..दशैँ
कविता
म सानै हुँदा
मेरो झुपडीबाट दशैँ निस्केर गएको थियो
भन्थ्यो यो बर्ष
अनिकाल उसिनेर खाँदै गर्नु
अर्को साल एक जोर नयाँ कपडा
दशैलाई पुग्ने एक पाथी चामल
हरिया लोती भएका हात्ती छाप चप्पल लिएर आउछु
भनेको तिसौँ सरद बितिसकेको छ
आज सम्म फर्केन मेरो झुप्रोमा
मेरो दशैँ
यो साल पनि मैले
गरीबी कै पक्कु अनि सेकुवा बनाउने
आधी भोकमारीमा झोल हाल्ने
र आधी भोकमारी भुटेर खाने निर्णय गरिसके
खै किन आएन
मेरो बस्तिमा मेरो दशैँ अझ सम्म
म बेखबर छु ।
सायद मेरो दशैँ लुटियो होला शहर तिरै र
लुटिएको हुनु पर्छ
सुनको थालमा चाँदिको चम्चाले
चौरासी बेन्जन जिउनरायण गर्ने लुटेराहरुबाट
खबदार्! लुटेराहरु हो
लुटिसकिएको दशैँको दुइ शब्द मात्र मेरो बस्तिमा नपठाउ
धेरै भो मेरो अगेनमा जाउलो न उम्लेको
मेरो अगेनाको आगो र तातो ओदान रिसाएको छ
तिमीहरुबाट
आगो गरीबका अगेनोमा मात्रै बस्नु पर्छ भन्ने छैन
पस्न सक्छ तिम्रो शाहरमा
तातो लप्को बनेर खबदार!! होस गर !!!!