कविता
बाकस भरी
धन कमाउने झिनो आशामा
जूनजस्तै रहरहरु बोकेर
लाहुर हिडेको
म बेरोजगार युवा
पुगेछु हजारौं माइल दुर
र
छलाङ मार्दै छन्
मेरा सपनाहरूले
बञ्जर भूमिमा
मानव भएरपनी
धूर्त स्यालझै
अनुहार परेका मुर्कट्टाहरुकाे राज्यमा
पाइदैन कुनै
दया, माया, करुणाका खानीहरु
यहाँ यस्तो लाग्छ
मानव मेसिन जस्तै छन्
मेसिन मानव जस्तै छन्
तर पनी
अह कत्ती थाकेका छैनन्
मेरा मस्तिष्क र सिर्जनशील औंलाहरु
भत्काउनु छ मलाई
गरिबीको पर्खाल
चुक्ता गर्नु छ
जिन्दगीका अक्षरहरु
कोर्दा खर्चेको बक्यौता रकम
छाउनु छ खरको छानो
ल्याउनु छ खुशी चाउरिएका आमाका ती अनुहारमा
अन्त्य गर्नु छ
अभाव र भोगको साम्राज्य
तोडनु छ वर्गीयताको लाल किल्ला
संसारकै ठुलो मान्छे बनेर हैन
संसारकै राम्रो मान्छे बनेर हैन
मलाई असल मान्छे बन्नु छ
छोरा छोराजस्तै बनेर
पूरा गर्नु छ बा’को सपना
बाकस भरी धन कमाउने झिनो आशामा
जूनजस्तै रहरहरु बोकेर
लाहुर हिडेको म बेरोजगार युवा
उजाड उराँथ भूमिमा श्रम बेचिरहेछु
रगत पसिनाको दह भित्र
सपना टिपिरहेछु
पक्कै आउँछ बाकस
हुनसक्छ त्यो बाकस पैसाले भरिएको
बाकस या सपना
टुत्रा टुत्रा टुक्रिएको बाकस !
– म्याग्दी हाल दक्षिण कोरिया