कोरियामा प्राप्त कल्याणकारी कोषको रकम दुरपयोग नभएको दूतावासको स्पष्टोक्ती
सउल
बैदेशिक रोजगार प्रबद्धन बोर्डले नेपाली राजदूतावास दक्षिण कोरियालाई पठाएको रकम दुरपयोग नभएको दूतावासले स्पष्ट पारेको छ । कल्याणकारी कोषको रकम दूतावासले कोरियामा मृत्यु भएका नेपालीहरुको शब नेपाल पठाउन मात्र प्रयोग गर्ने गरेको दूताबासका लेखा सहचारी रमेश गैरेले जानकारी गराए ।
गत आर्थिक वर्ष २०७२।७३ मा कोरियाबाट २१ शब नेपाल पठाएका मध्ये १७ शबको खर्च कल्याणकारी कोषकै रकमबाट गरिएको लेखा सहचारी गैरेले बताए । बैदेशिक रोजगार प्रबद्धन बोर्डले दूतावासलाई पठाएको रु. ९५ लाख मध्ये ७५ लाख खर्च भएको र बाँकी २० लाख रकम सउन महिनामै नेपाल पठाइसकेको लेखा सहचारी गैरेले स्पष्ट पारे ।
आर्थिक वर्ष २०७१।७२ मा १४ हजार मात्र बेरुजु देखिएता पनि त्यो पनि हिसाब मिलानको प्रकृयामा रहेको गैरेले जानकारी गराए । केही दिन अघि प्रकाशित विभिन्न राजदूतबासमा बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले पठाएको कल्याणकारी कोषको रकम दुरपयोग भन्ने समाचारमा दक्षिण कोरिया राजदूताबासको सबैभन्दा बढी १ करोड १० लाख ६४ हजार रकम उल्लेख गरिएको थियो ।
बैदेशिक रोजगार प्रवद्धन बोर्डले विदेशीने हरेक कामदारबाट देशबाट बाहिरिनभन्दा अघि रु.१ हजार लिने गर्छन । सो रकम कल्याणकारी कोषमा जम्मा गरिने छ । सोही कोषबाट विभिन्न राजदूताबास मार्फत विदेशमा रहेका नेपाली कामदारलाई सहयो गर्न बोर्डले रकम पठाउने गर्छ ।