एयरपोर्ट
राम्री केटी छे । नजर भित्रको भित्रै छ । हातमा सानो फूलको गुच्छा छ । आधा घन्टा जति पछि ट्रलीमा केही सामान सहित एउटा खाइलाग्दो केटा बाहिर आयो । केटीलाई उसले देख्यो । केटीले पनि । एक शब्द नबोली कुद्दै झ्याम्म अंगाली । फ्यात्त फूलको गुच्छा भुइँमा झर्यो । केटोले केटीलाई जुरुक्कै उठाएर झन्डै एक फन्को घुमायो । बिस्तारै भुइँमा केटीलाई बिसायो । गालामा र ओठमा म्वाइ खायो । ‘छ्या लाज नभाकाहरु ।’ मेरो मनमा कताबाट यस्तो भाब आयो । ‘धत् यो नेपाल हो र ?’ आफैले सम्झाएँ ।
केटीले बल्ल फूल सम्झी । यसो हेरी । अनि लजाएर भुइँको फूल टिपी र केटाको हातमा दिई । ‘आइलभ यु ।’ केटी बोली । ‘लभ यु टु ।’ केटोले केटीको बोली नसकिदै बोल्यो ।
दस बाह्रवटा क्यामरा ढोका तिर सोजिएका सोजिएकै छन् । यसो हेर्छु क्यामरा लेन्स राम्रो छ । क्यामरा पनि राम्रा छन् । त्यो भन्दा पनि राम्रा त छाँटिएर बसेका केटीहरु छन् क्यामरासँगै । रिर्पोटर होला । कोही ठूलै मान्छे आउँदैछन् कि क्या हो ? को आउँदै होला । म यो देशको चर्चित मान्छे कोही चिन्दिन । चिन्नु पनि किन नि ?
एउटा क्यामरा र छाँटिएको केटी हुलको एउटा बिदेशी अनुहारलाई निहुरिएर ढोग्छ । केटीले एउटा कागजको रंगिन फूलको माला गलामा भिराइदिन्छ । अनि क्यामराले फोटो खिच्छ । पोज दिन लाउँछ । म बिदेशीको अनुहार तिर हेर्छु । भ्यात्त भुँडी अगाडी आएका अग्लो ज्यान छ । कपाल पुरै फुलेको छ । अनुहार सेतो छ । थाकेर होला फोटो सुटमा त्यति खुशी देखिदैन । तै पनि क्यामराको निर्देशन अनुसार उ पोज दिन्छ । केटीको अनुहारमा जतिखेर पनि हाँसो छ । नक्कली ।
‘म आराम गर्न चाहान्छु ।’ बिदेशी अनुहार भन्छ । ‘स्योर सर ।’ केटी भन्छे । ‘हामी तपाईको भ्रमणलाई सम्झना योग्य बनाउन चाहान्छौ । त्यसैले मात्र यो सबै ।’ केटी बिदेशीलाई स्पष्टिकरण दिन्छे । पैसाले गर्नु गर्छ । म आफै सोच्छु । पछि होटेलले बिदेशीलाई कति डलर चार्ज गर्छ यो फोटो सुटको ? मनमा प्रश्न उब्जन्छ । हेर्दा हेर्दै क्यामराहरु उस्तै गरि एक एक गरि आफ्ना बिदेशीलाई पोज सिकाउँछ । खिच्छ र उसँगै जान्छ ।
मान्छे आउँछन् जान्छन् । पर्खनेहरु पर्खिएका छन् । एक होइन अनेक । जात्रा जस्तो । मान्छे पनि कति हुन कति ? कता कताका हुन् हुन् ? बोलिने भाषा अनेक छन् । धेरैले जानी नजानी अंग्रजी बोलेका छन् । एउटा देश र अर्को देशको बोली पनि फरक छ । हुनत एउटै देशमा पनि भाषा अनेक नहुने होइन । त्यसैले दोहोर्याएर सोधेका छन् अंग्रजी पनि ।
म इन्छन एयरपोर्टमा छु । दक्षिण कोरियाको ठूलो अन्तराष्ट्रिय एयरपार्ट । हवाइजहाज आउने जाने ठाउँ । गएको बर्ष भरि पचास लाख भन्दा बढि मानिसले आउन जान यो एयरपोर्ट प्रयोग गरेछन् । यसमा मैले पनि तीन चोटी प्रयोग गरेछु । बर्ष भरिमा तीस लाख ६ सय भन्दा बढि पटक प्लेन उड्ने बस्ने गरेछन् । कति ब्यस्त छ त ?
एक जना अतिथी आउने छन् । उनले डिटेलमा केही लेखेका छैनन् । बेलुकीको पाँच बजे ओर्लन्छु । सबा पाँच सम्म बाहिर निस्कन पाउँछुहोला । बस त्यति छ ।
पाँच नबझ्दै पुगेछु । गन्तब्य जाने र आउने ठाउँ फरक फरक छ । म आउने तिर पुग्छु ।
लौ कस्तो हुस्सु गाँठे उनी बारे केही डिटेल थाछैन । अमेरिकाबाट आउने त हुन् । तर कुन ठाउँबाट ? मान्छे आउने पनि ढोका धेरै छन् । एबीसीडी हुँदै जी एचसम्म । ती सबैमा कुन एयरलाइन्सको कहाँको प्लेनका यात्रु कुन ढोकाबाट निस्कन्छन् भन्ने कुरा ठूला ठूला डिजिटल नोटिसबार्डमा आउँछन् । फसाद । देश देशका होइन सहर अनुसारको ढोका छ । अमेरिकाको बासिङटन डीसीबाट आउने ढोका एउटा छ क्यालीफार्नियाबाट आउने ढोका अर्कैछ । अतिथी जी कुन सहरबाट आउने ?
एक घन्टा बित्यो । अर्थात छ बज्यो । अतिथी कुन ढोकाबाट निस्कने हुन् ? म कहिले ए कहिले बी हुँदै वरपर गर्दै डुलेको डुलेकै छ । त्यस्तै डुल्दा म मान्छेका रमिता हेर्छु ।
भौतिक संरचना पनि भब्य छ । जुन ढोकाका अघि पनि प्रतिक्षा गर्नका लागि बस्ने कुर्सी छ । वाइफाइ छ । यातायात ब्यवस्थापन त्यस्तै राम्रो छ । खास कुरा त यो एयरपोर्ट नै समुन्द्र माथि बनाइएको हो । हाइ पैसा, धन, टेक्नोलोजी सबै छ । म दुई घन्टा देखि रमेते छु ।
मान्छेका नाम लेखेको प्ले कार्ड बोकेर बस्ने पनि धेरै छन् । मान्छे नचिन्नेका लागि यो काइदा राम्रो छ । मान्छे आउँछन् । प्लेकार्ड बोक्नेहरु परिचय गर्छन । अनि पुरानो बालसाथी जस्तै गफिन्छन् ।
दुई घन्टा बित्नै लाग्यो । कता पुगेछन् ? मान्छे पर्खनु पनि गाह्रै काम रैछ । प्लेन डिले भएको पनि हुनसक्छ । खै कता कताको प्लेन त डिले छ । नोटिसबार्डमा त्यही देखाउँछ । फोनको व्यबस्था छ । भाइबर छ । फेरबुक म्यासेन्जर छ । बाहिर वाइफाइ छ । सम्पर्क गर्लान नी । ‘म यतै छु । आए पछि सम्पर्क पाउँ ।’ एयरपार्ट पुग्ने बितिकै म्यासेज पठाकै हुँ ।
घुम्दै गन्तब्य जाने ठाउँ तिर पुग्छु । बिछोडका पीडा धेरै छन् यता । मिलनका आशा पनि छन् । हातमा सानी बच्चा बोकिकी आँखामा पिलपिल आँशु झर्दैछे । प्यारा कतै गका होलान् । दुईजना नेपाली रैछन् । कुरा गर्दैथे । ‘तीन बर्षमा बल्ल छुट्टि भो । जति भन्दा पनि छुट्टि नै दिन नमान्ने । कस्तो किच्चक साहु परेछ भने ।’ एउटाले भन्यो । ‘तिमीलाई थाहै न छ नी म त झन् चार बर्ष दस महिना सकेर हिडेको । पैसा भन्नु मात्रै ।’ अर्कोले थप्यो । ‘मलाई त मेरो छोराले चिन्दैन होला । यता आउँदा जन्मेकै थिएन । अहिले स्कुल जान्छ ।’ पहिलोले मनको तीतो पोख्यो । ‘मेरी बुढीले त अस्ति झन् खै कुन गीतलाई हो म्यासेज गरेकी थिई ।
सपना झै रमाइलो गराउँछौ
दुई दिन आउँछौ दुई बर्ष हराउँछौ ।’
टिङटिङ । कुरा सुनेर बसेको बेला म्यासेज आयो ।
अतिथीको रैछ । हतारिएर म्यासेज हेरेँ ।
‘सरी है हामीलाई त सिधै होटेल पो लगे एयरलाइन्स वालाले ।’