राजदूत मैत्रिपूर्ण रनिङ कप फुटबल प्रतियोगिता हुने
सउल, कोरियास्थित नेपाली राजदूतावासले यसपटक पनि राजदूत मैत्रिपूर्ण रनिङ कप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । नेपालीहरुको महान चाड दशै र शुभ दिपावलीको अवसर पारेर गत वर्षदेखि सुरु गरेको फुटबल प्रतियोगिता आगामि अक्टोबर २३ तारिख आइतबारका दिन हुने राजदूतावासबाट जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
गैर आवासिय नेपाली संघ एनआरएन कोरियाको सहकार्यमा आयोजना हुन लागेको उक्त प्रतियोगितामा सहभागी हुन अक्टोबर ७ तारिखसम्म दुतावासमा टिम दर्ता गराउनु पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त प्रतियोगितामा प्रथम हुने समुहलाई २५ लाख कोरियन वन र दोस्रो हुने समूहलाई २० लाख कोरियन वनसहित प्रमाणपत्र तथा प्रशंसापत्र समेत प्रदान गरिने भएको छ ।
प्रतियोगितामा सहभागी हुनको लागि तीन लाख वनसहित १५ जना खेलाडीको नामावली विवरणसहति राजदूतावासमा आवेदन दिनुपर्ने तथा प्रतियोगिताको टाइसिट अक्टोबर ९ तारिख गरिने विज्ञप्तिमा उल्लेख छ ।