त्यो बाल्यकाल, त्यो दशै
‘दिदी दशैमा घर आउने होइन ?’ कान्छीले सोधी ।
‘प्लेनको टिकट पाइन उभिएर आउदा टाढा छ । भैगयो यो बर्ष यस्तै हो अर्को वर्ष आउँछु ।’ थोरै जोक मिसाएर मैले भनेँ ।
काठमाडौमा हुँदा दशै आउनु एक महिना अघि हामी दिदीबहिनीको के लाउने के किन्ने भनेर कुरा हुन्थ्यो । मलाई सामान्य पाइन्ट, भेस्ट र क्लोज सुज भए हुने । कान्छी बहिनी भने फेशनेबल । उस्को लुगाको ईच्छा नै मज्जाको । हाई हिल सुज, टाइट भेस्ट र जिन पाइन्ट । नभए वान पिस । घरकी कान्छी । उसको प्राय डिमान्ड पुरा भैहाल्छ ।
म काम गर्छु । दशैको सपिंग आफनै पैसाले गर्नुपर्छ । त्यसैले खल्ति हेरेर सपिंग गर्नु बाध्यता हो । कान्छी भन्छे ‘कति कन्जुस यो दिदी दशै सपिंग पनि डराएर गर्ने ?’ ‘आफैले खल्तिबाट क्यास निकाल्नु परे पछि यस्तै हो बहिनी । आफैले कमाए पछि थाहा हुन्छ ।’ म भन्छु । प्रतिउत्तरमा बहिनी हाँस्छे ।
यो बेला मेरो घरमा दशैको मुड छ । बहिनीको सपिंग सकिसक्यो । मम्मीले घरका लागि चाहिने किनमेल सकिसकिन । म भने बिदेशमा छु । कमाउन आको मान्छे । दिनको बाह्रा घण्टा काम गर्छु । मेरो लागि के दशै के तिहार ।
बाल्यकालको दशै धनुषाको शान्तिपुर गाउँमा बित्यो । गाउँ भरिमा दुई घर मात्र तामाङका थिए । पल्लो गाउँमा मगरको बस्ती थियो । बाँकि मधेशी समुदाय । दशै सुरु हुन्थ्यो घरको सरसफाइ लिपपोत गरेर । घर लिपपोत गर्न मान्छे राखिन्थ्यो । एक दिनको ५० रुपैया अनि खाजा र खाना । पहिला माटोले लिपिन्थ्यो त्यसपछि चुन दलेर घरलाई उज्यालो पारिन्थ्यो । अनि रेलिंग, झयाल, ढोकामा हरियो, निलो इनामेल लगाइन्थ्यो । हेर्दा हेर्दै हाम्रो घर गाउँ भरिकै चिटिक्क हुन्थ्यो ।
लिपपोत सकिए पछि हाम्रो काम सुरु हुन्थ्यो । म र दिदीको भागमाा भाँडा सरसफाईको काम पथ्र्यो । बहिनी सानी भएकीले केही छुनै पर्दैनथ्यो । तामाका भाडा ठूला र गह्रुगो थिए । मस्काउन साह्रै गाह्रो । भाडा चम्काउन बज्यैले सहयोग गर्थिन । हामी भाँडाको सरसफाई अल्छि गरेर गर्थिउँ । हाम्रो पारा देखेर बज्यै भन्थिन् ‘अल्छी नगरी काम गर दशैमा धेरै पैसा दिन्छु ।’ पैसाको लोभले काम गर्ने इनर्जी चल्थ्यो । ।
टिकाको दिन । नयाँ लुगा लगाएर तयार भयौ । बाजेबज्यैले क्रमैसँग टिका लाउनुहुन्थ्यो । बाबाआमा, काकाकाकी हुदै हामी भाराभुरीहरुको पालो आउँथ्यो । दिदीले टिका थापिन् अनि मैले । आफूलाई भने आशिर्वादको भन्दा नि पैसाको लोभ छ । कति दिनुहोला बाजे बज्यैले ? बाजे आशिर्वाद थोरै दक्षिणा धेरै दिनुस् है मनमनै भन्थे ।
दिदी बहिनीमा जेठी हिमा । दिदी भाकीले जुन दशैमा पनि धेरै पैसा पाउछे । पहिलेको दशैमा झै यो दशैमा हिमाले बढि पैसा पाई । मैले मम्मीलाई गुनासो गरेँ । ‘हिमा तँ भन्दा जेठी हो नि त ।’ मम्मीको जवाफ हुन्थ्यो । टिका लगाएपछि खानपिन शुरु हुन्थ्यो घरमा । दिदीले पाएको पैसाले कपि कलम, औजार बक्स, डिक्सनरी किन्थिन । आफू भने ठीक उल्टो । म कानमा लाउने झुम्की किन्थे । रंगीचंगी चुरा किन्थे । हिरोहिरोइनको पोस्टकार्ड किन्थे । दशै सकिन नपाउदै मेरो दक्षिणा सकिसक्थ्यो । दशैको दोस्रो दिन ठूलो मम्मीकोमा टिका लगाउन गइन्थ्यो । मेरा साथीहरु मामाघरमा जान्छौ भन्थे । हाम्रो मामा नभएकोले ठूलो मम्मीको घरलाई नै मामाघर भन्थेउँ ।
ठूलो मम्मी जनकपुरमा बस्नुहुन्थ्यो । हाम्रो गाउँबाट जनकपुरका लागि दिनमा २ वटा बस चल्थ्यो । त्यो दूई मध्ये पनि एउटा बस कहिले चल्ने कहिले नचल्ने । त्यसैले सधै चल्ने बसमा जान पथ्र्यो । ठूलीआमाको घर जाँदा खुब रमाइलो हुने ।
एक पटक हामी सबै परिबार ठूली आमाकोमा जान तयार भयौ । बस हर्न बजाउदै आयो । हेर्छु बस तल माथि सबै प्याक । कसरी जाने होला ठूलो मम्मीको घर ?
‘भो पछि जाउला ।’ मम्मीले भनिन् । मैले जिदी गर्न थालेँ । नाई म त जसरी भए नि जान्छु । जिदीले काम गर्यो । जसो तसो बसमा चढियो । खुटा राख्ने ठाउँ छैन । शुरु भयो सकसपूर्ण जनकपुर यात्रा । भण्डै ढेड घण्टाको कष्टपूर्ण यात्रा पछि जनकपुर पुगियो ।
‘पिडारीचौक पिडारीचौक ।’ खलासी चर्को स्वरले बोल्यो । बस रोकिएपछि हामी त्यही ओर्लियौ ।
बसको आधा भन्दाबढी मान्छे त त्यही ओर्लने रहेछन् । मान्छे धेरै भएर होला रिक्सा पाउन मुश्किल पर्यो । बल्ल बल्ल दुइवटा रिक्सा भेटियो । पिडारी चोक देखि मिल्स एरियासम्मको २५,२५ रुपैया । अरुबेला २० रुपियामा लैजान्थ्यो । । ‘ठिकै छ, बल्ल बल्ल रिक्सा पाइयो । धेरै मोलमोलाइ नगरौ ।’ बाबा बोल्नुभयो । रिक्सा चढ्यौ । रिक्साको सिटमा भएको फिल्मी पोष्टर आँखा तन्काएर हेर्थे म । रिक्सामा टासिएकाको पोष्टरबाट थाहा हुन्थ्यो जनकपुरको हलमा कुन फिल्म चलेको छ भनेर । बाँकी भित्तामा टाँसिएका पोष्टरबाट पनि थाहा हुन्थ्यो । त्यो भन्दा बढी म रिक्सावालाको परिश्रम देखेर छक्क पर्थे । घाम पानी नभनी उनीहरु रिक्सा चलाउथे । एकजना दूई जना मात्र होइन पाँच जना मान्छेसम्म रिक्सामा चढाएर गन्त्व्यमा पुर्याएको देखेको छु मैले । मान्छेले मान्छेलाई तान्नु कति गाह्रो हुदो हो । म अनुमान लाउथे ।
ठूलो मम्मीको घर । ठूलो परिवार । पाहुना थपिएपछि घरैभरि मान्छे नै मान्छे । टिका थाप्नेको पनि ओइरो । त्यसमाथि हामी थपियौ । हामीलाई देख्ने वितिक्कै बज्यैले अंगालो हाल्नुभयो । बज्यैको माया दर्शाउने तरिका पनि अनौठो छ । कस्सेर अंगालो हाल्नुहुन्छ पहिला अनि म्वाई खानुहुन्छ । अहो बज्यैको माया । मिस हुन्छ अहिले । दिनको १२ बजेतिर बज्यैको हातबाट टिका लगायौ हामीले । टिका थापिसके पछि बज्यैले हामीलाई छुटै कोठामा लग्नुभयो । अनि दराज खोल्नुभयो । मैले पुलुक्क मम्मी तिर हेरे बज्यैले फेरी दक्षिणा दिन लाग्नुभो मनमनै सोचे । बज्यैले त कचौरामा मासुको जस्तो परिकार पो निकाल्नुभयो । मम्मी मुसुक्क हास्नुभो ।
‘बंगुरको मासु विहान पकाएर राखेको, बाहिर राख्यो भने सकिहाल्छ त्यसैले दराज भित्र लुकाएर राखेको ।’ बज्यैले भन्नुभयो । म छक्क परेँ । हाम्रोमा बंगुरको मासु घर भित्र छिराउनु हुन्न, खानुुहुन्न बेला बेलामा बाजेले भन्नुहुन्छ । यहाँ त बज्यैले दराजमा पो राख्नु भएछ । घरमा पो खानु हुन्न यहाँ त खान भइहाल्छ नि ।
‘खा मीठो हुन्छ बंगुरको मासु ।’ मम्मीले भन्नुभयो ।
‘छि हिलोमा बस्छ बंगुर, म त खान्न ।’ दिदीले घिनाउदै भनिन् । म भने दोधारमा परे । जे पर्ला, पर्ला खान्छु । एक चोक्टा मुखमा हाले । रसिलो, छाला अनि बोसो भएको मासु, कति मीठो मासु, त्यो स्वाद अझै पनि जिव्रोमै छ । पहिलो पटक बंगुरको मासु पनि खाइयो । त्यो क्रम अहिले सम्म रोकिएको छैन ।
बिस्तारै हाम्रो घरमा दशैको बेला बली दिन छाडियो । रातो टिकाको साटो सेतो टिका चलाइयो । बसाइ पनि गाउँबाट शहर अर्थात काठमाडौ हुन थाल्यो । जे भएपनि बाल्यकालको दशै सम्झना अझै ताजा छ । त्यो बाल्यकाल, त्यो दशै ।