ताल्चाले बाध्ने माया
‘ताल्चा झुन्ड्याएर माया बाधिन्छ । पत्याउनु ?’ आफैले आफैसँग प्रश्न गर्यो ।
‘नपत्याउँ । कस्तो कस्तो आफ्नै गाउँको देबीदेउराली भाक्दा त केही भएन ।’
धेरै महिनादेखि नामसान टावर भनिने सोल टावर चढ्नु थियो । दक्षिण कोरियाको राजधानीमा भएको यो टावर न चढ्दा कति चोटी त साथीहरुले उसलाई जिस्काएका थिए । मनमा कता कता इख थियो । जाबो टावर पनि नचढिएला त । बिदाको बेलामा गैदिन्छु । जान्छु भन्दैमा कहाँ मिल्छ र कोरियामा । कहिले साथीभाइ नहुने कहिले अरु नै काम । झन्डै एक बर्ष नै पो भएछ कोरिया आएको । बल्ल आज नामसान चढ्ने साइत जुर्यो ।
टावरमा पुग्ने तरिका धेरै रहेछन् । गाडी, केवल सजिला उपाय भए । पैदल अलि अप्ठ्यारो । ऊसँग गएका साथीहरुले केवलकार चढेरै नामसान जाने भए । उसले हिडेरै जाने कुरा गर्यो । साथीहरुले उसको कुरा मानेनन् । उसले साथीहरुको । टावरमै जो अघि भए पनि कुरेर बस्ने सल्लाह भो । एक्लै नामसानको उकालो लाग्यो ।
टावर मान्छे नै मान्छे छन् । आइतबार भएर होला । धेरैको काम हुँदैन । बिदाको बेला ।
‘यो ताल्चा झुन्ड्याए आफ्नो माया अमर हुन्छ ।’ ताल्चा बेच्नेले भन्यो ।
एक मनमा त किनेर झुन्ड्याउन मन लाग्यो । फेरी सोच्यो भैगयो ।
*****
ऊ र उर्मिला एउटै स्कुल पढ्थे । ऊ उर्मिला भन्दा दुई कक्षाले सिनियर थियो । उनीहरु साथी थिए । गाउँबाट स्कुल अलि टाढै थियो । गाउँबाट सिधै ओरालो झर्नु पर्ने अनि सिधै उकालो चढ्नु पर्ने । अनि मात्रै स्कुल । उकालो बाटोको बीचमा चौतारो र धारो थियो । त्यही धारा र चौतारा उनीहरु भेट्ने थलो थियो ।
पहिले पहिले पानी पिउन र ओरालो झरेको थकाइ मार्न ऊ चौतारोमा बस्थ्यो । उर्मिला अलि ढिलो आउँथी । पानी पिउँथी । घरको स्कुलको कुरा गर्थी । अनि सँगै स्कुल जान्थे । सधै उनै पहिले चौतारामा पुग्थ्यो । केही गरि ऊ पहिले नपुग्दा उर्मिला पर्खन्थि । यो पर्खाइ अलि पछि दुबैलाई रमाइलो लाग्न लाग्यो ।
ऊ आठ कक्षा पास गरेर नौमा पुग्यो उर्मिला सातमा । उर्मिला काली काली भए नी ज्यान मिलेकी केटी थिइ । वा भनि नहाले पनि छ्या भन्ने खाल कि थिइन । राम्री थिइ । ऊसलाई कता कता उर्मिला मन पर्न थाल्यो । मनको कुरा कसरी भन्ने ? आँट गर्नु पर्ला । एक्लै हुँदा जहिले पनि यस्तै सोच्थ्यो । उर्मिला भेट भए पछि मनको कुरा भन्ने आँट गर्दैनथ्यो ।
ऊ स्कुलको राम्रै पढ्ने बिद्यार्थी थियो । उसको अरु विषय भन्दा राम्रो अंग्रेजी थियो ।
एक दिन उर्मिलाले उसलाई जाँचमा आउन सक्ने ‘एस’े सिकाइ दिन भन्यो । ‘सबै कुरा एक छिन धारामा बसेर सिकाउन सकिदैन ।’ उसले उर्मिलालाई सम्झयो ।
‘यो कपिमा लेखेर भोली ल्याउ दिनु न ।’ हातको कापी ऊ तिर सोझियो ।
‘हुन्छ ।’ आज्ञाकारि छात्र झै बोल्यो । ‘के के बिषयमा लेख्नु पर्छ ?’ उसले थप्दै सोध्यो ।
‘तंपाईलाई जुन जुन ठीक लाग्छ लेखेर ल्याइ दिनु न ।’ अलि मस्किदै भनि ।
बेलुकी घरमा अरु केही काम नगरी ऊ लेख्न बस्यो । ‘नेपाली ग्रेट फेस्टिभल दशै’ शीर्षकमा एउटा एसे लेख्यो । अनि त्यही कपिको बीचमा आफ्नो मनको कुरा पनि लेख्ने बिचार गर्यो । कसरी लेख्ने ? के लेख्ने ? सोच्दा सोच्दा ऊ निदायो । भोली पल्ट अरु दिन झै चोतारीमा भेटिए ।
‘कपि खै ?’ उर्मिलाले भेटिने बितिकै भनि ।
‘अलि लेखि भ्याइन । भोलीसम्म सक्छुहोला । अनि ल्याइ दिउँला ।’ उसले पन्छिदै उतर दियो ।
‘हुन्छ । मैले के भनेको छु र ? राम्ररी लेखेर ल्याइदिनु बरु ।’ उर्मिलाले थपि ।
स्कुलबाट घर पुग्यो । खाजासँगै लेख्न बस्यो ।
सम्बोधन के गर्नु ? साथी भनौ कि ? प्यारी भनौ कि ? उसले धेरै सोच्यो । होस साथी नै लेख्छु ।
लामो गन्थन मन्थनसँगै उसले मन पराउने कुरा लेख्यो । जीवन भर बाँच्न चाहेको लेख्यो । खोजी खोजी सम्झी सम्झी तीनचार वटा सानो सानो मुक्तक पनि लेख्यो । अनि भोलीको प्रतिक्षा गर्यो ।
भोली त्यसरी नै चौतारीमा भेटिए । उसले डराई डराई कपि दियो । उर्मिलाले केही नहेरी कपि झोलामा राखि । दिन भरि स्कुलमा पढाई तिर उसको ध्यान नै गएन । उर्मिलाका साथीहरुले कपि हेर्ने हुन कि ? उर्मिलाले नै पो नराम्रो मान्ने हो कि ? डर जस्तो चिन्ता जस्तो सबै उसमा दिन भरि नै भैरह्यो ।
केही भएन । भोली पल्ट चौतारीमा त केही भन्ने हो कि ? ऊ फेरी डरायो । हिजो जस्तै चौतारीमा आजको भेट सामान्य भो । उर्मिलाले केही कुरा गरिन ।
त्यत्रो रात रात भरि सोचेर लेखेरको बेकार भो । कपि दिएको पर्सि पल्ट पनि केही नभने पछि उसले सोच्यो ।
चौथो दिन चौतारीमा उर्मिला अघि देखि बसेकि थिइ । सानो पट्याएको कपिको पाना उसलाई हातमा दिइ । थोरै हास्तै भनि ‘यो उत्तर ।’
दुबै नबोली स्कुल पुगे । उसले आज पनि पढाको केही बुझेन । खाली घरि घरि उर्मिलाले दिएको पानामा हात पुर्याइ बस्यो ।
सासै नफेरी घर पुग्यो । अनि एकान्तमा पाना हेर्यो । राम्रो अक्षरमा उर्मिलाले पनि साथी नै लेखेकी थिए ।
*****
धेरै बर्ष बित्यो । दुबैले जीवनका जगतका गफ गरे । दोलखाको भिमसेन मन्दिर पुगे । भाकल गरे । जीवन दुःखसुख जे भए पनिसँगै काट्ने कसम खाए । कालिञ्चोक पुगे । भिमसेनलाई झै उस्तै बाचाकसम दोहोरिए । उसले २५ बर्षमा टेक्यो । सानोतिनो आम्दानी गर्ने भयो । अनि बिहे गर्न चाहेको कुरा गर्यो । उर्मिलाले केही भनिन । फेरी उसले बिहेको कुरा भन्यो । उर्मिलाले टारी नै रही । अलि पछि एक्कासी काठमाडौको धनिसँग उर्मिलाले बिहे गरि ।
ऊ अनेक गरेर कोरियन भाषा पढ्यो । पास गर्यो । दुई बर्ष कुर्यो । अनि दक्षिण कोरिया आयो । उसले त्यही बेला सिकेको हो भाकल गरेर ताल्चा मारेर माया हुँदैन । ताल्चा झुन्ड्याएर माया हुने भए । ऊ फिस्स हास्यो ।