तिहार
सयपत्री फुल्थ्यो । गोदाबारी फुल्थ्यो । दिदीले सानो ड्याङमा रोपेको मखमली पनि फुल्थ्यो । सबै तिर सफा । बारी तिर भएका मकै काटे पछि कान्ला भरि सयपत्री फुलेको मात्र देखिन्थ्यो । कतै कतै बारीका पाटामा कोदो हुन्थ्यो । कोदोको बीच बीचमा पनि सयपत्री पहेलै फुलेको हुन्थ्यो । जता हेर्यो त्यतै फूलै फूल । रमाइलो नै रमाइलो ।
यसरी जता ततै फूल फुले पछि तिहार आएको थाहा हुन्थ्यो । तिहार आउनु भनेको दशै भन्दा पनि रमाइलो चाड आउनु थियो । देउसे आउँथे । भैले आउँथे । नाचगान हुन्थ्यो । सेलरोटी बन्थे । दिदीले मिठो मिठो खाने कुरा दिन्थिन् ।
तिहारको पहिलो दिन कागलाई भनेर बिहानै खाने कुरा तयार हुन्थ्यो । सानो सानो सेलरोटी, चिउरा, भात । सानो टपरीमा सबै कुरा राखेर डाँडामा लगेर छाडिन्थ्यो । आमाले कागका लागि तयार पारेको खाने कुरा हेर्दै खाउँ खाउँ लाग्ने हुन्थ्यो ।
‘आमा कागको खाना म खाइदिउँ ? ’
‘हुँदैन ।’ रिसाउँदै आमा भन्थिन् ।
‘किन ?’ म खाने अड्डि कस्थेँ ।
‘पहिले जेमराजलाई चढाउनु पर्छ । नत्र रिसाएर यतै आउँछ । खानु हुँदैन ।’
‘को हो जेमराज ?’ मलाई यो डाँडो तिर बसेर सेल चिउरा खाने जेमराज चिन्न मन लागेर सोध्थेँ ।
‘काल के काल ।’
धत् । काल पो रैछ । अरु भए खान नी हुन्थ्यो । कालको भाग त कसरी खानु ? मुख भरि सेल खाउँला भनेर आएको थुक घुटुक्क निल्थेँ । होस यत्रो सानो सेल के खानु ? पर्सि त टन्न आफ्नै लागि पाक्छ नी । चित बुझाउँथेँ । कहिले कही त कागका हुलै आउँथे । खान्थे पनि । कहिले कही त धेरै दिन कागलाई दिएको टपरीको खाना जस्ताको तस्तै हुन्थ्यो ।
आमा बिहानै उठेर मलाई भन्थिन् । ‘जा फूलको सानो माला बना ।’
‘किन ?’ काम गर्न मन नलागेर प्रश्न गर्थे ।
‘कुकुरलाई लाउन ।’
‘मेरो काम छैन । कुकुरलाई फूलको माला बनाउन । बनाउँदिन ।’
‘जेमराज आउँछ । गर्दिन भन्नु हुँदैन ।’
जे गर्दा पनि नहुने यो जेमराज । कस्तो रैछ हो यो ? डराएरै म माला बनाउँथे । आमा कागलाई झै कुकुरलाई पनि परिकार बनाउँथिन् । अनि कुकुरलाई टिका लगाउँदै माला लाउँथिन् । मिठो खानेकुरा दिइन्थ्यो । काग जस्तो कुकुरले नखाने हुँदैनथ्यो । कपाकप खान्थ्यो । अनि म तिर हेरेर पुच्छर हल्लाउँथ्यो । आमा तिर अघिल्ला दुई खुट्टा पसारेर पुच्छर हल्लाउँथ्यो । अनि सानो स्वरमा कुँई कुँई गथ्र्यो ।
गाई र गोरुले पनि सेल खान्थे । माला लाउँथे । गाई पुजाको दिन देखि सेल पाक्न सुरु हुन्थ्यो । दिन भरि आमाले ठूलो ताईमा टन्न तेल हाल्दै सेल हाल्थिन् । झ्वाई झ्वाई तेलमा सेल हाल्दा आवाज आउँथ्यो । तेल पोलेको बास्ना टाढै सम्म फैलान्थ्यो । हिजोसम्म सेल पाए दुनियाँ नै खाएर सकौला भन्ने लाग्ने मलाई दुईवटा खाए पछि तेस्रो सेलको बाहिर बाहिर मात्रै खाएर फाल्ने हुन्थे ।
आमा रिसाउँथिन् ।
‘हिजोसम्म त के के न खाउँला जस्तो गर्थिस त खा न खा । सक्दो खा ।’
‘हिजो पो खान मन थियो । आज त छैन ।’ पेट टन्न भए पछि आमाको कुरा खस्न नपाउँदै भन्थे ।
०००
भाइटिकाको दिन । एक दर्जन दाजुभाइ जम्मा हुन्थ्यो । काका र हाम्रो दुई घरका । सबै जना जम्मा हुँदा सानो सानो जात्रा नै हुन्थ्यो । बहिनीहरु भए पनि टिका लाउने काम दिदीले मात्रै गर्थिन । दिदीले थरि थरिका मिठाइ खानेकुरा दिन्थिन् ।
टिका पछि ढोग चल्थ्यो । हाम्रो तामाङ चलनमा दाजुभाइले दिदी बहिनीको खुट्टा छुनु हुदैन । दिदीलाई ढोग्दा भाइ जस्तै दिदीले पनि निहुँरिएरै ढोग्ने चलन छ । त्यसैले दाइहरुले टिका लगाए पछि दिदीलाई लौ टाउका ठोकौ भन्थे । ढोगाढोग गर्दा टाउका ठोकेकै जस्तो देखिन्थ्यो । दाजुभाइलाई त सजिलै हुने भो एउटा दिदीलाई ढोग्यो सक्यो । दिदीले पालै पालो ढोग्दा हैरान ।
कमाउने दाइहरुले आफैले दिदीलाई दक्षिणा दिन्थे । म आमाले दिएको दिन्थे । कहिले कही त आमाले दिएको सबै पैसा दिन मनै लाग्दैनथ्यो । त्यही पनि दिदीले आमालाई भन्छे कि भनेर डराएर मन नभए पनि सबै दिन्थे ।
तिहारका सम्झना खातका खात छन् । परदेशमा त्यही सम्झनाको न्यानोपनले त हो रैछ बाँच्ने । तंपाईहरु कति बर्ष देखि निधार खाली छ कुन्नी ? मेरो चाही तीन बर्ष भयो दिदीसँग टाउको ठोकाउन नपाएको ।