कोरिया कहर
नयाँ कम्पनीमा आएको दुई हप्ता मात्रै भयो । ज्यान दुखेर हैरान छु । काम त सजिलै देखिन्छ । त्यही देखिनेले झुक्यायो ।
साना साना डम्बा छन् । त्यसलाई मिलाएर अलि ठूलो कार्टुनमा हाल्नु र टेप लगाएर बेल्डमा गुडाउनु । बस त्यति हो मैले गर्नु पर्ने । काम कन्फर्म गर्नु पहिले हेर्दा सजिलै देखेरै म आउँछु हुन्छ भनेको हुँ । पहिलेको कम्पनीमा प्लास्टिकको सामान बन्थ्यो । ठूलो भाँडामा प्लास्टिकका भाँडा बन्ने दाना हालिन्थ्यो । बजारबाट जस्तो खालको प्लास्टिक भाँडा डिमान्ड आयो । त्यस्तै डिजाइनमा बन्थ्यो । काम त त्यो पनि गाह्रो होइन । तर तातो हुने । बाहिर फुस फुस हिउँ पर्दा पनि आफू भने पुरै पसिनाले भिज्नु पर्ने ।
जोखिम पनि थियो । भाँडाको आकार बन्नका लागि प्लास्टिकका दाना दुई सय डिग्रिमा पगालिन्थ्यो । पगालिएको प्लास्टिक दाना पुरै झोल हुने । कतै झुक्किएर ज्यानमा परे के हुन्थ्यो भन्नै परेन । दुई बर्ष अघि एउटा भियतनामी काम गर्दा गर्दै चिप्लेर लड्दा हात टेक्यो रे । अनि हात डढे पछि कम्पनीले निकाल्देको रे । पहिले देखि काम गर्दै आएका फिलेहरु अंग्रजीमा कुरा सुनाउथे ।
एक बर्ष त बस्छु भनेर जोड गरेँ । थेजिकम आउँथ्यो नी । तर गर्मी मौसम लागे पछि मेसिनको तातो र बाहिरको तातोले मर्नु भयो । काम गर्दा जति पानी खाए पनि जिउबाट पसिना भएर जान्थ्यो । पिसाब त आउँदै नआउने । पन्ध्र दिन कन्टिन्यु काम गरे पछि बिरामी नै परेँ । नेपालमा हुँदा एक लाख रुपैया महिनाको पाए त जस्तो काम पनि गर्छु भन्ने मेरो आत्मविस्वास फेल खायो । अनि थेजिकम सेजिकम हान गोली भनेर मैले एक दिन डराउदै डराउँदै साहुलाई मलाई यता काम गर्दा सन्चो भएन कृपा गरेर लेटर दिनुस न भने ।
लेटर दिनु भनेको साहुले कलेजो दिनु भनेको सुनेछ कि क्या हो चिम्से आँखा झन्डै बाहिर निस्किने गरि हेर्यो । त्यसपछि ग्लानी, रिस र खै केले हो मेरो टाउको निहुँरिएको निहुरिएकै भयो । शायद एक लाखको बिटोले थिचेको होला कि ? बिचरा म, साहुका लागि कामदार भन्दा अरु केही थिइन फगत एउटा भाडाको मान्छे ।
शरीरमा शक्ति त थिएन नै भएको अलि अलिको जाँगर पनि मरेर गयो । जतिखेर पनि साहुले आँखा तरेको मात्रै मनमा आए पछि बिरामी झन् बढ्यो । शायद फ्रस्टेशनले पनि काम गर्यो होला । घरबाट फोन आउँथ्यो । म काम तिरै छु भन्दिन्थेँ । महिना मरे पछि पैसाका कुरा गरे । मैले हुँन्डिको रेट बढेको छ । अघि घटे पछि पठाउँला भनेँ ।
बिचारा घरका मान्छेलाई छोराले रुपैया छापेको छापेकै छ भन्ने लागेको हुँदो हो । म पनि नेपाल तिर हुँदा त्यस्तै सम्झन्थे । बिदेश पुगेका पैसाका रुखैमा चढ्छन् । गाउँ घरमा डालेघाँस झारे जस्तै भकाभक झार्छन् । अनि घर फर्कन्छन् ।
झन्डै दुई महिना ओछ्यान सुतेको सुतेकै गरिदिएँ । पहिले पहिले त बिरामी भएरै सुतेकोथेँ । पछि त तन ठीक थियो मन बिरामी भो । कम्पनीमा काम गर्ने अरु दुई जना नेपाली थिए । ती साथी मलाई हेरेर चिन्ता गर्थे । भन्थे बिदेश हो भाइ अलि अलि दुःख त सहनु पर्यो नी । नत्र कसरी पैसा कमाइन्छ त ?
तिनका कुरा बेठीक थिएनन् । मेरो मन मात्र बेठीक थियो । मलाई लाग्यो यो कम्पनी छाड्न पाए तातोले सातो जान लागेको म बाँच्छु । अनि अर्को कम्पनीको काम हेरेर सजिलो काम मात्र भएको छान्न पाउँछु ।
म दुब्लाएर मरन्च्यासे भएँ । हावाको एक झोक्का आयो भने पनि उडाएर लैजाला जस्तो । पचहत्तर किलोको म एक्कासी पचपन्न किलोको भएँ । खाने कुरा खानै मन नलाग्ने । जे हेरे पनि वाक्क लाग्ने । साथीहरु बिहानै उठ्थे । खाने कुरा पकाउँथे । अनि काममा जान्थे । भात खाने समयमा ती आउँथे । मलाई पनि भाग लाउँथे । म कहिले खान्थे कहिले खान्नथेँ । धन्न यी साथी थिए र पो ।
साथीहरुले महिना महिनामा हिसाब सुनाउँथे । तेरो भागमा यति पर्यो । म टाउको हल्लाउँथे । हुन्छ तिरौला भन्ने भाबमा । कोठाको पैसा तिर्न पर्दैनथ्यो । कम्पनीले नै बस्नेको ब्यबस्था गरेको थियो । खासै खर्च के हुन्थ्यो र ? बाहिर घुम्न जाँदैनथेँ । म काठमाडौ हुँदा एक घन्टा फुर्सत हुँदा पनि साथीभाइसँग चियागफ नगरि नहुने थियो । दुई महिना एउटै कोठामा बस्न सक्छु भनेर सोचेको पनि थिइन ।
सबै सोचेको जस्तो कहाँ हुन्छ र ? बल्ल लेटर पाएँ । अर्को कम्पनीको लागि अबसर । नोदोम्बो गएँ । सउल नजिक जता भए पनि हुने गरि कम्पनी खोजेँ ।
यो कम्पनीमा नेपाली धेरै छन् । काम सजिलै लागेकोथ्यो । अहिले गाह्रो भाको छ । अर्को महिना घर तिर पैसा पठाउनु छ । त्यही भएर यस्ता ढाड र अप्ठ्यारा मतलब नगरि खट्नु छ । निरन्तर । यस्तै त हो कोरिया । जता पनि पेलिनु ।