कोरियाको आन्दोलनमा मैले जे देखे
सउल,
दक्षिण कोरियामा अहिले राष्ट्रपति पार्क गुनहेको राजीनामा माग्दै जनप्रर्दशन बढ्दो छ । कोरियाको हरेक संचारमाध्यम अहिले राष्ट्रपति विरुद्धको हट समाचारले तातेको छ । राजधानी सउलको मुख्य भाग ख्वाग्ंहामुनमा मानिसहरु टेन्ट टाँगेर दिनरात प्रदर्शनमा छन् । गत हप्ताको शनिबार सउलमा अचानक स्वत उर्लेका जनमानसको भिडले थप उर्जा दियो । त्यपछि विभिन्न पेशा र समूहका हजार भन्दा बढी संगठनलाई समेटेर बनेका आयोजकले शनिबार बृहत जनप्रर्दन गरिने सूचना जारी गरयो ।
राष्ट्रपतिको राजीनामा माग गर्दै नेभेम्बर १२ तारिख सउल जाऔ भन्ने पोष्टरदेखि संचारमाध्यमबाट मौखिक आवहान भएको थियो । गत शनिबार कोरियाको जनप्रदर्शन हेर्ने कौतुहल्ताले मलाई पनि सउल तिर डोरायो । दिउसो १ बजे सउलभन्दा १ घण्टा टाडामा रहेको हामी बसमा जामहुने सम्भावनाले ट्रेनमा चड्यौ । सउल स्टेशनमा उत्रेर सिटी हल तर्फ लाग्यौ । बाटोभरी मोटरको चक्का हैन पाइलाका चाप बढ्दै थियो । एलिभेटरहरु मानिसका भार थेक्न नसकी चुप थिए । त्यसैले मानिसहरुका पाइला स्वयमसेवीको इसारामा सिढी उक्लीदै थियो ।
सिटी हलको ठूलो चौरमा बनाइएको स्टेजमा केही भाषण र संगीतिक कार्यक्रम चल्दै थियो । बरीपरीका मोटर गुड्ने सडक मानिसले ढाकिएको थियो । सडकका दुई किनार आवत जावत गर्नेको लर्को थियो । झण्डै ५० मिटरको दुरीमा अग्लो ठूलो स्क्रीनहरु र ठूल्ठूला साउन बक्सले सबैलाई नजिक बनाएको थियो ।
हामी यो दृश्यलाई नाघदै अघि बढ्यौ ख्वांग्हामुन तिर । बाटैमा भेटियो हाइस्कुलका विद्यार्थिको हुल, अन्य विभिन्न हुललाई नाघदै हामी ख्वंग्हामुनमा पुग्यौ । जहाँ साहित्य र कला क्षेत्रका संगठनको विभिन्न चित्र र पोष्टरमा कलामय आन्दोलनका शैलीहरु देखिन्थे । बाद्यबादक र नृतकहरु आफ्नै कलामार्फत प्रदर्शनीमा उत्रिएका थिए । यहाँ बनाएका छुट्टै स्टेजमा राष्ट्रिय स्तरका कलाकारहरु गायन प्रस्तुत गर्दै थिए । विस्तारै ख्वाग्ंहामुनका सडक पनि ढाकिए ।
मोटरमा राष्ट्रपतिको शब यात्राको झाकी प्रदर्शन गर्दै राष्ट्रपति निवास ब्लुहास तर्फ अघि बढे । सोही झाँकी संगै हजारै मानिसको ताती ब्लुहाउसको टेगमा पुगरे धर्नामा बसे । ब्लुहाउसको गेटमा निक्कै बाक्लो प्रहरीको बार थियो । राष्ट्रपति निवासभन्दा ५० मिटर दुरीमा रहेको गेटमा धर्नामा बसेका करिब ५ हजार प्रर्दशनीकारीहरुले चर्को आवाजमा राष्ट्रपति राजिनामाको नारा घन्काएका थिए । मध्यरात १२ बजेसम्म पनि ३ हजार जति प्रदर्शनकारीले गेट छोडेका थिएनन् ।
बृद्धबृद्धा, बालबालिका र साना बच्चासहित मानिसहरु प्रदर्शनीमा सहभागी भएका थिए । प्रहरीका अनुसार ७ लाख भनिए पनि विभिन्न संचारमाध्यमले १० लाख भन्दा बढी प्रर्दशकारी भएको सार्वजनिक गरेका थिए । विभिन्न जिल्लाबाट मानिसहरु बस लिएर आएका थिए । राष्ट्रपतिको राजिनामा मागिएको पोष्टरहरु र विभिन्न पत्रपत्रिका वितरण गरिएको थियो । मैनबत्ती र कागजको कप हरेकको हातमा थियो । दिउसोदेखि रातभर प्रर्दशनीमा बसेका मानिसहरु हल्का खानाहरु त्यही बसेर खाएका थिए ।
खाना खादा निस्केका फोहर र छरिएका पोष्टर र पत्रपत्रिकाका फोहरहरु स्वत संकलन गरी प्लाष्टीकको झोलामा हालेर ठाउँ ठाउँ जम्मा गरिएको थियो । त्यति धेरै मानिस जम्मा भए पनि बालबालिकाहरु सहजरुपमा हिडडुल गरेका थिए । ठाउँ ठाउँ मानिस आउ जाउ गर्ने बाटाहरु थिए । केही प्रर्दनकारीहरु मादक पदार्थ सेवन गरे पनि कतैै झगडा देखिएन । कसैको सामान हराएको पनि सुनिएन । मानिसको बाक्लो चापमा हिडेपनि ठेलाम्ठेल र घचेटाघचेट थिएन । भाषण गर्ने नेताको आवाज चर्के पनि कुनै उर्छिइ०गल थिएन , तोडफोड भएन । सन १९८७ मा राष्ट्रपतिको प्रत्यक्ष निर्वाचनको आन्दोलनमा भन्दा अहिले प्रदर्शनकारी बढी भएको संचारमाध्यमले जनाएका छन् ।
राष्ट्रपति पार्कले साथी चोय सुनलाई विना अधिकार आफ्नो भाषण सम्पादन गर्नेदेखि सरकारी दास्तावेजसम्म पहुज दिएको आरोप लागेको छ । यसरी देशको प्रमुख व्यक्ति गैर काननी व्यक्तिको इसारामा नाचेको भन्दै जनमानस आक्रोशित बनेका छन् । राष्ट्रपति पार्कले गल्ती स्विकार्दै माफी मागेपनि लोकप्रियता घट्दै गएको छ । सुनले राष्ट्रपतिलाई हातमा लिएर भ्रष्चार गरिएको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेका छन् ।