यार्थीहरुको आत्मविश्वास र समग्र विकास गर्ने हेतुले उस्तै चासो राख्ने र विचार भएका विद्यार्थीहरु मिलेर विद्यार्थी क्लव बनाइ अभ्यास गर्ने गर्दछन् र उनीहरुको प्रतिभा प्रस्फुटन गर्न कला प्रदर्शनी लगायतका सिर्जनात्मक गतिविधिहरुमा संलग्न हुन्छन् ।
कोरियामा अध्ययन गर्न विदेशी विद्यार्थीको लागि सबैभन्दा ठुलो चुनौती के देख्नुभयो ?
मेरो विचारमा कोरियामा विदेशी विद्यार्थीहरुको लागि सबैभन्दा ठुलो चुनौती नै भाषा हो । अनि सुरुमा यहाँको खानपान, रहनसहन र जीवनशैलीसँग घुलमिल हुन पनि अप्ठेरो छ । त्यस्तै साँस्कृतिक भिन्नताले पनि धेरैजसो विद्यार्थीहरुले समस्या भोग्नु परेको छ । मुख्य चुनौती नै भाषा र संस्कृतिको भिन्नता हो ।
अहिले कोरियामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या कति जति होला ? अनि, के विषयमा बढी अध्ययन गर्न आउँछन् ?
अघिल्लो वर्षको तथ्यांक अनुसार ५०० भन्दा बढी नेपाली विद्यार्थी कोरियाको विभिन्न युनिभर्ससिटिमा अध्ययनरत छन् । धेरै जसो विद्यार्थीहरु विज्ञान तथा प्राविधिक इन्जिनियरिङ, मेडिकल तथा फार्मेसी जस्ता विषयमा स्नातकोत्तर तथा पिएचडि अध्ययन गर्न आएका छन् । विगत केही वर्षदेखि स्नातक तहको विभिन्न विषयमा पढ्न आउने नेपाली विद्यार्थीको संख्या पनि बढ्दो छ ।
कोरियामा अध्ययन गर्न आउने विद्यार्थीलाई के सुझाव दिनुहुन्छ ?
कोरिया विज्ञान अन्र्तगतका इन्जीनियरिङ, मेडिकल तथा फर्मेसी जस्ता अनुसन्धानमुलक विषयहरुको लागि राम्रो गन्तव्य हो । यहाँ अध्ययन गर्नका लागि पूर्ण छात्रवृत्ति पाइने भएकाले पनि परिवारमा आर्थिक भार हुँदैन र पढाई र अनुसन्धानमा राम्रो गर्यो भने संसारभरी थुप्रै अवसर प्राप्त हुन्छन् । तर कोरिया कसैको लहैलहैमा नलागी यहाँंको वास्तविकता तथा आफ्नो रुचि भएको विषयमा बुझेर मात्रै पढ्न आउनुपर्छ । कोरियाको भाषा, खानपान, रहनसहन र जीवनशैली नेपालको भन्दा धेरै फरक भएकोले त्यहि मानसिकता बनाएर आएमा केही सजिलो हुन्छ । कोरियामा पढ्न र जागिर गर्न मिलाइ दिने भन्दै प्रलोभन देखाइ पैसा ठग्ने र नेपाल वा कोरियामा भएका व्यक्ति तथा एजेन्टहरुको कुरामा नफस्नु होला भन्ने अनुरोध छ ।
त्यस्तै कोरिया आउनुभन्दा पहिला सबै कुरा इन्टरनेटमा उपलब्ध हुने हुँदा सत्य तथ्य बुझेर मात्र प्रकृया अघि बढाउनु होस् । यसको लागि नेपाल विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिकको वेभसाइट http://sonsik.org.np बाट पनि आवश्यक जानकारी, सहयोग र परामर्श लिन सक्नुहुन्छ
कोरियामा सिकेको ज्ञान सिपलाई नेपाल फर्केपछि प्रयोग गर्ने वातारण कस्तो भए अझ प्रभावकारी होला जस्तो लाग्छ ?
हाम्रो देशको सरकारी नीतिमा सुधार ल्याएर सहज वातावरण बनाइदिएको खण्डमा धेरै नेपाली विद्यार्थीले कोरियामा सिकेको ज्ञान र सिपलाई नेपाल फर्केपछि प्रयोगमा ल्याउने थिए । नेपाल सरकारले सबैलाई एकैचोटी आर्थिक सहयोग र सम्पूर्ण सुविधाहरु दिन सक्दैन । ठुलठुला कम्पनि र अनुसन्धानको केन्द्रहरु खोल्न सक्दैन तथा सुविधायुक्त विश्वविद्यालय स्थापना गर्न सक्दैन । तर लगानी गर्ने तथा काम गर्ने नीति नियम र वातावरणलाई सजिलो बनाएर सहजीकरण गरिदिए कोरियामा सिकेको ज्ञान, सिप र पूजीलाई सजिलै नेपालमा प्रयोग गर्न सकिन्छ ।
नेपाल फर्केपछि के गर्ने सोच बनाउनुभएको छ ?
कोरियामा सिकेको जुनसुकै विषय सम्वन्धि ज्ञान र सिप तथा शैक्षिक उपलब्धिलाई नेपाल विकासमा लगाउन सके मात्र कोरियाबाट आर्जन गरेको शिक्षाको सहि अर्थ लाग्छ । जस्तै मैंले अध्ययन गरेको विषयकै कुरा गर्ने हो भनेपनि नेपालमा औषधि क्षेत्र अझै धेरै पछाडि छ । हामी सामान्य क्याप्सुल र ट्याब्लेट कम्पाउन्डिङ गर्न बाहेक इन्जेक्सन, भ्याक्सिन, मेडिकल औजार जस्ता सामानहरुमा पूर्ण रुपमा विदेशी कम्पनीमा निर्भर छौं नयाँ औषधिको खोज तथा अनुसन्धानको कार्य त छदै छैन भन्दा हुन्छ ।
तसर्थ पढाइ सकेर केही वर्ष राम्रो अनुभव हासिल गरी नेपाल फर्केर औषधी कम्पनि खोल्ने, आफ्नै वा विभिन्न अन्तर्राष्ट्रिय कम्पनीको शाखा अनुसन्धान केन्द्र नेपालमै खोल्ने योजना छ । साथै नेपालमा अझै पनि औषधि विषयमा उच्च शिक्षाको अवसर नभएकोले विश्वस्तरीय मेडिकल तथा फर्मासिउटीकल विश्वविद्यालयको स्थापना गर्ने योजना बनाएकी छु ।
अध्ययन भिषाका साथै रोजगार भिषा, वैवाहिक भिषा वा अन्य भिषामा कोरिया आउने नेपालीहरुको अवस्थालाई कसरी मुल्यांकन गर्नुभएको छ ?
मलाई जानकारी भए अनुसार धेरै नेपालीहरुले कोरियामा आआफ्नो क्षेत्रमा राम्रो गरिराखेका छन् । यसका अलाबा समस्याहरु पनि धेरै छन् । जस्तै भाषाको कठिनाइ, फरक जीवनशैलीले गर्दा विभिन्न अप्ठ्यारा परिस्थिति र चुनौतीसँग सामना गर्नुपर्ने हुन्छ । अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरुले कोरियन प्राध्यापकबाट हुने नराम्रो व्यवहार, धेरै समय अनुसन्धानको कामले मानसिक तनाव हुने गर्दछ ।
त्यस्तै रोजगारीका लागि आउने कतिपय नेपालीहरुले कम्पनीको मालिकबाट पाउने मानसिक तनाव, कामको अत्यधिक भार, लामो ड्युटी, परिवार र साथीबाट छुट्टिनुको पिँडाको तनावले गर्दा आत्महत्या गर्ने गरेको दुखलाग्दो घटना पनि सुनिन्छ भने भाषा र संस्कृति नमिलेकै कारण वैवाहिक भिषामा आएका कतिपय दिदीबहिनीहरुको अवस्था तनावपूर्ण हुने गरेको समाचारहरुमा पनि सुनिन्छ । तर विभिन्न समस्यासँग सामना गर्दैै अघि बढ्ने हो अवसरका ढोकाहरु प्रसस्तै छन् कोरियामा ।
अन्तमा के भन्न चाहनुहुन्छ ?
कोरियामा भएका विभिन्न सामाजिक संघसंस्था, जातिय संघसंस्था तथा नेपाली राजनीतिक पार्टीका भात्री संगठनहरु जे जति छन् पदको लागि मात्र नभइ सबैलाई समेटेर सृजनात्मक र उपयोगीमूलक कार्यक्रमहरु गरी नेपाल र नेपालीको हकहितका लागि काम गर्न आग्रह गर्दछु । हामी सबैले कोरियाबाट सिकेको ज्ञान सिप र आर्जेको पूँजी नेपाल विकासमा लगाउन सके मात्र हाम्रो नयाँ पुस्ताले हामी जस्तै घरपरिवार छाडेर अध्ययन वा रोजगारीको लागि विदेश जान नपर्ने दिन आउने छ ।
अन्तमा, कोरियामा रहेका सम्पूर्ण नेपाली संघसंस्थालाई नेपाल र नेपालीको हकहित र विकासको लागि सहकार्य गर्न आग्रह सहित सोनसिकलाई तपाइको साथ, सहयोग, सल्लाह र सुझावको आवश्यकता छ ।