आर्थिक विकासमा दक्षिण कोरियाबाट सिक्नुपर्ने पाठ
दक्षिण कोरिया
छ दशकअगाडिसम्म विश्वमा दक्षिण कोरियाको स्थान गरिब राष्ट्रहरूमध्ये आठौँमा थियो । आज उसको स्थान गरिब राष्ट्रलाई अनुदान दिने मुलुकहरूमध्ये आठौँमा छ ।
जुन बेला दक्षिण कोरिया चरम गरिबीमा थियो त्यसबेला नेपालबाट समेत दक्षिण कोरियामा उपभोग्य सामान निर्यात हुन्थ्यो, आज नेपाल कोरियामा कामदार पठाई रेमिट्यान्स भित्र्याउने प्रमुख मुलुहरूमध्ये एक बन्न पुगेको छ । रेमिट्यान्सले धानेको नेपालको अर्थतन्त्रको एउटा हिस्सा कोरिया पनि बन्न पुगेको छ ।
दोस्रो विश्वयुद्धमा जापानको पक्षबाट लडेको कोरिया विश्वयुद्धपश्चात् सन् १९४५ मा जापानी उपनिवेशबाट मुक्त भएको हो । उपनिवेशबाट मुक्त भएलगत्तै कोरिया उत्तर र दक्षिण गरी दुई कोरियामा विभाजित भयो ।
सन् १९४५ देखि ४८ सम्म अमेरिकी सैनिक सरकारबाट शासित दक्षिण कोरियामा १९४८ मा गणतान्त्रिक सरकार स्थापना त भयो, तर सन् १९५० देखि ५३ सम्म भएको उत्तर र दक्षिण कोरियाबीचको युद्धले दुवैलाई थप तहसनहस बनायो ।
एकातिर विभक्त र अर्कातर्फ युद्धको चपेटामा परेर दयनीय अवस्थामा पुगेको मुलुकको आजको अवस्था हेर्ने हो भने त्यो विश्वकै लागि अनुकरणीय बन्न पुगेको छ ।
युद्धबाट क्षतिग्रस्त भएपश्चात् विकासविद्हरू अब १ सय वर्षमा पनि दक्षिण कोरिया माथि उठ्न नसक्ने विश्लेषण गर्थे, तर त्यो विश्लेषणलाई गलत सावित गर्दै ५० वर्षमै कोरियाले विश्वका विकसित मुलुकको सूचीमा आफ्नो नाम दर्ज गरायो ।
दोस्रो विश्वयुद्ध अगाडिको इतिहास हेर्ने हो भने दक्षिण कोरिया जापानी राजनीतिको क्रीडास्थल थियो । विश्वयुद्धपछि जापानी उपनिवेशबाट मुक्त भएपछि पनि अमेरिकी प्रभावबाट यो मुक्त भएन ।
तर, विश्व राजनीतिको जतिसुकै प्रभाव परे पनि कोरिया विकासको पथबाट कहिल्यै विचलित भएन । संकटलाई शक्तिमा बदल्नुपर्छ भन्ने उदाहरण बन्यो ।
सम्भवतः दोस्रो विश्वयुद्ध नभएको भए कोरिया दुई भागमा विभक्त हुने थिएन होला, तर जापानी उपनिवेशबाट पनि मुक्त हुने थिएन । आज पनि कोरिया जापानी दासत्व स्विकारिरहेको हुने थियो कि ? विश्वयुद्धको विनाशलीलाबाट विकासको पाठ सिक्ने थोरै मुलुकमध्ये कोरिया अग्रस्थानमा रह्यो ।
दक्षिण कोरियाको विकासमा तीन कुराले महत्वपूर्ण भूमिका खेल्यो । पहिलो सरकारको विकास नीति, दोस्रो वैदेशिक सहयोग तथा तेस्रो जनताको सहभागिता र विकासमा प्रतिस्पर्धा ।
जब दुई कोरियाको युद्धबाट दक्षिण कोरिया तहसनहस भयो तब त्यहाँ त्यस्तो सरकारको आवश्यकता महसुस गरियो जसले दु्रततर विकासको नीति ल्याओस् । युद्धपछिका सरकारहरूले विकासका विभिन्न मोडल ल्याए ।
खासगरी सन् १९६३–७९ मा पार्क चङ्ही त्यहाँको राष्ट्रपति भएपछि उनको आर्थिक विकास नीतिले तीव्र गति लियो । त्यसैले त्यहाँका नागरिक उनलाई कोरियाली विकासका पिता मान्छन् । उनले आफ्ना विकासका नीतिहरू कार्यान्वयन गर्न केही कठोर कदमहरू पनि चाले । उनका ती कदमहरूले नै आज विश्वका सामु दक्षिण कोरियालाई चिनायो ।
युद्धको चपेटामा परेपश्चात् दक्षिण कोरियामा चरम गरिबीको चरण आयो । त्यहाँको विनाशसँगै अन्तरराष्ट्रिय आर्थिक सहयोगले पनि अघिल्लो समयमा पर्याप्त भूमिका खेल्यो । अमेरिका, जापान, युरोपियन मुलुक र अन्तरराष्ट्रिय गैरसरकारी निकायहरूले दक्षिण कोरियाको विकासका लागि अनुदान दिए ।
यो अनुदान सहयोगलाई कोरियाले राम्ररी सदुपयोग ग¥यो । त्यसैले प्रारम्भमा अनुदान सहयोगबाट विकास भएको सो मुलुक आज अन्य देशको विकासका लागि अनुदान दिन सक्ने भएको छ । त्यसो त कोरियाको विकासमा सबैभन्दा ठूलो योगदान नै त्यहाँका जनताको छ ।
जनताको साथले मात्र दिगो विकास सम्भव छ भन्ने कुराको उदाहरण दक्षिण कोरिया बन्न पुगेको छ । जनताको मेहनतकै कारण कोरिया विश्वको उदीयमान अर्थतन्त्रमा परिणत भएको छ । विकसित मुलुकहरूको संगठन जी–२० मा यतिबेला कोरिया सदस्य राष्ट्र बनिसकेको छ ।
आज विश्व अर्थतन्त्रको एक हिस्सा बनेको कोरियाको विकास मोडल संसारका लागि अनुकरणीय बनेको छ ।
सरकारको सही नीति, स्वदेशी तथा विदेशी सहयोग, स्रोत–साधनको सही सदुपयोग र जनताले मेहनत गर्ने हो भन्ने विकासका लागि अरू धेरै विचार र सिद्धान्तको जरुरत पर्दैन भन्ने उदाहरण दक्षिण कोरिया हो । आज कतिपय व्यक्ति प्रजातन्त्रलाई विकासको पूर्वसर्त भनेर राजनीति भजाउँछन् तर दक्षिण कोरिया विकासलाई प्रजातन्त्रको पूर्वसर्त भन्छ । प्रजातन्त्रले विकास हुने होइन, बरु विकासले प्रजातन्त्र टिकाउँछ ।
विकासले नै राजनीतिलाई डो¥याउँछ र विकसित राष्ट्रमा नै मानवअधिकारको पूर्ण प्रत्याभूति हुन्छ भन्ने कुरा कोरियाबाट सिक्न सकिन्छ । कोरियाले शिक्षामा ठूलो लगानी गरेको छ ।
कुनै समय त्यहाँको ठूलो संख्या अध्ययनका लागि अमेरिका जान्थ्यो । अमेरिकामा पढ्ने अन्य मुुलुकका विद्यार्थीहरूमा कोरियाली अधिक थिए । आज विश्वको ठूलो जनसंख्या सूचना प्रविधिलगायतको प्राविधिक शिक्षाका लागि कोरिया धाउँछ । त्यहाँको झन्डै शतप्रतिशत जनसंख्या शिक्षित छ । शिक्षित जनशक्तिको सदुपयोग पनि गरेको छ ।
उद्योगधन्दाको विकासमा छलाङ मारेको छ । आज कोरिया अनुदानदाता मात्र होइन, विश्वका गरिब मुलुकहरूका लागि रोजगारदातासमेत बनेको छ । विश्वप्रसिद्ध सामसुङ, हुन्डाई, एलजीजस्ता कम्पनीहरू कोरियामा स्थापित भएका छन् । त्यहाँको सूचना–प्रविधिमा विश्वकै महाशक्ति राष्ट्र मानिने अमेरिकाभन्दा पनि अगाडि छ ।
सूचना प्रविधिमा विश्वको केन्द्रबिन्दु कोरिया बनेको छ । यो विश्वमै सबैभन्दा उच्च गतिको इन्टरनेट भएको देश पनि हो । ९० प्रतिशत कोरियाली जनतामा इन्टरनेटको पहुँच छ, त्यहाँको अधिकांश दैनिक गतिविधि सूचना प्रविधिबाट चल्छ । डिजिटल दैनिकी छ भन्दा अत्युक्ति हुँदैन । उच्चस्तरीय सुरक्षा प्रबन्ध छ, तर त्यो सुरक्षा व्यक्तिले भन्दा प्रविधिले गर्छ ।
मुलुक बने जनता बन्ने कि जनता बने मुलुक बन्ने भन्ने पनि आधुनिक विश्वमा बहसको विषय बनेको छ । तर, कोरियाले मुलुक बने जनता बन्छन् भन्ने उदाहरण पेस गरेको छ । कोरियामा सन् १९५० मा प्रतिव्यक्ति आय अमेरिकी डलर ६३ रहेकोमा सन् १९७० मा आइपुग्दा १ हजार पुग्यो ।
सन् २००० मा वृद्धि भएर २० हजार डलर पुगेको प्रतिव्यक्ति आय अहिले ३७ हजार अमेरिकी डलर छ । सुन्दा पत्याउनै नसक्ने यो द्रुततर आयवृद्धि दक्षिण कोरियाली जनताको छ । तर, सँगै विभक्त भएको उत्तर कोरियाका जनताको जीवनस्तर निकै कष्टकर छ, जो पहिले दक्षिणभन्दा समृद्ध थियो ।
अहिले दक्षिण कोरिया विश्वमा विकासमा प्रतिस्पर्धा गरिरहेको छ भने उत्तर अस्त्र–शस्त्र र शक्तिको प्रतिस्पर्धा गर्न खोजिरहेको छ । दक्षिणको राजनीति जनमुखी छ, उत्तर कोरियाको राजनीति सरकारमुखी (सत्ताकेन्द्रित) छ । दक्षिण कोरियासँग अहिले पनि विभाजनको पीडा छ, तर पनि विकासले त्यो पीडामा केही हदसम्म मलम लागेको छ ।
नेपालजस्तो विकासोन्मुख मुलुकले दक्षिण कोरियाजस्तो विकसित मुलुकबाट सिक्ने धेरै कुरा छन् । नेपालले कोरियामा कामदारहरू पठाएर रेमिट्यान्स भित्र्याउने मात्र होइन, त्यहाँको विकासको मोडल भित्र्याउन सक्नुपर्छ । कोरियाली विकासको रहस्यलाई आत्मसात् गर्न सक्नुपर्छ ।
खासगरी दक्षिण कोरियाली विकासका तीन आधार सरकारको नीति, वैदेशिक सहयोग र जनताको सहयोगलाई नेपालको विकास मोडलका रूपमा अवलम्बन गर्न सकिन्छ । अहिले नेपालमा वैदेशिक सहयोगको बाढी लागेको छ । तर, सही रूपमा सदुपयोग हुन सकेको छैन ।
नेपाली स्रोतमा त भ्रष्टाचार छ नै, वैदेशिक सहयोगमा समेत भ्रष्टाचारको जालो लागेको छ । यसको नियन्त्रण आवश्यक छ । देश विकासका लागि हामीकहाँ जनशाक्तिको अभाव छैन ।
ठूलो संख्यामा रहेको बेरोजगार जनता जति पनि मेहनत गर्न तयार छन् । अब आवश्यकता छ त मात्र दूरदर्शी विकास नीतिको र पार्क लिजस्ता दूरदर्शी नेतृत्वको ।
नेपालको विकासमा सबैभन्दा ठूलो खाडल नै सरकारी नीतिको छ । राज्यसँग विकासको ठोस नीति छैन, मात्र टालटुले नीति छ । स्थिर सरकार छैन । सही नेतृत्वको विकास हुन सकेन । अर्को मुख्य समस्या राजनीतिक नेतृत्वसँग दूरदृष्टि छैन ।
देशका लागिभन्दा पनि पार्टीका लागि राजनीति गर्ने र पार्टीका लागिभन्दा गुटको राजनीति गर्ने अनि अझ त्यसबाट पनि संकुचित हुँदै व्यक्ति केन्द्रित राजनीति गर्ने परिपाटी बढ्दो छ । यसो हुँदा देशचाहिँ पछि पर्दै छ । देशको यो नियतिबाट मुक्त हुन हामीले खासगरी राजनीतिक नेतृत्वले दक्षिण कोरियाको विकास मोडलबाट केही सिक्ने हो कि ?
स्रोतः कारोबार दैनिक