कोरियाले नेपालको पुननिर्माणका लागि १ अर्व सहयोग दिने
देवेन्द्र सम्बाहाम्फे
सोल-गत बैशाख १२ गते गएको बिनाशकारि भूकम्पबाट क्षतिग्रस्त नेपालको पुननिर्माण र पुनस्थापनाका लागि दक्षिण कोरिया सरकारले करिब १ अर्ब रुपैयां (१ करोड अमेरिकी डलर) सहयोग गर्ने घोषणा गरेको छ ।
यहांको बिदेश मन्त्रालयले बुधबार जनाए अनुसार नेपालको तत्काल पुनस्सथापना र पुन निर्माणका लागि पहिलो चरणमा सो सहयोग रकम दिन लागिएको हो । नेपालको आबश्यकतालाई अध्ययन गरेर मध्यकालीन र दीर्घकालीन आयोजनाहरुमा सहयोग जारि राखिने पनि मन्त्रालयले जनाएको छ ।
कोरिया सरकारले संयुक्त राष्ट्र संघ विकास कार्यक्रम अन्र्तगत र संयुक्त राष्ट्र बालकोष मार्फत पुर्नस्थापना र अन्य विकास निर्माणका कार्यमा सहयोग गर्ने जनाएको छ । बैशाख १२ गते भूकम्प गए लगतै कोरिया सरकारले १ करोड रुपैयासहित, उद्धारकर्ता, औषधी, उद्धार सामाग्री, पानी सहयोग गरेको थियो ।
भूकम्प पीडित नेपालीहरुको सहयोगका लागि बिभिन्न कोरियाका बिभिन्न प्रदेश सरकार, नगपालिका, प्रसारण कम्पनी, उद्योग, परोपकारी संघसस्था, खेलाडी, सर्वसाधारण, सेलिब्रेटी, रेडक्रस, लगायतले सहयोग संकलन गरिरहेका छन् ।
सोलस्थित नेपाली दूतावासले स्थापना गरेको ‘महाभूकम्प उद्धार राहत कोष’ मा सहयोग रकम जम्मा हुने क्रम जारिरहेको दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले बताए । राजदूत लामाका अनुसार उद्धार राहत कोषमा पछिल्लो चरणको ३ करोड ५० लाख रुपैयां जम्मा भएको छ । सहयोग संकलन १५ करोड रुपैयां पुर्याउने लक्ष रहेको पनि राजदूत लामाले जनाकारि दिए ।
यसअघि दूतावासले पहिलो चरणको सहयोग गत अघिल्लो शुक्रबार १ करोड ८२ लाख रुपैयांसहित २ सय थान टेन्ट, पन्जा, ९ सय थान कम्बल, चाउचाउ, औषधि तथा अति आवश्यक ९ टन सामग्री प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको थियो भने दोश्रो चरणमा कोरियन सहयोगदाता र कोरियामा बिभिन्न पेशा र ब्यवसाय गरेर बसेका नेपालीहरुबाट प्राप्त ५ करोड १० लाख रुपैयां प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको थियो ।
त्यस्तै कोरियामा कार्यरत नेपाली संघसंस्थाले पनि भूकम्प पीडितका लागि अभियानका रुपमा सहयोग संकलन गरिरहेका छन् ।