सोल, नेपाली कामदारहरुको कोटा वृद्धिका लागि नेपालले एचआरडी कोरियालाई पुनः आग्रह गरेको छ । एचआरडी कोरियाले बार्षिक रुपमा गर्दै आएको समिक्षा छलफलका लागि यहाँ आएका बैदेशिक रोजगार बिभागका महानिर्देशक शत्रुघ्न प्रसाद पुडासैनी र इपीएस कार्यालयका निर्देशक डिल्लीराम बास्तोलाले कोटा वृद्धिको अनुरोध गरेका हुन् ।
एचआरडी कोरियाका बैदेशिक कामदार ब्युरोका निर्देशक यु बोम युसंगको भेटमा अनलाइन भाषा परिक्षाका लागि प्रबिधिगत तयारी , कृषि कामदारहरुका समस्या , स्वास्थ्यमा खराबी देखिएर फर्कनुपरेका कामदारहरुको बारेमा साथै अवैधानिक नेपाली कामदारहरुको बिषयमा पनि वार्ता भएको बैदेशिक रोजगार बिभागका महानिर्देशक शत्रुघ्न प्रसाद पुडासैनीले जानकारी गराए ।
नेपाली पक्षले नेपाली युवाहरुको कोरिया प्रति आकर्षण रहेकोले कोटा वृद्धिको आग्रह गरेको थियो । जवाफमा कोरिया पक्षले कामदारको संग्ख्या वृद्धिका लागि सकरात्मक रहेको प्रतिक्रिया दिएको थियो । नेपाली कामदारहरुको समस्या तथा गुनासोहरु एचआरडी बैदेशिक कामदार ब्युरोका निर्देशक यु बोम युसंग राखिएको इपीएस कार्यालयका निर्देशक डिल्लीराम बास्तोलाले बताए । नेपाली पक्षले कृषि क्षेत्रमा कार्यरत कामदारहरु बढी समस्या रहेको जानकारी गराएको थियो ।
कार्यअवधि अनुसार तलब नपाएको , बासस्थानमा असुबिधा रहेको तथा बिदाको व्यवस्था नभएको बिषय उठाइएको थियो । कोरियाली पक्षले कृषि क्षेत्रमा कामदारहरुका समस्याका बिषयमा जानकार रहेको बताएको थियो । साथै कृषि क्षेत्रलाई छुट्टै टोली बनाई समस्या निराकरण गरिने बिश्वास दिलाएको थियो । आगामी बर्षदेखि सुरुवात गरिने अनलाइन भाषा परिक्षाका लागि हालसम्मको प्रबिधिगत तयारीका बिषयमा जानकारी गराइएको बास्तोलाले बताए ।
भाषा परिक्षाको लागि तयारी गरिएको प्रबिधि अवलोकन तथा नेपाल र कोरिया बीच प्रणाली संयोजन गर्न दक्ष प्राबिधिक नेपालको लागि खटाउन पनि आग्रह गरिएको थियो । उक्त कार्यका लागि छिट्टै एक प्राबिधिक टोली नेपाल पठाउने निर्देशक यु बोम यु जानकारी गराएका थिए । नेपालमा स्वास्थ्यमा खराबी नदेखिएको तर कोरियाबाट क्षयरोगको शंकामा केहि कामदार स्वदेश फिर्ता हुनुपरेको नेपाली पक्षले उठाएको अर्को बिषय थियो । क्षयरोगको आशंकामा फिर्ता भएका युवाहरुमा स्वास्थ्य समस्या नरहेको स्पष्ट पारिएको थियो । कोरियाली पक्षले रोगको बिषय चिकित्सकको क्षेत्र भित्र रहेकोले दुवै पक्षका चिकित्सक बीच एक अन्तरक्रिया गरिने जानकारी गराएको थियो ।
दुइ पक्ष बीच अवैधानिक नेपाली कामदारका बिषयमा पनि छलफल भएको थियो । अवैधानिक कामदार स्वेच्छिक रुपमा घर फिर्ता हुनेहरुलाई कम्पनीहरु मार्फत सिपमुलक तालिमको कक्षा संचालन गरिएको एचआरडी कोरियाली पक्षले जानकारी गराएको थियो । कोरियाले अवैधानिक कामदारको संख्या घटाउन खुसिसाथ घर फिर्ती अभियान पनि संचालन गरेको छ । अवैधानिक कामदार घटाउनको लागि इपीएस कार्यलयले गरेका कार्यहरु पनि जानकारी गराईएको थियो । अवैधानिक कामदार घटाउन कामदारको घरमा पत्र पठाईएको,फर्कनेहरुको लागि प्रोत्साहित गर्ने गरिएको , सफ्ट लोंनको व्यवस्था गर्ने तथा फर्केर कुनै पनि क्षेत्रमा उदारणीय कार्य गर्नेलाई राष्ट्रिय सम्मान गरिने निर्णयको कार्यन्वयन अन्तिम चरणमा पुगेको जानकारी गराएको इपिएस कार्यालयका निर्देशक बास्तोलाले बताए ।